होटल तथा रेष्टुरेन्ट आंशिक खुल्दै

आदर्श समाज सम्वाददाता
असाेज १, २०७७
Hotel

पोखरा । लेकसाइडस्थित गौरीघाट क्षेत्र अझै सुनसान छ । अधिकांश होटलको मूलद्वारमै ताला पड्काइएको छ । ६ महिनादेखि यहाँ पाहुना आएका छैनन् । सरकारले असोज १ देखि होटल तथा रेष्टुरेन्टसमेत खोलेर सेवा दिन सकिने जनाए पनि होटल व्यवसायी संचालनको तयारीमा छैनन् ।

‘म त अहिले होटल खोल्दिनँ । यस्तो कोरोना लागेको बेलाँ । जहिलेसम्म सम्भावना हुँदैन, तबसम्म खोल्दिनँ । जति घाटा लागे लागेस्,’ गौरीघाटस्थित होटल पिस जोनकी संचालिका उर्मिला थापाले भनिन्, ‘५÷७ जना स्टाफ थिए, चैतदेखि नै घर गएका छन् । उनीहरुलाई बोलाएकी पनि छैन । पाहुना आउने सम्भावना नभएपछि अहिले यस्तो बेलामा खोलेर के गर्नु ?’

विगत १० वर्ष स्थापित सो होटल उर्मिलाले चलाउन थालेको भने १ वर्ष पुगेको छ । यहीबीचमा कोरोना महामारीले होटल बन्द गर्नुपर्‍यो । कहिलेसम्म सहज अवस्था आउला भन्ने पनि अनुमान नभएपछि उनले अझै घाटा खाने मनस्थितिमा रहेको बताइन् ।

बैदामस्थित होटल माउन्ट कैलाश भने पाहुना आए राख्ने तयारीमा छ । यसअघि साउन १५ देखि केही साताका लागि रेष्टुरेन्ट सेवा समेत दिएको माउन्ट कैलाशले सरकारले होटल पनि खोल्न सकिने भनेपछि आवश्यक तयारी थालेको जनाएको हो । होटल संचालक नरेश भट्टराईले भने, ‘असोज १ का लागि काठमाडौंका २ जना गेस्टबाट बुकिङ भैसकेको छ । अब थप पाहुना आए राख्दै जाने र सेवा दिने हो ।’ कोरोना महामारीको बीचमा पनि रेष्टुरेन्ट तथा होटल सेवा दिनका लागि भट्टराईले करिब २० प्रतिशत कर्मचारी बोलाइसकेको जानकारी दिए ।

यी दुई होटल संचालकको धारणा फरक–फरक पाइए पनि पोखरामा अधिकांश होटल तथा रेष्टुरेन्ट संचालक अहिले नै सेवा दिने तयारीमा छैनन् । कोरोना भाइरस संक्रमण जोखिम कायमै रहेको, पाहुना पनि आउन सम्भावना कम रहेको र कर्मचारी पनि कतिपय घर गएकोले खोल्न हतारिएका छैनन् ।

होटल ल्याण्डमार्क संचालक राजु पाण्डेले गएको साउनमा झैं आंशिकरुपमा कर्मचारी राखेर होटल तथा रेष्टुरेन्ट चलाउने बताए । पूर्णरुपमा सेवा दिने अवस्था नरहेको उनको भनाइ छ । उनको हङ्ग्री आई रेष्टुरेन्टको लागि आवश्यक कुक, वेटरसहित होटलमा क्लीनर, हाउसकिपिङ, सेक्युरिटी गरी मात्र २५ जना कर्मचारीलाई आमन्त्रण गरिएको छ । होटल तथा रेष्टुरेन्ट गरी उनकोमा विगतमा १ सय ४ जना कर्मचारी कार्यरत थिए । अहिले पूर्णरुपमा सेवा दिन कठिन रहेकोले आंशिकमात्र कर्मचारी बोलाइएको संचालक पाण्डेले बताए ।

होटल संचालकहरुको संस्था पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले विगतमा आन्तरिक उडान तथा सार्वजनिक यातायात समेत संचालन नहुँदै करिब २० प्रतिशत होटल खुलेकोमा पुनः महामारी बढेपछि बन्द भएको बताए । उनका अनुसार अहिले सार्वजनिक यातायात र आन्तरिक हवाइ खोल्ने सरकारको निर्णयसँगै कोरोना संक्रमण जोखिमको अवस्था, पाहुनाको आगमन दर, सेवा दिन सक्ने अवस्था हेरीकन मात्र होटल संचालन हुने सक्ने छन् । उनले भने,‘अधिकांश होटल व्यवसायीहरु अहिले नै खोलेर सेवा दिने मनस्थितिमा हुनुहुन्न । यो वर्षको सिजन जारी रहे पनि कोरोना महामारीले यत्तिकै खेर जाने देखिन्छ ।’

हल्लनचोकस्थित फेयर माउन्टका संचालक समेत रहेका संघ अध्यक्ष तुलाचन आफै पनि असोज १ देखि होटल खोल्ने पक्षमा नरहेको बताउँछन् । कहिले खोल्ने, कहिले बन्द गर्ने सरकारको पटकपटकको निर्देशनले आफूहरुलाई पनि अन्यौल भएको उनले बताए । आवश्यक तयारीका लागि पनि कम्तीमा एक साता लाग्ने उनले बताए ।

पश्चिमाञ्चल होटल संघमा हाल ४ सय होटल दर्तामा छन् । दर्ता भएका होटलसहित साना ठूला गरी पोखरामा करिब ७ सय होटल छन् । साथै रेष्टुरेन्ट एण्ड बारको संख्या करिब १ सय छन् ।

पर्यटन व्यवसायीहरुका अनुसार पोखराको पर्यटन क्षेत्रमा हाल १ खर्ब २५ अर्ब रुपैयाँ लगानी छ । संवेदनशील क्षेत्र मानिने पर्यटन क्षेत्र कोरोना भाइरस महामारीका लागि ६ महिनादेखि नराम्ररी प्रभावित बनेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width