अन्नपूर्ण खेलमैदान पुनःडिजाइन

श्रीभद्र पौडेल
भाद्र १४, २०७७
football

हेमजा । खेलमैदान स्तरोन्नतिमा गलत इञ्जिनियरिङ पाइएपछि पुनः डिजाइन हुने भएको छ । ‘एक पालिका एक खेलमैदान’ निर्माणअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको स्थानीय माछापुच्छ्रे माविको खेलमैदान स्तरोन्नतिको लागि पुनः डिजाइन गरिने भएको हो । सोबारेको समाचार आदर्श समाज दैनिकले शुक्रबार प्रथम पृष्ठमा प्रकाशित गरेको थियो । यस्तै, स्थानीय युवाले समेत आवाज उठाउँदैआएका थिए ।

गाउँपालिकाले शुक्रबारसम्म निर्माणकार्यको बचाऊ गर्दैआएकोमा स्थानीय युवाको दबाब एवं सञ्चारमाध्यममा समाचार प्रकाशनपछि डिजाइन फेर्न सहमत भएको हो । यद्यपि पुनः डिजाइनमा व्ययभार थपिने निश्चित छ ।

‘काम गलत भएको रै’छ । युवाले समेत सचेत गराउनुभयो । अब डिजाइन फेरेर काम गछौँ,’ गाउँपालिका अध्यक्ष युवराज कुँवरले भने, ‘आगामी दिनमा पनि गाउँपालिकाका हरेक गतिविधिमा चासो दिई रचनात्मक सुझाव दिन आग्रह गर्दछु ।’

केही दिनदेखि युवाले चेञ्जिङ रुम तथा कार्यक्रम हलले छेकिएर प्याराफिटबाट खेलमैदानको केही भाग हेर्न दर्शकले नसक्नेतर्फ सचेत गराउँदैआएका थिए । ‘गाउँपालिकाको गौरवको आयोजना भएकाले बिग्रार्ने छुट कसैलाई थिएन,’ आवाज उठाउनेमध्येका एक सिम्पालीका शिव सुवेदीले भने, ‘हामीले कसैको विरोध गरेको हैन । गलत काम भइरहेको छ भनेर खबरदारीमात्रै गरेको हो । अबदेखि यस्ता काम नहुनेमा गाउँपालिकाले विश्वास दिलाउनु पर्दछ ।’

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इञ्जिनियर प्रनिश ताम्राकार सहितको टोलीले निर्माणाधीन उक्त खेलमैदानको शनिवार अवलोकन गरेको छ ।

अवलोकनपछि खेल तथा दर्शकमैत्री मैदान बनाउने शिलशिलामा डिजाइन पुनः परिमार्जन गर्ने सहमति भएको वडा २ का अध्यक्ष चूडामणि अधिकारीले जानकारी दिए । प्यारापिटमा बसेर हेर्दा ७ देखि १० प्रतिशत मैदान छेकिने रैछ । त्यो हामीले पनि महसुस ग¥यौं,’ वडाध्यक्ष अधिकारीले भने।

मैदानको गाउँपालिकाका इञ्जिनियर राजन गौतमले डिजाइन गरेका थिए । जसमा प्राविधिक त्रुटि भेटिएको हो । मैदान निर्माणका लागि संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख तथा गाउँपालिकाले ५ लाख बजेट विनियोजन गरेको छ । मैदानको उत्तरपट्टि निर्माण कार्य भइरहेका छन्। जसमा बीच भागमा चेञ्जिङ रुम तथा कार्यक्रम हल निर्माण जारी थियो।

निर्माणाधनि संरचना अनुसार चेञ्जिङ रुम र कार्यक्रम हलले छेकेर चेञ्जिङ रुम नजिकै पूर्वपट्टिको प्याराफिटमा बसी खेल हेर्ने दर्शकले पश्चिम उत्तर क्षेत्रको खेल देख्न नपाउने तथा पश्चिमपट्टिको प्याराफिटमा बसी खेल हेर्ने दर्शकले पूर्वउत्तर क्षेत्रको खेल हेर्न पाउँदैनन् ।

Related News

सम्बन्धित समाचार

hero news full width