बाढी विस्थापितको घर बनाउन प्रदेशको ३ लाख

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७७
prithvi

पोखरा ।  बागलुङको ढोरपाटनस्थित भुजीखोलाका बाढीपहिरोपीडितको स्थायी आवासका लागि गण्डकी प्रदेश सरकारले ३ लाख रुपैयाँसम्म दिने भएको छ ।

बाढी र पहिरोपीडितहरुको स्थायी बसोबासका लागि सरकारले पीडितहरुको घर बनाउन नगदै उपलब्ध गराउन लागेको हो । संघ सरकारले भूकम्पकै मापदण्ड अनुसार ३ लाख दिने निर्णय गरेको छ । प्रदेश सरकारले त्यो रकममा थप ३ लाखसम्म दिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । अनुदानबारे मन्त्रिपरिषद् बैठकले पनि कार्यविधि पास गरिसकेको छ । ‘पुनः निर्माण प्रावधान अनुसार संघ सरकारले घर बनाइदिने भनेको छ । ३ लाख माथिबाट आउँछ । प्रदेशले आवश्यकता अनुसार ३ लाखसम्म दिने भनेका छौं, उनले भने, ‘स्थायी र एकीकृत बस्ती बसाल्नका लागि प्रदेश सरकारको बढी जोड छ । त्यसमा जग्गाको जोहो चाहिँ स्थानीय तहले गर्नुपर्छ ।’

उनले स्थायी बसोबासअघि अस्थायी आवासको प्रबन्ध पनि स्थानीय तहसँगको समन्वयमा प्रदेशले मिलाउने प्रतिबद्धता जनाए । नयाँ घर नबनाउँदासम्म तत्कालको बसोबासका लागि सरकारले २५ हजार रुपैयाँ उपलब्ध गराउने कार्यविधि छ । बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेपछि मुख्यमन्त्री गुरुङले भने, ‘अहिले उद्धार र राहतमै ब्यस्त छौं । हराएका मान्छेको खोजी भैरहेको छ । घरको नोक्सानीबारे तथ्यांक खोजिरहेका छौं । पानी, बत्ती र बाटोको समस्या छ । यो सबै प्रबन्ध सरकारले मिलाउँछ ।’ उनले खाद्यान्न, त्रिपाल लगायत सामग्रीको अभाव हुन नदिने दाबी गरे । ३२ सेट भाँडाकुँडा, म्याट्रेस, त्रिपाल लगायत सामग्री सरकारले हस्तान्तरण गरेको छ । ‘यो पर्याप्त नहुन सक्छ । पुगेन भने खबर गर्नुस् । फेरि सरकारले उपलब्ध गराउँछ,’ राहत सामग्री वितरण गर्दै उनी भन्छन्, ‘अझै चनाखो भएर बस्नुपर्ने छ । अहिले मौसम खराब छ । कुनै पनि बेला जे पनि हुन सक्छ । ख्याल गर्नुहोला ।’

प्रदेश सरकारले बाढीका कारण मृत्यु भएकाको परिवारलाई प्रतिमृतक ५० हजारका दरले नगदै राहत दिएको छ । अहिले १४ परिवारलाई राहत दिइएको आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले बताए । सनाखत हुन बाँकी रहेकाहरुको परिवारलाई भने पहिचान भएपछि मात्रै उपलब्ध गराइने उनको भनाइ छ । उनीहरुलाई संघ सरकारले पनि २ लाख रुपैयाँ दरले उपलब्ध गराउने छ । संघ सरकारले पनि ४० पीडित परिवारलाई भाँडा सहित त्रिपाल, म्याट्रेस, प्राथमिक उपचारका सामग्री हस्तान्तरण गरेको थियो । मन्त्री चुमानले पीडितहरुलाई सकेसम्म राहत दिने गरी कार्यविधि बनाएको भन्दै जनताको हितमा काम गर्ने बताए । ‘टेन्ट भनेको १ महिनाका लागि त हो नि । स्थायी घर नहुँदासम्म अस्थायी टहरा आवश्यक पर्न सक्छ । प्रदेशले २५ हजारसम्म अस्थायी टहराका लागि दिन्छ,’ उनले भने, ‘लचिलो कार्यविधि बनाएका छौं । आवश्यकता कति पर्छ । त्यही अनुसार दिन मिल्छ । आवश्यक प¥यो भने ३ लाख दिन्छौं भनेका छौं ।’

उनले बाढी प्रभावित क्षेत्रको अवस्था निकै क्षतविक्षत भएको भन्दै सोही ठाउँमा बस्ती बस्न सक्ने अवस्था नरहेको सुनाए । ‘क्षतविक्षत छ । पीडादायी स्थिति छ । धेरैको आँखामा आँशु देखेँ,’ मन्त्री चुमानले भने, ‘खोला किनारको बस्ती बगाएको हो । त्यही ठाउँमा बस्ती बस्न सक्दैन । नगरपालिकालाई पनि सुरक्षित जग्गा उपलब्ध गराउन भनेका छौं । संघ र प्रदेश सरकारले घर बनाउन बजेट उपलब्ध गराउँछ ।’ बाढीपीडितहरु अधिकांश आफन्तको शरणमा बसिरहेका छन् भने केही टेन्ट टाँगेर बसेका छन् । एउटै परिवारमा ५ जनासम्मको मृत्यु भएको छ । नगरपालिकाको सहयोगमा बन्द रहेको बाटो खुलाउन २ वटा डोजर परिचालन गरिएको छ ।

ढोरपाटन नगरपालिका ७, ८ र ९ नम्बरको भुजीखोलामा बुधबार राति बाढी आउँदा १५ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता छ । बेपत्ताहरुको खोजी चलिरहेको छ । बाढीले ८० घर पूर्ण क्षति भएको छ भने ५० भन्दा बढी घरमा आंशिक क्षति रहेको ढोरपाटनका मेयर देवकुमार नेपालीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width