गण्डकीस्तरीय वार्षिक योजना तथा बजेट तर्जुमा तालिम

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०७७
Sahakari Bank

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको गण्डकी प्रदेशस्तरीय दुईदिने वार्षिक योजना तथा बजेट तर्जुमा तालिम बुधवार सम्पन्न भएको छ ।

बैंकको शिक्षा तथा तालिम विभागको आयोजना र गण्डकी प्रदेश अन्तरगतका शाखाहरुको समन्वयमा तालिम सञ्चालन गरिएको थियो ।

गण्डकी प्रदेशभरका सहकारी संघसंस्थाका प्रबन्धक तथा कर्मचारीहरुका लागि सञ्चालित भर्चुअल तालिममा सहकारीहरुको वार्षिक योजना निर्माण र बजेट तर्जुमा विषयमा सहजीकरण गरिएको थियो ।

सहकारीलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनका लागि वार्षिक योजना र योजना अनुसारको बजेट निर्माणका लागि सहयोग पु¥याउने उद्देश्यका साथ तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।

बैंकको रणनीतिक योजना अनुसार बैंकमा आवद्ध सबै सदस्य संघ संस्थाहरुलाई आफ्ना सेवाहरुमा सहभागि गराउनका लागि पनि तालिम सहयोगी हुने जनाइएको छ ।

बैंकले वित्तीय सेवाका साथै शिक्षा तथा तालिम, स्तरीकरण, विद्युतीय भुक्तानी, योजना तथा बजेट निर्माणमा सहयोग लगायतका सेवाहरु दिदै आएको छ ।

तालिम समापनमा बोल्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीहरुलाई संस्थागत रुपमा सक्षम र सदस्य केन्द्रीत बनाउनका लागि वार्षिक योजना तथा बजेट निर्माण गर्ने तालिम प्रभावकारी हुने धारणा व्यक्त गरे । उनले योजना बिना सहकारीहरुलाई व्यावसायिक रुपमा अगाडि बढाउन नसकिने भएकाले संस्थाको रणनीतिक योजना निर्माण गरी अगाडि बढ्न सुझाव समेत दिए ।

तालिममा बैंकका प्रशिक्षकहरु नवकुमार अधिकारी, सूर्य रिमाल र तालिम अधिकृत नारायण बेलवासेले सहजीकरण गरेका थिए ।

योजना तथा बजेट निर्माणका लागि आवश्यक पृष्ठभूमि, अघिल्लो वार्षिक योजनाको समिक्षा, वातावरण विश्लेषण, ध्येय, परिकल्पना, उद्देश्य तथा लक्ष्य, रणनीति निर्धारण, बजेट, वित्तीय संरचना र अनुगमन तथा मूल्यांकन लगायतका लागिमा सहजीकरण गरिएको तालिम विभागका अधिकृत मीना शर्माले जानकारी दिइन् ।

तालिममा गण्डकी प्रदेशअन्तर्गत विभिन्न विषयका सहकारी संघसंस्थाका १ सय ८० जनाको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width