करोड लगानीमा अर्गानिक तरकारी खेती

sadhanramjali साधन राम्जाली
भाद्र २१, २०७७

म्याग्दी, २१ भदौ । उत्पादन छिटोे र छोटो समयमै आम्दानी हुने होडमा पछिल्लो समय तरकारीमा रसायनिक मल तथा बिषादी युक्त औषधीको प्रयोग बढ्ढो छ । विभिन्न रसायनिक मल र विषादीयुक्त कीटनाशक औषधी प्रयोगले गर्दा भान्सामा अर्गानिक तरकारी पाउन मुस्कील छ । रसायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गएको छ भने एकातिर बिषादीयुक्त औषधी प्रयोगले जनस्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ ।

रसायनिक मल र विषादीयुक्त कीटनाशक औषधी प्रयोगलाई विस्थापित गर्ने उद्देश्यले म्याग्दीमा सामुहिक लगानीमा अर्गानिक तरकारी उत्पादन थालिएको छ । सन्तोष रावलको अध्यक्षतामा प्रालि कम्पनी दर्ता गरेर दश जनाको सामुहिक लगानीमा जिल्लाको मंगला गाउँपालिकाको वडा नम्बर २ स्थित हिदीमा २७ रोपनी क्षेत्रफलमा अर्गानिक तरकारी उत्पादन थालिएको हो ।

प्रतिव्यक्ति दश÷दश लाख रुपैयाँ गरी एक करोड बढी लगानीमा हिमचुली अर्गानिक कृषि तथा पशु फार्म प्रालि स्थापना गरी अर्गानिक तरकारी उत्पादन भईरहेको छ । फार्ममा अहिले बन्दा, काउली, आलु, मुला, साग, प्याज, लसुन, सिमी, गोलभेडा, काक्रो, खुर्सानी लगायतका तरकारीहरु उत्पादन भइरहेका छन् । फलफूलमा ओखर, कागती र किवी खेती लगाइएको फर्मका सञ्चालक समिति सदस्य तथा बागवानी विज्ञ भोजबहादुर थापा मगरले बताए ।

दुध र मासुको लागि पशुपालन ब्यवसाय पनि विस्तार गर्ने फार्मले जनाएको छ । सो फार्मलाई भूमि ब्यवस्था तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशले दश लाख रुपैयाँ अनुदान दिएको छ । स्थानीय रुपमा प्राङगारिक मल, गहुत, कुहिएका स्याउलाहरु मलको रुपमा प्रयोग गरिएको छ भने विषादीरहित जडीबुटी औषधीको रुपमा प्रयोग गरिएको छ ।

रसायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गइरहेको र बिषादीयुक्त औषधीको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेकाले प्राङगारिक मल तथा विषादीरहित औषधीको प्रयोग तथा अर्गानिक तरकारी उत्पादन गरी आयातलाई प्रतिष्ठापन गर्दै कृषिमा आत्मनिर्भर गराउने फार्मको उद्देश्य रहेको छ । फार्ममा अहिले दैनिक जसो गाउँका युवाहरुले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

‘पछिल्लो समय रसायनिक बिषादीको प्रयोगले मानव स्वास्थ्य र वातावरण प्रदुषित बनाइरहेकोे छ ।’ सञ्चालक सदस्य तथा बागवानी विज्ञ थापा मगरले भने–‘स्थानीय स्तमा उपलब्ध हुने स्रोत साधन प्रयोग गरेर तथा कृषिमा हिमउपकरण प्रयोगमा ल्याउन सकेमा आयात न्युनीकरण गर्न सकिन्छ भने स्थानीय युवाहरुले रोजगारीको अवसर पाउने र मानवस्वास्थ्य र वातावरण संरक्षण गर्न सकिन्छ ।’