इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीको सान्दार जित

Avatar आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७७

तस्बीर साभार : युरो स्पोर्ट्स डट कम

पोखरा । यस सिजनको इङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले सानदार जित दर्ता गरेको छ ।

लेस्टरले आइतबार बेलुका सम्पन्न आफ्नो पहिलो खेलमै नवप्रवेशी टिम वेस्ट ब्रोमविच एल्बियनलाई उसैको मैदानमा ३–० ले हराउँदै सान्दार जित निकालेको हो ।

लेस्टरको जितमा जेमी भार्डीले २ र टिमोथी कास्टानले १ गोल गरे । लेस्टरले गरेको सबै गोल खेलको दोस्रो हाफमा संभव भएको थियो । खेलको ५६ औं मिनेटमा कास्टानले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । त्यसपछि ७४ औं र ८४ औं मिनेटमा प्राप्त २ पेनाल्टीमा भार्डीले गोल गर्दै लेस्टरको ३–० को जित सुनिश्चित गरे ।

एभर्टनले पनि ३ अंक जोड्यो

त्यस्तै, यस सिजनको इङ्लिस प्रिमियर लिग सुरु भएसँगै पहिलो खेलमा एभर्टनले पनि कठिन जित निकालेको छ ।

निकै रोमान्चक बनेको खेलमा एभर्टनले टोटनह्यामलाई १–० गोलले पराजित गरेको हो । प्रिमियर लिगको पहिलो खेलमै एभर्टनले जित निकाल्न सफल बन्यो । जितसँगै एभर्टनले ३ अंक जोडेको छ ।

तस्बीर साभार : सीबीएस स्पोर्ट्स डट कम

टोटनह्यामको मैदानमा भएको उक्त खेलमा एभर्टनका लागि डोमिनिक कालभर्ट लेविनले गोल गरे । कालभर्टले दोस्रो हाफको ५५ औं मिनेटमा गोल गरेका थिए । उनको गोल नै निर्णायक बन्यो ।