गोरखामा मनाइयो भदौमै दसैँ

प्रकाश ढकाल
भाद्र १४, २०७७
Dashain

गोरखा सदरमुकाममा भदौ शुक्लदशमीका दिन टीका लगाउँदै स्थानीय । (फाइल फोटो)

पोखरा । खगोल विज्ञान अनुसार प्रत्येक दिन साढे ३ सेकेण्ड समय घट्दै जान्छ । यो अवस्था निरन्तर रहिरहे ७२ वर्षमा १ दिन ढिलो हुन्छ । नेपालमा २ हजार वर्षदेखि लगातार एउटै पात्रो छ । सोही पात्रोका अनुसार सामाजिक र धार्मिक संस्कार चल्दै आएको छ । हाल कार्यान्वयनमा पात्रो अनुसार नेपाल १ महिना ढिलो भैसकेको दाबी केही जानकारहरुको छ । गोरखामा यसैका कारण १ महिना अघि नै दसैँ मनाइन्छ । गोरखाको सिराञ्चोक गाउँपालिका र गोरखा नगरपालिकाका केही गाउँहरुमा भदौ शुक्लप्रतिपदाको दिनदेखि दसैँ सुरु हुन्छ । अरु ठाउँमा असोज शुक्लप्रतिपदादेखि दसैँ चल्ने भए पनि यी गाउँहरुमा २०६८ सालदेखि भदौमै दसैँ मनाउँदै आइएको छ ।

पर्व सुधार आन्दोलनमा रहेका यी गाउँहरुमा परम्परागत रुपमै नियमित कार्य गरेर दसैँ मनाइने गरिएको हो । यो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ । पञ्चाङ्ग अनुसार असोज शुक्लप्रतिपदादेखि १५ दिन दसैँ मनाउने चलन छ । तर गोरखाका केही गाउँहरुमा शुक्रबार दसैँको टीका लगाइयो । पर्व सुधार गर्नुपर्ने र अहिलेको पात्रो नमिलेको भन्दै उनीहरुले सामान्य समयभन्दा १ महिनाअघि नै दसैँ मनाएका हुन् । विगत ८ वर्षदेखि गोरखामा विजयादशमी आउनुभन्दा १ महिनाअघि नै दसैँ मनाउन थालेका छन् ।

‘पञ्चाङ्ग पात्रो भनेको समय हो । घडीजस्तै पञ्चाङ्गमा समय बताउँदा हामी २६ दिन अघि भैसकेका छौं,’ पर्व सुधार अभियानका अभियन्ता किशोर रेग्मीले भने, ‘दसैँमात्रै होइन, सबै चाडपर्व १ महिनाअघि सार्नुपर्छ । सरकार र दक्षिण एसियाली ज्योतिष महासंघले पनि सुधार गर्नुपर्छ भनेर स्वीकारेको छ । नेपालको पञ्चाङ्ग समितिले चाहिँ त्यो स्वीकारेको छैन ।’ अहिले दसैँ मनाउने गाउँहरुमा अर्को दसैँ मनाउन छोडिसकेको उनले सुनाए ।

‘यी गाउँहरुमा अर्को दसैँ मानिँदैन । खसी बोका काट्ने, टीका लगाउने, माइतीमावली जाने यही दसैँमा मात्रै हो । अर्को दसैँमा त्यो हुँदैन,’ उनी भन्छन्, ‘कोभिडका कारण यो वर्ष पहिलेजस्तो रौनक भएन । तर असोजमा मनाइने दसैँजस्तै यो दसैँमा पनि रमाइलो छ । अर्को दसैँ वहाँहरुले बहिष्कार गरिसक्नुभएको छ ।’ विज्ञान र परम्परालाई समेत हेरेर दसैँ एक महिनाअघि सार्नुपर्ने अभियन्ताहरुको दाबी छ । पात्रो सुधार गर्न २०६७ सालमा मन्त्रिपरिषद्मै प्रस्ताव पनि लगिएको थियो । उनीहरुले चैत महिना हटाउन पनि सुझाएका छन् । यसबारे निर्णय भैसकेको छैन ।

पर्व सुधारको अभियानमा लाग्दै आएका इञ्जिनियर हरिनारायण मल्लको अगुवाइमा एक दशकदेखि गोरखाका विभिन्न ठाउँका बासिन्दाले वर्षेनी सामूहिक रुपमा भेला भएर विजयादशमी आउनु एक महिनाअघि नै दसैँ मनाउँदै आएका छन् । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई पनि उनीहरुले अहिले नै टीका लगाइदिन्थे । मन्त्रिपरिषद्को त्यो निर्णय समेतलाई आधार मानेर १ महिनाअघि दसैँ मनाउन थालिएको पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिका सदस्यहरुको भनाइ छ । पञ्चाङ्ग निर्णायक समिति अध्यक्ष प्राडा रामचन्द्र गौतम भने लहडको होहल्ला मात्रै फैलाइएको बताउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width