नपाइने मलका लागि ८ घण्टा सास्ती

सविन लामिछाने
भाद्र २१, २०७७
Mal

दमौली ।  बुद्धिमानलाई धान ‘टप ड्रेसिङ’ गर्ने बेलामा त यूरिया मल पाइएला भन्ने खुबै आशा थियो । मलको लागि दिनहुँ सहकारी संस्था धाउँदै आए । तर, एक किलो यूरिया मल समेत किन्न पाएका हैनन्।

‘धान पहेंलिन थाल्यो। यो बेलामा यूरिया छर्न पाइएन भने त धान फल्दैन’ व्यास ६ का बुद्धिमान श्रेष्ठले चिन्ता व्यक्त गरे, ‘जतिबेला मल चाहिएको हुन्छ। त्यतिबेला नै मलको अभाव हुन्छ ।’

मल नपाएर भौतारिएका उनै बुद्धिमानले दमौलीमा शुक्रबार मल आउने खबर पाए । त्यसको लागि बिहान ५ बजे उठे। तयार भएर साढे ७ बजे हिडेरै दमौली आए । सकेसम्म अगाडि लाम लाग्न हतारिएका उनी पुग्दा ९ बजिसकेको थियो। उनीभन्दा अगाडि पनि धेरै जना लाममा बसिसकेका थिए । भीडमा बस्नेहरु अघिलो बिहानदेखि बसेका पनि भेटिए।

यसैबीच हातमा नाम्लो लिएर व्यास ५ पतेनीकी शारदा काफ्ले त्यहाँ आइपुगिन् । व्यास ३ स्थित रहेको नवीन उपभोक्ता सहकारी संस्थामा लाम लागेका उनीहरूले साढे ११ बजेतिर धन्न १०÷१० किलो मल पाए। बिहानदेखि पालो कुरेकालाई भोलि आउनु भनियो । शुक्रबार जम्मा ३ सय जनालाई चिनी मल दिइयो। सहकारीमा ७० बोरा चिनी मल आएको थियो । एउटा बोरोमा ५० किलो हुन्छ। एक बोरा फुटाल्दै ५ जनालाई बाँडियो । साँझ ४ः ३० बजे सहकारी बन्द गर्दै किसानहरुलाई भोलि आउनु भनियो । बालीको हरियाली कल्पना गरेर घण्टौं उभिएका बाँकी दुई दर्जनभन्दा बढी किसान रित्तो हात घर फर्किन बाध्य भए। ‘दिनभरि लाइनमा बस्दा पनि मल पाइएन । अन्त पाइन्छ कि भनेर धेरैतिर चाहरियो तर रित्तो हात फर्कनुपर्‍यो’, म्याग्देका रामकुमार वाग्लेले भने, ‘यो देशमा मर्कामा पर्ने हामी किसान नै रहेछौं ।’

चर्को घाममा घण्टौं लाइन बस्दा पनि मल नपाएपछि उनको आक्रोशले सीमा नाघ्यो। ‘कृषिप्रधान देश रे ! हामी किसानले भनेको बेलामा मलसम्म पाउँदैनौं। बूढो मान्छे, घण्टौं भइसक्यो लाइन बसेको। अहिले आएर भोलि आउनु भन्छन्। अब हामीले कसलाई गुहार्ने हो ? ’ उनी ठूलो स्वरमा कराइरहेका थिए।

व्यास ७ की जौमाया कुमालले मल भएपनि नपाइएको गुनासो गरिन् । उनले भनिन्,“सहकारीमा मल तर साँझ साढे ४ बजेपछि पसल बन्द गरेर भोलि आउनू भने ।”

मल हुँदा पनि वितरण नगरेको भन्दै जिल्ला प्रशासनमा उजुरी गर्न किसानहरु पुगे । यता सहरकारी सञ्चालक शारदा मिश्रले सबैलाई पुराउने तरिकाले मल बाँड्दा पनि नपुगेको बताइन् । उनले भनिन्,“मल थोरै आएको थियो । अनि धेरै किसानहरु मल माग्दै अब कसरी सबैलाई मल पुर्‍याउन सकिन्छ ।”

शुक्रबार ३ सय र शनिबार २ सय जना किसानलाई मल बाँडेको उनले बताइन् । उनले भनिन्, “धेरै भीड भएर थेग्न नसकेपछि भोलि आउनु भनेर शुक्रबार पसल भन्द गरेका थियौं । तर किसानहरु भने उजुरी गर्न जानुभएछ ।”

उनले थपिन्,“शनिबार पनि २ सय जना किसान मल बाँड्यौ । तर अहिले मल सकिएको छ ।” मल अब कहिले आउने भन्ने जानकारी नभएको उनले बताइन् ।

धानखेती गर्ने अधिकांश किसान अहिले मलको खोजीमा छन्। खेतमा धानको बाला फलाउने सपना बोकेका उनीहरू हैरानी बेहोर्न बाध्य छन्। पछिल्लो समय तनहँुमा कोरोना भाइरस संक्रमण दिनप्रतिदिन बढिरहेको छ। त्यसको पर्वाह नगरी किसान मलको रनाहामा भौतारिइरहेका छन्। जोखिम मोलेर भीडमा लाम लाग्छन्। र, अन्त्यमा रित्तै फर्किन्छन्। धान रोपाइँ सुरु गर्नुअघि पनि युरिया खोजेका किसानले धानकोे गाँज हाल्ने समयमा पनि मल पाउन सकेका छैनन्। सरकारले समयमै मल उपलब्ध गराउन नसक्दा धानबाली बिग्रने खतरा बढेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width