२०–३० वर्ष उमेर समूहका बढी संक्रमित

आदर्श समाज सम्वाददाता
भाद्र १५, २०७७
Blood sample tube positive with COVID-19

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार १ सय ३७ जना पुगेको छ । तीमध्ये २० देखि ३० वर्षका सबैभन्दा बढी संक्रमित छन् । सबैभन्दा कम संक्रमितको उमेर समूह ८० देखि ९० रहेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार जारी गरेको एक तथ्यांक अनुसार प्रदेशमा कुल संक्रमितमध्ये झण्डै ८ सय जना संक्रमितहरु २० देखि ३० वर्ष उमेर समूहका हुन् । आइतबार साँझसम्म सो उमेर समूहका ७ सय ९६ जना संक्रमित भएका हुन् ।

त्यसपछि उच्च जोखिममा रहेको उमेर समूह क्रमशः ३० देखि ४० वर्षसम्म र ४० देखि ५० वर्षसम्म रहेको छ । जसमा ३० देखि ४० सम्मका ५ सय ९८ जना र ४० देखि ५० वर्षसम्मका २ सय ७३ जना संक्रमित भइसकेका छन् ।

निर्देशनालयका अनुसार जन्मेदेखि १० वर्षसम्मका ४५ जना, १० देखि २० वर्षसम्मका १ सय ८४ जना, ५० देखि ६० सम्मका १ सय ५३ जना, ६० देखि ७० वर्षसम्मका ५३ जना, ७० देखि ८० वर्षसम्मका १२ जना तथा ८० देखि ९० वर्षसम्मका ८ जना मात्र रहेका छन् ।

प्रदेशमा विभिन्न १५ अस्पतालमा गरी कुल १ सय ७५ वटा आईसीयू र ५३ वटा भेन्टिलेटर उपलब्ध छन् । यस्तै, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा थप ४ वटा भेन्टिलेटर छन् ।

क्वारेन्टिनमा बस्नेहरु तीमध्ये सबैभन्दा बढी कास्कीमा ९८ जना, बागलुङमा ६१ र स्याङ्जामा ६० जना छन् ।

कुल संक्रमितमध्ये हालसम्म १ हजार ६ सय ९३ जना निको भएका छन् । आइतबारमात्र १ जना निको भएका हुन् । प्रदेशमा कुल सक्रिय केस ४ सय १७ छ । प्रदेशमा आइतबारमात्र ४३ जना संक्रमित थपिएका हुन् । हालसम्म संक्रमितमध्ये १३ जनाले ज्यान गुमाएका छन् ।

गण्डकीमा पुरुषको तुलनामा महिला कम संक्रमित छन् । जसमा १६ दशमलब ६३ प्रतिशत मात्र महिला संक्रमित हुँदा पुरुष संक्रमित ८३ दशमलव ३७ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले बताए ।
कास्कीमा कुल संक्रमित ३ सय २६ मध्ये सक्रिय केस १ सय १९ र निको हुने २ सय २ रहेको छ । निको हुने दर ७९ दशमलब ७५ छ । सक्रिय हुने दर १९ दशमलब ६४ र मृत्यु हुने दर शून्य दशमलव ६१ मात्र रहेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले बताए ।

पोखरा महानगरपालिकाका कुल ३३ वध्ये वडा २० र २४ मा हालसम्म संक्रमित भेटिएका छैनन् ।

प्रदेशका ११ जिल्लामध्ये मुस्ताङमा मात्र सक्रिय केस छैनन् ।

Related News

सम्बन्धित समाचार

hero news full width