महानगरको कार्यपालिका बैठक : बढी काम गर्ने ठेकेदारलाई थप रकम

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०७७
pokhara metro office

पोखरा  । पोखरा महानगरपालिकाले नगरक्षेत्रका २३ वटा ठूला सडक आयोजनाको भेरिएसन (भिन्नता) निकालेको छ । १६ वटा ठेक्कामा बढी काम भएकोले रकम बढाएर दिनुपर्ने तथा ७ वटा ठेक्काको सम्झौताभन्दा रकम घटाएर भुक्तानी दिने गरी निर्णय भएको छ । प्राविधिकले निकालेको प्रतिवेदन आधारमा भेरिएसन थप भएका आयोजनामा १ करोड ८३ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ भने कम भेरिएसनका योजनामा २७ लाख ६१ हजार घटाउन भनिएको छ । तर यो भेरिएसन प्रणाली नै वैज्ञानिक नभएको कार्यपालिका बैठकका सदस्यहरुको आरोप छ ।

नेपाली काँग्रेसका सचेतक तथा पोखरा वडा ९ का वडाध्यक्ष रामराज लामिछानेले विकासको नाममा मनपरी गर्न नहुने भन्दै भेरिएसन स्वीकृत नगर्न सुझाए । ‘विकासको नाममा जे पनि गर्न छुट छ भन्ने होइन । मेटेरियल हेरौं भनेको पो हो त । विकास नगरौं भनेको कहाँ छ ? आर्थिक पारदर्शीता त अपनाउनुपर्‍यो,’ उनले भने, ‘सुशासन कायम गर्नुपर्छ । भेरिएसन आदेश लिएर काम गरौं । नत्र यो पास गर्न सकिँदैन । मेरो असहमति छ ।’

वडा ४ का वडाध्यक्ष शंकर बास्तोलाले भेरिएसन पास गराउने विषयमा आफ्नो असहमति जनाउँदै निर्णयमै ‘नोट अफ डिसेन्ट’ (असहमति) लेख्ने चेतावनी दिएका छन् । ‘बढी काम गर्नुपर्ने भए कार्यालयबाट पूर्व स्वीकृति लिनुपर्छ । कुनै पनि निर्माण कम्पनीले पूर्व स्वीकृति नलिई काम गरेर दोहोरो मूल्याङ्कन गरिएको छ,’ वडाध्यक्ष बास्तोलाले भने, ‘ती सडकहरु कटिङ गर्दा निस्किएको ढुंगा माटो निकालेर ठेकेदारले बेच्छ । साइटबाट हुने थप आम्दानी चुपचाप गोजीमा हाल्ने अनि हचुवा भरमा गरिएको भेरिएसन मान्य छैन । यो सच्याउनुपर्छ ।’ निर्माण कम्पनी र प्राविधिक कर्मचारीको मिलेमतोमा भेरिएसन गरिएको उनको आरोप छ ।

पोखरा महानगरका मेयर मानबहादुर जिसीले नियमभित्र रहेर काम गरिएका आयोजनामा मात्रै भेरिएसन थप हुने बताए । ‘खन्दै जाँदा कसैको घर भत्कियो । त्यसलाई छोडेर जानु भएन । नियमानुसार गरिएका काममा निकास दिनुपर्छ,’ उनले भने, ‘आगामी दिनमा मौखिक आदेशको भरमा गरिएको काममा भेरिएसन नगर्ने गरेर अहिले निकास निकालौं भनेको हो । ऐन कानूनले दिएको अधिकारभित्र रहेर भेरिएसन पास गर्ने निर्णय भएको छ ।’ बाटो पुरानो भएकोले काम गर्दै जाँदा क्षति बढेको उनले बताए । ‘पुराना बाटा स्तरोन्नति गर्ने भएकोले धेरै भौतिक संरचनामा क्षति पुगेको छ । सार्वजनिक खरिद ऐनभित्र पर्ने गरेर स्वीकृत गरेको हो । मूल्याङ्कन कानूनमा टेकेर नै गर्ने हो,’ उनले थपे ।

प्रमुख प्रशासकीय अधिकृत महेश बरालले भेरिएसन अर्डर बिना आदेशको भरमा निर्माणको काम गर्दा अनियमितता हुन सक्ने भन्दै त्यसतर्फ सचेत रहन प्राविधिकलाई सुझाए । ‘भिओ नगराई कामको आदेश दिनुहुँदैन । भिओ गराउनुपर्छ । ठेक्का लिँदा एउटा सम्झौता र अर्को काम गरेको भए समस्या हो,’ कार्यपालिका बैठकमा उनले भने, ‘कर्मचारी मिलेर यो विषय आएको होइन । काम भएका योजनामा पनि भुक्तानी नदिँदा समस्या हुन्छ । साझा एजेन्डा बनाएर पास गर्नुपर्छ ।’ यो प्रस्तावमा नेकपाबाट निर्वाचित कार्यपालिका सदस्यहरुले भने समर्थन जनाएका छन् । काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले यसको विरोध गरेका हुन् ।

बैठकले लकडाउन समयमा सञ्चालन नभएका पोखरा महागरका सटरहरुमा भाडा मिनाहा गर्ने, घाट लगायत महानगरसँग सम्झौता गरेर सञ्चालित विभिन्न ठेक्का र योजनाहरुको लकडाउन अवधिको रकम छुट गर्ने सहमति भएको छ । तर यसका लागि राजश्व परामर्श समितिमा छलफल गरेर उपयुक्त भए प्रस्ताव आगामी कार्यपालिका बैठकमा पेस गर्ने सहमति भएको छ । महानगरलाई निरन्तर राजश्व नबुझाएका कम्पनीहरुले पनि रकम मिनाहाको माग गरेका कारण कार्यपालिका सदस्यहरुले नै विरोध जनाएका छन् । फोहोर व्यवस्थापनका लागि यसअघिकै सम्झौता अनुसारका कम्पनीलाई कात्तिकसम्म म्याद थप गरिएको छ । लेखनाथमा रहेका तालहरुको मापदण्ड कायम गर्नका लागि पनि समिति गठन भएको छ । सोमनाथ सापकोटाको संयोजकत्वमा समिति गठन भएको हो ।

Related News

सम्बन्धित समाचार

  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…
  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…

hero news full width