उपचाररत् बिरामीको मृत्यु, २ सय मलामी क्वारेन्टाइनमा

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७७
fishtail

पोखरा  । पोखराको गैह्रापाटनस्थित फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचाररत् ४५ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भयो । अस्पताल प्रशासनले कोरोना आशंकामा स्वाब संकलन गरे पनि रिपोर्ट नआउँदै क्यान्सरका कारण मृत्यु भएको जिकिर गरी आफन्तलाई शव जिम्मा लगायो । आफन्तले पनि शव बुझे । र, शुक्रबार नै पोखरा सेती नदी किनार रामघाटमा २ सय जना मलामीको उपस्थितिमा अन्त्येष्टि गरे ।

तर, घटनाको भोलिपल्ट शनिबार बिहान ती महिलाको कोरोना रिपोर्ट पोजेटिभ अर्थात् कोरोना संक्रमित भएको पुष्टिपछि तरंग छायो । आफन्त तथा मलामी गएकाहरु सशंकित बने । आफूहरु पनि कोरोना संक्रमित हुन सक्ने आशंकामा सबैजना क्वारेन्टिन बस्नुपर्ने भयो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घर भइ हाल पोखरा–५ निवासी ती महिलाको भदौ २६ गते राति १ बजेर १५ मिनेटमा फिस्टेलमा मृत्यु भएको थियो ।

गत बिहीबार स्वाब संकलन गरी परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा शनिबार बिहानमात्र रिपोर्ट पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत् जनाएको हो ।

ब्लड क्यान्सरबाट पीडित ती महिलाको तीन दिनदेखि अस्पतालको आइसीयूमा राखेर उपचार हुँदै आएकोमा एक्कासी मृत्यु भएपछि अस्पतालले कोरोना रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाएको थियो ।

मृतकका आफन्तले अस्पतालले कोरोना नभै ब्लड क्यान्सरकै कारणले ज्यान गएको भनी दाहसंस्कार गर्न सकिने विश्वास दिलाएपछि शव बुझेर अन्त्येष्टि गरिएको बताउँछन् । आफूहरुले पटक–पटक अस्पताल प्रशासनलाई स्वाब परीक्षणको रिपोर्ट नआइञ्जेल कुर्ने कि भन्ने अनुरोध गरेकोमा अस्पतालले शव लैजान कर गरेको र विश्वासमा सोही दिन मलामीको उपस्थितिमा परम्परागत् शैलीमा अन्त्येष्टि गरिएको बताएका छन् ।

पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले अस्पतालले कोरोना परीक्षणको लागि नमुना संकलन गरिसकेपछि नतिजा नआउँदै शव बुझाउन गलत भएको बताउँछन् । अस्पताललकै लापरबाही कारण अन्त्येष्टिमा पुगेका करिब २ सय जना र उनीहरुको सम्पर्कमा आएका परिवारका सदस्य लगायतमा समेत कोरोना संक्रमणको जोखिम बढ्न सक्ने उनले बताए । कन्ट्याक्ट ट्रेसिङ आधारमा मलामी गएका सबैलाई क्वारेन्टाइन बस्न समेत पोखरा महानगर स्वास्थ्य महाशाखाले निर्देशन दिएपछि उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न भनेपछि कोही होम क्वारेन्टाइन तथा कोही होटलको क्वारेन्टाइन बस्न थालिसकेका छन् । तीमध्ये केहीको आइतबार नै स्वाब कलेक्सन तयारी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखराका एक अग्रज पर्यटन व्यवसायीको धर्मपत्नी भएकोले पनि अन्त्येष्टिमा सहभागी मलामीहरु आफन्तका अलावा गण्डकी प्रदेश सांसद रामजी बराल जीवन, राजीव पहारी, माछापुच्छे« गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडी, अन्य जनप्रतिनिधि, पोखरास्थित विभिन्न पर्यटनसम्बद्ध संघसंस्थाका पदाधिकारी, ५ पत्रकार, शुभचिन्तक लगायत झण्डै २ सयको संख्यामा उपस्थित रहेको सहभागी एक मलामीले जानकारी दिए ।

मृतकका आफन्तले अस्पताल प्रशासनको लापरबाही भएकोले यसको सम्पूर्ण जिम्मेवारी अस्पतालले लिनुपर्ने बताएका छन् । अस्पतालमा उपचारक्रममा समेत थुप्रै आफन्त सम्पर्कमा थिए ।

उता, फिस्टेल अस्पताल व्यवस्थापन समिति अध्यक्ष अशोक पालिखेले प्रयोगशालाले ढिलो रिपोर्ट पठाउँदा सो हुन गएको बताउँछन् । उनी भन्छन्, ‘नमुनाको रिपोर्ट ५ घण्टामै आउँछ भनिन्छ तर निजी अस्पतालले पठाएको नमुना रिपोर्ट कम्तीमा ३ दिन लाग्ने गर्छ । ढिलो रिपोर्ट पठाउँछ, हामीलाई जानकारी दिँदैन । मैले पनि मिडियाबाटै थाहा पाएँ ।’ मृत्यु हुने महिला आफ्नो नजिकको साथीकै श्रीमती समेत रहेको हुँदा निधनमा आफू पनि दुःखित भएको बताए । उनले कोरोना लागेको कुनै आशंका नभएको र रिपोर्ट पर्खिने अवस्था नभएकोले शव बुझाइएको जिकिर गर्दछन् ।

अस्पताल प्रशासन र प्रदेश स्वास्थ्य निर्देशनालयबीच आरोप–प्रत्यारोप चलेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले गम्भीरखालको बिरामीको स्वाब भएकोले पहिले नै आफूहरुलाई जानकारी दिनुपथ्र्यो भन्दै अस्पतालले रिपोर्ट नै ढिलो पठाएको बताए । स्वाब कलेक्सन गरिसकेपछि रिपोर्ट नआउँदै शव बुझाउनु अस्पतालको लापरबाही भएको डा शर्माले आरोप लगाए ।

यसबीच, माछापुच्छ्रे गाउँपालिका ३ ले शनिबार साँझ अपील जारी गर्दै अन्त्येष्टिमा सहभागी दिदीबहिनी तथा दाजुभाइलाई अनिवार्यरुपमा आ–आफ्नो घरमा सेल्फ क्वारेन्टाइन बस्न अनुरोध गरेको छ । साथै दिवंगत महिलाको अन्तिम संस्कारको लागि माछापुच्छ्रे वडा ३ घाचोकबाट शव व्यवस्थापन गर्नेहरुको ५ दिनपश्चात् कोरोना परीक्षणको लागि घाचोक स्वास्थ्य चौकीमा स्वाब संकलन गरिने भएकोले हतास नहुन र उच्च मनोवलसाथ सावधानी अपनाउन वडाध्यक्ष सूर्यप्रसाद लम्सालद्वारा अपीलमा उल्लेख छ ।

यसैबीच, पोखरामा शनिबार अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा शनिबार बिहान स्याङ्जा पुतलीबजार–१ का ८५ वर्षीय पुरुषको मृत्यु भएको हो । यो सहित कोरोना संक्रमणबाट गण्डकी प्रदेशका २४ जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै, गएको २४ घण्टामा प्रदेशमा थप ८३ जनामा कोराना संक्रमण देखा परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत् पुष्टि गरेको छ । प्रदेशमा कुल संक्रमित संख्या २ हजार ९ सय ३ पुगेको छ । कास्कीमा मात्रै शनिबार थप ३४ जनामा कोरोना पुष्टि भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width