अमेरिकामा ओराकलले टिकटकको खरिद गर्ने सम्भावना

रासस
भाद्र २९, २०७७
Tiktok

वासिङ्टन । लोकप्रिय चिनियाँ भिडियो–सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ । टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने बारेमा माइक्रोसफ्टसँग लामो वार्ता भए पनि अन्ततः त्यो पहल समाप्त भएको माइक्रोसफ्टले जनाएको छ ।

माइक्रोसफ्टले आइतबार एक विज्ञप्ति जारी गर्दै टिकटकको मुख्य कम्पनी बाइटडान्सले आफ्नो प्रस्ताव अस्वीकार गरेको जनाएको छ ।

अमेरिकी सूचना चुहावटको आशंका जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको अमेरिकामा हुने व्यवसाय अमेरिकी कम्पनीलाई बिक्री गर्न आदेश नै दिएका छन् । उनले आगामी सेप्टेम्बर २० भित्र टिकटकले निर्णय नगरे अमेरिकामा प्रतिबन्ध लगाउने गरी एक कार्यकारी आदेशमा हस्ताक्षर समेत गरेका छन् ।

टिकटक र ह्वाइट हाउसले यसबारेमा कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् । टिकटक खरिदमा माइक्रोसफ्टसँग साझेदारी गर्न चाहेको वाल्मार्टले टिकटकमा लगानी गर्न अझै पनि आफूहरु उत्साहित रहेको जनाएको छ । वाल्मार्टले बाइटडान्स र अरु साझेदारसँग वार्ता गरिरहेको बताएको छ ।

टिकटकले अमेरिकी व्यवसायलाई अन्य विश्वबाट कसरी विस्थापित गर्ने भन्ने बारेमा अझै केही बताएको छैन । चिनियाँ बजारका लागि बाइटडान्सले टिकटकजस्तै डोइन नामको भिडियो–सेयरिङ एप्लीकेसन प्रयोगमा ल्याएको छ ।

बाइटडान्स र अमेरिकी कम्पनीबीच हुने किनबेचका सम्बन्धमा अमेरिकाको विदेशी लगानी समितिले मूल्याँकन गरेपछि मात्र अन्तिम टुंगो लाग्नेछ ।

टिकटकका अनुसार संयुक्तराज्य अमेरिकामा १० करोड र विश्वभर ७० करोड ग्राहक रहेका छन् । यस एप्लीकेसनको स्वामित्व चिनियाँ नागरिकमा रहेकाले पनि अमेरिकामा विशेष चासो दिइएको हो । ह्वाइट हाउसले टेलिकम कम्पनीहरु हुवावे र जेडटिई, विच्याट समेतका निकै लोकप्रिय एप्समाथि शृंखलाबद्ध प्रतिबन्धहरु घोषणा गरिरहेको छ ।

टिकटक खरिदमा अग्रपंक्तिमा देखिएको ओराकलले खासगरी डेटाबेस सफ्टवेयर निर्माण गर्दछ ।

Related News

सम्बन्धित समाचार

hero news full width