बाढीले बगाउँदा उठीबास

कविराज खनाल
असाेज १, २०७७
badhile bagaye ko basi

लेखनाथ । अविरल वर्षापछि मंगलबार राति खुदीखोलामा आएको बाढीले पोखरा ३२, सुकुम्वासी टोल नंं ५ र ६ मा बस्ती बगाउँदा स्थानीयको उठीवास भएको छ ।

बाढीले स्थानीय पुष्पा गुरुङ, चन्द्रमाया क्षत्री, पवित्रा खड्का क्षत्री, रेलमाया क्षत्री, तारा थापा मगर, विनु शाही, बुद्धिमाया रानाभाट, नारायणबहादुर क्षत्री, सूर्यबहादुर सार्की, सञ्चमाया मोक्तानको घर बगाएर पूर्ण रुपमा क्षति पुर्‍याएको छ ।

यस्तै, विष्णु तामाङ, कृष्णबहादुर परियार, बुद्धिमाया नेपाली र लक्ष्मी विकको घर आंशिकरुपमा क्षति भएको छ । अन्य केही स्थानीयको बारी, अन्नबाली र गोठ समेत बगाएको छ ।

जसबाट करिब ५० लाख बराबरको क्षति भएको स्थानीय टोल विकास संस्थाका उपाध्यक्ष शम्भुबहादुर तामाङ्गले बताए ।

यस्तै, स्थानीयको सहयोगमा नजिकैको सीता आधारभूत विद्यालय र समाजघरमा घरपरिवार विस्तापितलाई आश्रय दिइएको छ । उनीहरुको लागि राहत उपलब्ध गराउन नेपाल रेडक्रस कास्कीका शाखाहरु, पोखरा माहानगरपालिका विपत् व्यवस्थापनमा समेत सूचना गररिसकेको वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए ।

बाढीपीडित वीमाया जैसीले गुनासो गर्दै भनिन्, ‘सरकारले लकडाउनका कारण न गरिखान दियो, न काम नै पाइयो । अहिले आएर घर बस्ती बग्यो । हाम्रो त उठीवास भयो । अब कहाँ जाने ?’

घरका सामान, भाँडाकुँडा, लत्ताकपडा, खेतीपाती, गोठ समेत आफ्नै आँखै अगाडि हेर्दा हेर्दै सबै बगेको उनले बताइन्।

यसैगरी, अविरल वर्षाका कारण वडा ३० र ३२ जोड्ने सातमुहानेमा २०६५ सालमा निर्मित सामुदायिक मोटरेबल पुल समेत जोखिममा परेको छ । त्यहाँ सवारी आवत्जावत्मा रोक लगाइएको छ । हाल कास्कीको पूर्वीभेग रुपाकोट, सातमुहाने, खोलाको छेउ, राजाको चौतारा र देउराली लगायत स्थानमा सवारीसाधन रोकिएका छन् ।

पुनः अविरल वर्षापछि बाढीले अन्य बस्ती नै बगाउने सम्भावना भएकोले खोलाको बहाव रोक्न स्थानीयले मिलेर बाँध बाँधेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width