पीडितलाई २ महिनापछि बल्ल राहत

साधन राम्जाली
भाद्र ३१, २०७७
rahat

बेनी । म्याग्दीका बाढीपहिरोपीडित परिवारले २ महिनापछि मात्र राहत पाएका छन् ।

गत असार २५ गते मध्यरातमा अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेर ज्यान गुमाएका पीडित परिवारले संघीय सरकारबाट सो राहत पाएका हुन् । मृतकका परिवारलाई यसअघि जिल्ला प्रशासन कार्यालयले ३५ लाख रुपैयाँमात्र राहत उपलब्ध गराएको थियो ।

संघीय सरकारले उपलब्ध गराएको राहत प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वमा धवलागिरी र मालिका गाउँपालिकामा बाढीपहिरोमा ज्यान गुमाएकालाई प्रतिमृतक २ लाखको दरले राहत वितरण गरिएको हो ।

एकै घरका एक जनाभन्दा बढी मानिसको मृत्यु भएमा सुरुको १ जनावापत् २ लाख र त्यसपछिलाई प्रतिमृतक १ लाख रुपैयाँ उपलब्ध गराउने सरकारको मापदण्ड अनुसार राहत वितरण गरिएको प्रजिअ अधिकारीले बताए ।

धवलागिरी र मालिका गाउँपालिकाका जनप्रतिनिधि लगायत स्थानीय तहका कर्मचारीको उपस्थितिमा मृतकका आफन्तमार्फत बैंक खातामा रकम जम्मा गरिएको छ । राहत रकम बुझ्नेमा २ लाख पाउने ७ परिवार, ३ लाख पाउने ३, ४ लाख पाउने १ र ५ लाख पाउने ३ मध्ये दुई परिवारलाई राहत दिइएको छ । मालिका–७ का एक परिवारका सबै ४ सदस्यको ज्यान गएको थियो भने धवलागिरी–६ मराङका मृतकका हकवाला विदेशमा छन् ।

परिवारको सबै सदस्यको मृत्यु भएकाले राहत पाउँदैनन् भने विदेशबाट फर्किएपछि वितरण गरिने जिल्ला विपद् व्यवस्थापन समिति संयोजक समेत रहेका प्रजिअ अधिकारीको भनाइ छ । दुई महिना बितिसक्दा पनि केन्द्रीय र प्रदेश सकारबाट कुनै राहत नपाएको भन्दै पीडित परिवारले गुनासो गरेका थिए ।

दरबाङबाट राहत बुझेका जिल्लाको धवलागिरी गाउँपालिका–६,मराङका पहिरो पीडितले केन्द्रीय सरकारले पठाएको राहत पाएको बताए । उनले राहत वितरण ढिला भएको बताए । स्थानीय क्लब तथा प्रवासमा रहेका आफन्तहरुको सहयोगमा गुजारा चलाउँदै आएको बताउँदै ती पीडितले भने ,‘प्रदेश सरकारले पुनर्वासको व्यवस्था गर्ने आश्वासन दिए पनि अहिलेसम्म केही बनेको छैन । २ महिनादेखिी हामी पालमुनि बस्न बाध्य छौं ।’

‘सोमबार केन्द्रीय सरकारले पठाएको राहत बुझेका छौं,’ उनले भने, ‘खै किन हो, तत्काल पाउने राहत ढिला गरी हामीले २ महिनापछि मात्र पायौं ।’

राहत वितरणमा किन ढिलाइबारे प्रजिअ अधिकारीले तर्किदै भने, ‘प्रक्रियामा थियो । गृहमन्त्रालयले भर्खरै पठाएकाले सोमबार राहत वितरण गर्‍यौं ।’

प्रदेश सरकारले पनि बाढीपहिरोपीडितका लागि राहत पठाएकोे बताउँदै सो राहत पनि छिट्टै वितरण गरिने उनले बताए ।

राहत वितरणमा ढिलाइ भएको भन्दै पीडित परिवारका आफन्त, राजनितिक दल सरकारवालाहरु लगायतले सरकारको चर्को विरोध जनाएका थिए ।

संघ र प्रदेशबाट समयमै राहत उपलब्ध नगराउँदा स्थानीय तहका जनप्रतिनिधि अन्योलमा परेका थिए । बाढीपहिरो प्रभावित क्षेत्रमा पीडित परिवारका लागि प्रदेश र संघीय सरकारले समयमै निर्णय गर्न नसक्दा पुनर्वास तथा पुनस्थार्पनामा अन्योलता सिर्जना भएको एक स्थानीय तहका जनप्रतिनिधिले बताए ।

राहत वितरण कार्यक्रममा धवलागिरीका अध्यक्ष थमसरा पुन, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, दुवै गाउँपालिकाका उपाध्यक्षद्वय रेशम छन्त्याल, खरमाया बिटालु, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, मालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्मा, धवलागिरीका गोपाल पौडेल लगायत स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो ।

प्रकोपपीडित उद्धार र राहतसम्बन्धी मापदण्ड–२०७४ अनुसार मनसुनी विपद्मा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिमृतक १ लाख रुपैयाँ राहत दिँदै आइएकोमा सो वृद्धि गरेर प्रतिमृतकका परिवारलाई २ लाख पुर्‍याएको हो । सरकारले प्राकृतिक विपद्का कारण बसेको घर पूर्ण क्षति भए र अर्को घर बनाउन १ लाख जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराउने छ । बाढीपहिरोपीडित परिवारलाई तत्काल क्रिया खर्च १० हजार रुपैयाँ उपलब्ध गराएको धवलागिरी गाउँपालिकाका अध्यक्ष पुनले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । दिउँसो करिब १२ मिनेटसम्म बैठक बसेर अनिश्चितकालका लागि स्थगित भएको…
  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width