छमासे रोगले २० बाख्रा मरे

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०७७

दमौली । जिल्लाका ३ वटा नगरपालिकामा छमासेजस्तो लक्षण देखिने रोगले केही दिनयता २० वटा बाख्रा मरेका छन् ।

शुक्लागण्डकीमा १०, भानुमा ९ र व्यासमा १ गरी उक्त संख्यामा बाख्रा मरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, तनहुँले जनाएको छ ।

उक्त रोगबाट शुक्लागण्डकी वडा ६ र २ मा गरी १०, भानु–३ मा ९ र व्यास–११ मा १ वटा गरी २० बाख्रा मरेका हुन् ।

छमासे रोग सरुवा रोग भएपनि पिपिआरजस्तो उच्च सरुवा रोग नभएको व्यासनगरपालिका पशु विकास शाखाका पशु विकास अधिकृत डा मनोज विश्वकर्माले जानकारी दिए ।

उक्त रोग लाग्दा नेपालमै उपचारको लागि डाइग्नोसिस गर्ने प्रविधि नहुँदा समस्या हुने गरेको बताइएको छ ।

डा विश्वकर्माका अनुसार शुरुमा व्यास–११ स्थित रातमाटा टोलमा रहेका एक बाख्रापालक कृषकको बाख्राहरु बिरामी भएपछि गई हेर्दा छमासे रोगको जस्तो लक्षण देखिएको हो ।

बिरामी परेका बाख्रा मर्दै जान थालेपछि यहाँका कृषक चिन्तित भएका छन् । व्यास–१२ गोल्लाका कृषक गेमबहादुर थापाले बाख्राहरु बिरामी हँुदै गएको र रोग नियन्त्रणमा नआउँदा थप चिन्ता थपिएको बताए ।

यहाँका बाख्राहरुमा पखाला लाग्ने, काँम्ने, ज्वरो आउने, पक्षघात हुने, कराउने,पेट फुल्ने, खाना मन नगर्ने जस्ता लक्षण देखिएकोले उक्त रोग भएको आशङ्का गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका वरिष्ठ पशु विकास अधिकृत डाबालकुमार श्रेष्ठले जानकारी दिए ।

रोगी पशुसँग प्रत्यक्ष सम्पर्क भएमा, लसपस भएको आहारा, पानी र घाँसको लगायतको माध्यमबाट पैmलने हुँदा रोगी बाख्रालाई अलग्गै राखेर दाना पानीको व्यवस्था गर्न कृषकहरुलाई सुझाव दिइएको डाश्रेष्ठले बताए ।

जिल्लाभित्र केही बाख्रामा पिपिआर रोग देखिएकोले तत्कालै घट्नास्थलमा पुगि नियन्त्रणमा लिने कार्य भएको उनले जानकारी दिए ।

यसैबीच, बन्दीपुर गाउँपालिकाले १० हजार बाख्रालाई पिपिआर भ्याक्सिन खोप लगाएर सुरक्षित बनाएको छ । गाउँपालिकाभित्रका ६ वटै वडाका टोल टोलमा प्राविधिक खटाएर कृषकका बाख्रालाई उक्त रोग देखिनु भन्दा अगावै भ्याक्सिन दिएको हो ।

बाख्रामा पिपिआर रोग लागेपछि बचाउन नसकिने भएकोले रोग लाग्नु अगावै अग्रिम भ्याक्सिन लगाउने अभियान थालिएको बन्दीपुर गाउँपालिका पशु शाखाका प्रमुख मधुविलास न्यौपानेले बताए ।

गाउँपालिकाको सहयोगमा तीन हजार पाँच सय गाईबस्तुमा खोरेतको भ्याक्सिन र कुकुर र बिरालो गरी दुई सयलाई रेबिज बिरुद्धको सुई लगाएको उनले बताए ।

गाउँपालिकाले १० वटा माउबाख्रा पालेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बोयर बोका वितरण गरेको छ । गाउँपालिकाका २१ जना कृषकलाई ४० हजार बराबरको बोयर बोका वितरण गरिएको हो ।

स्थानीय जातको कुखुरा संरक्षण गर्ने उद्देश्यले ५ जनालाई कुखुरा पालन र ५ जनालाई बंगुर पालनको लागि ५० प्रतिशत अनुदानमा ४० हजारका दरले सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width