आबुँखैरेनीमा आइसोलेसन कक्ष बन्दै

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०७७

दमौली । आँबुखैरेनी गाउँपालिकाले १२ शैय्याको आइसोलेसन कक्ष निर्माणको लागि कार्य शुरु गरेको छ ।

कोभिड–१९ संक्रमण समुदायस्तरमा समेत बढ्दै जान थालेपछि उपचारको लागि सहज बनाउने उद्देश्यले आइसोलेसन कक्ष निर्माण कार्य थालेको हो ।

आउँदा दिनमा हुन सक्ने सम्भावित घटना मध्यनजर गर्दै गाउँपालिकाले आइसोलेसन कक्ष निर्माण कार्य शुरु गरेको हो ।

आँबुखैरेनी–३ तल्लोबजारस्थित शिवालय मन्दिर नजिकै गाउँपालिकाले केही वर्ष अघि निर्माण गरेको सार्वजनिक भवन प्रयोग गर्ने गरी आइसोलेसन निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए ।

आँबुखैरेनी गाउँपालिका, शिवमन्दिर संरक्षण समिति, मनकामना चोकटोल सुधार समिति, स्थानीय समाजसेवी तथा सरोकारवालाहरुको संयुक्त बैठकले उक्त स्थानमा आइसोलेसन निर्माण गर्ने निर्णय गरेको उनले बताए ।

कोभिड–१९ संक्रमण दिनानुदिन समुदायस्तरमा बढ्दै गएको अवस्थामा आँबुखैरेनीबासीहरुलाई कोरोना संक्रमण देखिए तत्कालै उपचारको व्यवस्था मिलाइने गाउँपालिका कार्यालयले जनाएको छ ।

गाउँपालिकामा नै आइसोलेसन कक्ष भएपछि कोरोना संक्रमितहरुले पारिवारिक वातावरणको अनुभूति गर्न सक्ने छन् । उनले भने, ‘यही आइसोलेसन कक्ष भएमा उपचारमा छिटो र आफन्तजनले रेखदेख गर्न समेत सहज हुने विश्वास गरेका छौं ।’

आइसोलेसन कक्षका लागि आवश्यक पर्ने बेड तथा अन्य सामाग्री तयार गर्ने कार्य थालिएको उनले बताए । सानातिना कुरामा पनि अरुको मुख ताक्नुपर्ने प्रवृत्ति न्यूनिकरण गर्दै आफ्नो खुट्टामा आफै उभिन सक्ने गरी सक्षम बन्न आवश्यक देखिएको अध्यक्ष थापाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width