सूचना र प्रविधिको महत्व बढ्दो : मन्त्री चुमान

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७७
Chuman

पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सबै क्षेत्रमा सूचना प्रविधिको महत्व रहेको बताएका छन् ।

कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ (क्यान) जिल्ला शाखा तनहुँले बुधबार आयोजना गरेको सिकाइ व्यवस्थापन प्रणालीसम्बन्धी अनलाइन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै चुमानले सो कुरा बताएका हुन् । उनले अहिलेकोे अवस्थाले पनि सूचना र प्रविधिको महत्वलाई दर्साएको बताए ।

उनले भने, “सूचना र प्रविधिको प्रयोगले नै देश विकासको क्षेत्रमा लम्बिन्छ । हरेक क्षेत्रमा सूचना प्रविधिको आवश्यकता छ । ”

क्यान महासङ्घका केन्द्रीय अध्यक्ष नवराज कुंँवरले कोभिड–१९ को प्रभावमा हरेक क्षेत्रमा प्रभाव परेको बेलामा अनलाइनबाट विद्यार्थीहरुको माझमा शिक्षा प्रदान गरिरहेको बताए । अबको युग प्रविधिको भएका कारण पनि सूचना प्रविधिको विकल्प नरहेको उनको भनाइ थियो ।

क्यान महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डेले कोरोनाको संकटमा सूचना प्रविधिको क्षेत्रमा विद्यालयलाई सहयोग गर्न तयार रहेको बताए ।

कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा पुगेको असर र प्रविधि प्रयोग गरी कक्षा सञ्चालनका लागि गर्न सकिने आधार, सम्भावना र अप्ठ्याराका विषयमा छलफल गर्ने उद्देश्य सहित अनलाइन तालिम आयोजना गरिएको क्यान तनहुँका अध्यक्ष टिकाराम पनेरुले जानकारी दिए ।

क्यान सूचना प्रविधिसँग जोडिएको संस्था भएकाले यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास लिइएको पनेरुको भनाइ थियो ।

कार्यक्रम सञ्चालनका लागि प्याब्सन, नेशनल प्याब्सनसँग सहकार्य गरिएको छ भने प्रशिक्षक एवं प्राविधिक पक्षका क्यान केन्द्रले सहयोग पुर्‍याएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width