बर्खाले विस्थापितको बिचल्ली

प्रकाश ढकाल
भाद्र १७, २०७७
badhi pahiro

त्रिपालमुनि गुजारा चलाउँदै म्याग्दीको फगामका पहिरोपीडित ।

पोखरा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३, दानास्थित फगामका कर्णबहादुर नेपालीको घर ३ वर्षअघिको पहिरोमा भत्कियो । उनी अहिले पनि छिमेकीको घरमा बस्छन् । छिमेकी देउमाया सर्किनी पनि पुरानै पहिरोपीडित हुन् । उनको बास घर भत्किएपछि छिमेकीकै घरमा छ ।

अहिले सोही ठाउँमा पहिरोले वितण्डा मच्चायो । ‘बर्खा लागेपछि सरकार र संघ संस्थाले अलिअलि राहत दिन्छन् । अहिलेसम्म पनि राहत थापेरै उनीहरुको दैनिकी बितिरहेको छ,’ स्थानीय सीता घताने भन्छिन्, ‘हरेक वर्ष त्रिपाल र चामल दिएर कति चल्छ ? उनीहरुको समस्याको दीर्घकालीन समाधानबारे सरकारले सोचेन ।’

स्थानीय फगबहादुर गर्बुजाको घर यही असारमा मुसलधारे पानीसँगै बग्यो । अहिले १४ जनाको बास एउटै त्रिपालमुनि छ । ‘गाउँपालिकाले त्रिपाल दिएको छ । संघसंस्थाले आएर चामल र केही खानेकुरा दिएका छन्,’ उनले भने, ‘यत्रो परिवार एउटै पालमुनि बस्न कहाँ सजिलो छ ? जसोतसो चलाउनै पर्‍यो ।’

पहिरोले मृत्यु भएपछि ५० हजार बोकेर प्रदेशका मन्त्री र सांसद पुग्छन् । तर बेलैमा जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा सार्न कुनै चासो देखाउँदैनन् ।

म्याग्दीका पहिरोपीडितहरु फर्किएर पुरानै ठाउँ जाने सोचमा छैनन् । उनीहरुमध्ये केहीको घर पूरै भत्किएको छ भने केहीको चिरा परेको छ । पहिरोले विस्थापित भएपछि केही परिवार आफन्तको घरमा शरण लिएर बसेका छन् । केही चाहिँ पालिकाले दिएको त्रिपाल ओढेर बसिरहेका छन् ।

‘पीडितले राहत पाउने गरी कतैबाट केही सहयोग भएको मैले थाहा पाएको छैन । प्रदेश सरकारको त नजरै परेको छैन,’ सीताले भनिन्, ‘पीडितहरु फर्केर त्यही ठाउँमा बस्ने अवस्था पनि छैन । अब उनीहरुलाई राख्ने कहाँ हो ? सरकारले यसबारे सोचेकै छैन ।’ त्यस ठाउँमा मात्रै १७ घर विस्थापित भएका छन् । त्रिपालमा बस्नेहरुलाई पनि शौचालय र बत्तीको निकै आवश्यकता छ । ‘सरकार आएर फर्कन्छ । पार्टीका नेताहरु पनि आउँछन् तर समस्या सुनिदिने कोही छैन,’ पीडितहरु भन्छन्, ‘सबैजना भोट फकाउनमात्रै ध्यान छ ।’ पछिल्लो १ महिनादेखि त्यो ठाउँमा खानेपानी छैन । कतै जान बाटो पनि छैन ।

यो वर्षको बर्खामा म्याग्दीमा मात्रै ३५ जनाभन्दा बढीको मृत्यु भयो । करिब ५० घर विस्थापित छन् । म्याग्दीमा मात्रै होइन, गण्डकी प्रदेशभरी बर्खाको क्षति डरलाग्दो छ । प्रदेशमा १ सय १० जनाको मृत्यु असार र साउनमा मात्रै भएको तथ्याङ्क आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग छ । एक सयभन्दा बढी घर पूर्ण रुपमा क्षति भएको छ, जहाँ पुनः फर्केर बस्न मिल्दैन । सबैजसो पीडितहरु त्रिपालमुनि दैनिकी गुजारीरहेका छन् । कतै पहिरोले मान्छेको मृत्यु भए ५० हजार लिएर प्रदेशका मन्त्री र सांसदहरु पुगिहाल्छन् । तर जोखिमयुक्त ठाउँको खोजी गर्ने र जोखिममा रहेका बस्ती बेलैमा सुरक्षित ठाउँमा सार्ने चेत सरकारसँग छैन । प्रदेश सरकारले पहिरोबाट मृत्यु भएकाको परिवारलाई प्रतिमृतक ५० हजार राहतस्वरुप उपलब्ध गराएको छ भने संघ सरकारले थप १ लाख सहयोग गरेको छ । संघले पछिल्लो पटक कार्यविधि फेरेर २ लाख उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

तर पीडितहरु किस्ताबन्दीमा रकमभन्दा स्थायी बसोबासको ज्ञारेण्टी खोजिरहेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिरोपीडितलाई भेट्दै पहिरोले पुरिएका घर प्रदेश सरकारले बनाइदिने आश्वासन पनि दिएका थिए । तर हालसम्म त्यसको प्रक्रिया सुरु भएको छैन । ‘घर बनाइदिनेमात्रै भनेर हुँदैन । त्यसका लागि तीनवटै सरकारबीच समन्वय हुनुपर्छ,’ उनले भने, ‘स्थानीय तहले एकीकृत बस्ती राख्न मिल्ने जग्गाको व्यवस्था गरिदिनुपर्छ । त्यसपछि आवश्यकता अनुसार प्रदेशले बजेट व्यवस्था गर्छ ।’ पर्वतको दुर्लुङ र लमजुङको पल्लोटारीमा भूगर्भविद्हरुले अध्ययन समेत गरेर फर्किएका छन् । उनीहरुले ती गाउँहरु अन्यत्रै सार्न सुझाएका छन् ।

प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान पनि रकमभन्दा घर निर्माणमा सघाउने पक्षमा सरकार रहेको बताउँछन् । ‘राहत रकम नबढाउने बरु घर निर्माण र औषधी उपचारमा सघाउने तयारी गरेका छौं । बस्ती जोखिमयुक्त भयो भन्ने प्रमाणित भए त्यसलाई सुरक्षित ठाउँमा सार्नुपर्छ,’ उनले भने, ‘ती बस्ती कहाँ लैजाने ? समस्या छ नि ! जग्गा किनेर व्यवस्था गर्दा धेरै खर्च हुने भयो । स्थानीय सरकारले ठाउँ दियो भने एकीकृत बस्ती निर्माणका लागि प्रदेश सरकार तयार छ ।’ घर भत्किएको नजिकै सम्बन्धित धनीकै जग्गामा घर बनाउन चाहे प्रदेश सरकारले १ लाख दिने गरी कार्यविधि तयार गर्न लागिएको मन्त्री चुमानले बताए । संघ सरकारले पनि भूकम्पको मापदण्ड अनुसार प्रतिपरिवार ३ लाख दिने बताएको छ । यद्यपि अहिलेसम्म कार्यान्वयनमा गैसकेको छैन ।

यसपालि पहिरोमा तनहूँमा १६ जनाको मृत्यु भएको छ भने कास्कीमा १० जना, स्याङ्जा र बागलुङमा ९÷९ जना, लमजुङमा ६ जना, गोरखामा ४ जना, नवलपुरमा २ र मुस्ताङमा १ जनाको मृत्यु भएको छ । जेठ मसान्तमा पनि पर्वतको दुर्लुङमा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको थियो । अधिकांश पहिरो झरेको ठाउँमा अहिले पनि झरि परिरहेको कारण जमिन बग्न छोडेको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width