पोखरा महानगरको आफ्नै बहुप्राविधिक शिक्षालय   

रासस
भाद्र १६, २०७७
pokhara metro

पाेखरा, १६ भदौ । पोखरा महानगरपालिकाले बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यसहित ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ स्थापना गरेको छ।

सो शिक्षालयमा यसै वर्षबाट ‘डिप्लोमा इन अटोमोबाइल इञ्जिीनियरिङ’ र ‘डिप्लोमा इन सिभिल इञ्जिीनियरिङ’को तीन वर्षे कोर्षको पठनपाठन सञ्चालन हुनेछ।

अटोमोबाइल इञ्जिीनियरिङसम्बन्धी आवश्यक सीपको अभावमा यहाँका युवा बेरोजगार बस्नुपर्ने बाध्यता रहेको अवस्थामा पोखरा महानगरपालिकाले यस क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यअनुसार अटोमोबाइल इञ्जिीनियरिङको अध्यापन गर्ने भएको हो । प्राविधिक शिक्षा तथा तालीम परिषद्(सिटिइभिटी)बाट सम्बन्धन लिएर वडा नं २९ भण्डारढीकमा स्थापना गरेको बहुप्राविधिक शिक्षालयबाट प्राविधिक विषयमा अध्यापन हुने महानगरले जनाएको छ । पछिल्ला वर्षहरुमा तीव्र विकास भएको क्षेत्रमध्ये अटोमोबाइल पनि एक हो। स्वदेशभित्रै गाडीका पार्टपूर्जा तथा उपकरणको उत्पादन नभए पनि छिमेकी मुलुकबाट आयात हुन्छ।

गाडी तथा यसका पार्टपूर्जाको आयातसँगै यसको मर्मतसम्भारको काम गर्ने अधिकांश जनशक्तिसमेत विदेशी नै छन् । उच्च रोजगारी प्राप्तिको क्षेत्र भए पनि देशभित्र सो कामका दक्ष जनशक्ति नहुँदा ठूलो धनराशी बाहिरिएको छ । सिभिल इञ्जिीनियरिङ अधिकांश प्राविधिक शिक्षालयमा पढाइ हुने भए पनि अटोमोबाइल पढाइ हुने कलेज तथा क्याम्पस नगन्य छन् । इञ्जिीनियरिङ अध्ययन संस्थानअन्तर्गतको पश्चिमाञ्चल क्याम्पसमा केही वर्ष अघि अटोमोबाइल विषय अध्यापन गरिए पनि पनि हाल सोको पठनपाठन हुँदैन।

सिटिइभिटीले विद्यार्थी भर्नाका लागि आवेदन खुलाउने र उत्तीर्ण विद्यार्थीलाई शिक्षालयमा अध्यापन गरिने महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बताए। उनका अनुसार दुवै विषयमा ४८/४८ सिट सङ्ख्या निर्धारण गरिएको र एसइई उत्तीर्ण विद्यार्थीले आवेदन गर्न सक्नेछन् । आगागी दशैँपछि कक्षा शुरु गर्ने तयारी गरिएको छ।

महानगर प्रमुख मानबहादुर जिसीले सबैभन्दा बढी रोजगारी प्राप्तिको क्षेत्रमा सधैं परर्निभर बन्नुपर्ने अवस्थाको अन्त्य गर्न अटोमोबाइल क्षेत्रको जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखिएको बताए। आगामी दिनमा पर्यटन, वन, कृषिलगायत बजारको मागका आधारमा अन्य विषयका कक्षासमेत थप गर्दै योजनाअनुसार बहुप्राविधिक शिक्षालय स्थापना गरिएको उनले बताए।

उनले भने, “सधैं परनिर्भर भएर पैसा बाहिर पठाएर यहाँका मान्छे बेरोजगार बस्नुको अर्थ छैन, अटोमोबाइलवालालाई समेत आफूलाई चाहिने जनशक्ति लगानी गरेर पढाउ भन्ने हो, रोजगारको सुनिश्चिता गरेपछि मान्छे पढ्न आउलान् भन्ने छ।” यस वर्ष पहिलोपटक दई विषयमा प्राविधिक विषय अध्यापन गरिए पनि शिक्षालयको पूर्वाधार निर्माणपछि प्राविधिक धारका कक्षासमेत थप गर्दै शिक्षालयलाई प्राविधिक शैक्षिक संस्थाको रुपमा विकास गर्ने योजनाका साथ महानगरपालिका अघि बढेको प्रमुख जिसीको भनाइ छ।

विद्यार्थी कोटा निर्धारण, छात्रवृत्ति तथा भर्ना शुल्क तय गरिसकिएको महाशाखा प्रमुख आचार्यले बताए। खुलामा देशभरिका विद्यार्थीले न्यून शुल्कमा पढ्न पाउँछन् भने महानगरवासीलाई केही कोटा निर्धारण गरिएको र सोहीअनुसार विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्ने योजना रहेको बताइएको छ।

सिभिल इञ्जिीनियरिङका लागि तीन वर्षको रु एक लाख ९५ हजार शुल्क छ भने अटोमोबाइलको रु एक लाख ७५ हजार तोकिएको छ । आफ्नै पूर्वाधार नबन्दासम्म शुरुआतमा महानगरले जनप्रकाश माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गर्ने योजना बनाएको छ । प्राक्टिकलको लागि पश्चिमाञ्चल क्याम्पससँग सम्झौता गरिएको शिक्षा महाशाखा प्रमुख आचार्यले जानकारी दिए। “पूर्वाधार तयार नहुँदासम्म हामीले जनप्रकाश माविमा पढनपाठन गर्दछौँ, राम्रो ल्याब भएकाले प्राक्टिकल पश्चिमाञ्चल क्याम्पसमा हुन्छ”, उनले भने।

प्राविधिक शिक्षालय सञ्चालनका लागि महानगर प्रमुख जिसीको संयोजकत्वमा छ सदस्यीय सञ्चालक समिति बनेको छ । त्यसैगरी शिक्षालय निर्देशकका लागि विज्ञापन गरिएको छ । महानगरको शहरी योजना आयोगका आर्किटेक्ट बाबुराम भण्डारीको संयोजकत्वमा रहेको निर्देशक सिफारिस समितिले केही दिनमा निर्देशक पदपूर्तिका लागि महानगरमा सिफारिस गर्नेछ ।

अटोमेकानिकल बक्र्स एशोसिएशनका अध्यक्ष सानुमान जलारीले अटोमोबाइलको जनशक्ति जिल्लामा अभाव रहेको बताए। यस विषयको अध्यापनबाट दक्ष र सीपयुक्त जनशक्ति उत्पादन हुने र मागको पूर्ति हुने उनको भनाइ छ । यहाँका अटोमोबाइलको क्षेत्रमा काम गर्नेमध्ये ८० प्रतिशत हाराहारीमा भारतीय कामदार रहेको उनको भनाइ छ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width