कास्की काँग्रेसद्वारा बाढीपहिरो प्रभावित ३० परिवारलाई सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७७
Hastantarad

पोखरा, २४ भदौं । नेपाली काँग्रेस कास्कीले बुधबार पार्टीका संस्थापक स्व. वीपी कोइरालाको १०७ औं जन्मजयन्ती मनाएको छ ।

पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, कास्की काँग्रेसका सभापति कृष्ण केसी, नेता सोभियतबहादुर अधिकारी, प्रदेशसभा सदस्य विन्दुकुमार थापा, काँग्रेस पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ र पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोलाले पोखराको वीपी चोकस्थित वीपीको शालिकमा माल्यार्पण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो ।

त्यस अवसरमा नेता शुक्रराज शर्माले वीपीका सिद्वान्तलाई सबै दल र नेताहरुले पछ्याइरहेको उल्लेख गरे ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले बाढीपहिरो प्रभावित परिवारको साथ रहेर वीपी जयन्ती मनाइएको उल्लेख गरे ।

कास्की काँग्रेसले कास्कीका बाढीपहिरो प्रभावित ३० परिवारलाई आर्थिक सहयोग गरेको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

हेमजा, सराङकोट, कास्कीकोट, पोखरा २६, २७, लाहाचोक, मादी ८ रवैडाडाँ, पोखरा ११ काहुँ, पोखरा २८ सौर्य र ल्वाङका बाढीपहिरो प्रभावित परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

कास्की काँग्रेसले पोखरा २७ अर्घाैचोकस्थित घरेलुचौरमा आयोजना गरेको कार्यक्रममा कास्की काँग्रेसका पूर्वसभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पूर्वसभापति थापाले जनताका सुख र दुःखमा काँग्रेस सदैव सँगै रहेको बताए ।

कास्की काँग्रेसका सचिव सुदीपमोहन भट्टराई र देवेन्द्र रानाभाटले संस्थापक कोइरालाको बहुआयामिक व्यक्तित्वको चर्चा गरे ।

नेपाली काँग्रेस क्षेत्र नं १ कास्कीका सभापति बिर्जमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य राजेन्द्रमणि लामिछानेले स्वागत र नेपाली काँग्रेस पोखरा २७ का सचिव विश्वराज पौडेलले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width