सुकबहादुरको नसुनिएको सुकसुक

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७७
Suk Bahadur

पोखरा   । सुकबहादुर बिक ओछ्यानमा थला परेका छन् । छेउमा श्रीमती टोलाउँछिन् । सुकबहादुर बोल्न–चल्न सक्दैनन् । उनी मान्छे समेत चिन्दैनन् । आफ्नै जीवनसंगीनी समेत एकैछिनमा भुल्छन् । उनको स्मरणशक्ति गुमेको छ ।

२०६० सालदेखि अरब आउजाउ गर्न थालेका सुकबहादुर नेपाल फर्केको ७ दिनमात्र भयो । अरु बेलाजस्तो स्वदेश फर्किँदाको खुसी यसपालि छैन । दुबईमा भएको दुर्घटनाले परिवारमा नसोचेको विपत्ति ल्याइपुर्‍यायो ।

उनी त्यहाँ गाडी चलाउँथे । २०७६ साउन २६ (११ अगस्ट २०१९) बिदाको दिन थियो । सडकमा हिडिरहेको बेला उनी दुर्घटनामा परे । घटनाको ४/५ दिनपछि मात्र यता परिवारलाई खबर आयो । त्यसपछि परिवारमा पीर र दुःखका दिनगन्ति सुरु भए । घटना र उपचारका कुनै पनि अवस्था बताउन सक्ने अवस्थामा छैनन्, सुकबहादुर ।

म्याग्दी रघुगंगाका सुकबहादुरको परिवारमा श्रीमती, दुई छोरी र एक छोरा छन् । चार दाजुभाइमध्ये उनी जेठा हुन् । दुई बहिनीको विवाह भइसकेको छ । आमा बावु म्याग्दीमै छन् । विदेश जान थालेदेखि नै सबै परिवार उनीमै आश्रित थियो । करिब १७ वर्षको विदेश बसाइँमा जेनतेन महिनाको ५० हजार कमाउँथे । अघिल्लो दसैंमा फर्किन चाहेका उनको भीसा सकिँदासम्म पनि कम्पनीले १ वर्ष काममा लगाइरह्यो । अकस्मात् दुर्घटनामा परे । भाग्यले बाँचे । चेतनाशक्ति गुमाएर शरीरमात्र लिएर लकडाउनकै बीच स्वेदश आइपुगे ।

घटना विवरण अनुसार दुर्घटनापश्चात सुकबहादुरलाई अचेत अवस्थामा आइसीयूमा राखियो । त्यसबीचमा उनको २ पटक टाउकाको शल्यक्रिया भयो । यो खर्च दुबई अस्पतालले नै व्यहोरोको उनकी श्रीमती डीलकुमारी विकले बताइन् । उनी भन्छिन्, ‘कम्पनीले एकचोटी फोन समेत गरेन ।’ श्रीमान्को दुर्घटनाको खबर थाहा पाएपछि डीलकुमारीले श्रीमान्लाई भेट्ने आशा नै मारेकी थिइन् । ‘मनमा अनेक शंका लाग्न थालेका थिए,’ उनले रुँदै भनिन्, ‘उहाँसँग बोल्न समेत पाइन्थेन, साथीहरुलाई भनेर कहिलेकाहीँ भिडियो देख्नसम्म पाइन्थ्यो तर पनि बोल्न सक्नुहुन्थेन ।’

दुतावासले नेपाल फर्काउन् आश्वासन दिएपनि भरपर्दाे निर्णय दिएको थिएन । पछिल्लो समय दूतावासले फोन समेत नउठाउने गरेको गुनासो गरिन् । पछि रवि लामिछानेको कार्यक्रममार्फत विषय उठेपछिमात्र श्रीमान् अवस्था जानकारी पाइन् र अहिले सुकबहादुर नेपाल आएर पोखरा–१८, पोखराबेसी बस्दै आएका छन् ।

श्रीमान्को दुर्घटनासँगै वेसहारा बनेकी डीलकुमारीलाई पछिल्लो लकडाउनले झन् असहाय बनाएको छ । सुकबहादुरका भाई थविन विक लेकसाइडमा काम गरेर गुजारा चलाउँदै आएका थिए । लकडाउन पछि काम पाएनन् । पछि ज्यामी काममा हिड्न थालेका थिए । तर दाइ (सुकबहादुर) अशक्त भइ फर्केपछि उनकै स्याहार गर्नुपर्दा काममा जान पाएका छैनन् ।

सुकबहादुर दिसापिसाव प्याम्पसमा गर्छन् । भोकतिर्खा लाग्दा व्यक्त गर्न सक्दैनन् । लकडाउन अघि नै म्याग्दी गएका सन्तान भेट्न पाएका छैनन् । कहिलेकाही भिडियो कल गर्छन् । हेर्छन् । रुन्छन् । बोल्न सक्दैनन् । उनलाई कुरिरहेकी उनी श्रीमती टोलाइरहन्छिन्, आँसु झारिरहन्छिन् । ओच्छ्यानमा पल्टिरहेका सुकबहादुरले आफैले पुछ्न नसक्ने आफ्नै आँसु रोक्न सक्दैनन् । १७ वर्ष मरुभूमिमा खटिएको ज्यान अहिले अचेत अवस्थामा मुढो झैं लडिरहेको छ ।

परिवारका सदस्यले उनको उपचार हुनेमा अझै आश मारेका छैन । चेतना फर्किने विश्वास छ । थप उपचारको पहलका लागि आर्थिक अवस्थाकै पिरलो छ । सोमबारमात्र उनका भाइ थविन पोखराकै हरियो खर्क अस्पतालमा गएर बुझेर पनि आए । तर उपचारमा दिनकै ३ हजार रुपैयाँसम्म खर्च हुन सक्छ भनेपछि निराश बनेका छन् । ‘अहिलेसम्म त जेनतेन ऋणधन गरेर चलिएको थियो अब उपचार कसरी गर्ने’–थविन दुःख पोख्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width