पाल्पामा थपियो निषेधाज्ञा

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७७
Palpa CDO office

पाल्पा   । पाल्पामा एक सातासम्म निषेधाज्ञा अवधि बढाइएको छ । भाद्र १९ गते राति १२ बजेसम्म जिल्लाभर लागू हुने गरी निषेधको आदेश जारी गरिएको हो ।

कोभिड–१९ संक्रमण बढ्दो क्रममा रहेकोले जिल्ला प्रशासन कार्यालय पाल्पाले शुक्रबार सूचना जारी गरी एक साताका लागि निषेधाज्ञा आदेश थप गरिएको जनाएको छ ।

शुक्रबार नै सोही विषयमा निर्णय गर्न जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र (डीसिसिएमसी)को बैठक बसेको स्रोतले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारीसहितको सिसिएमसी बैठकमा निषेधाज्ञा एक साता लम्ब्याउन र नाकामा कडाइ गर्न सिफारिस गरेको थियो ।

यसअघि भदौ ५ गते राति १२ बजेदेखि १२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको थियो । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि सञ्चालन गर्न पाइने छैन ।

यस समयमा सार्वजनिक तथा निजी सवारीसाधन बाहेक एम्बुलेन्स, शववाहन, खाद्यसामग्री, औषधी, दाना, पानी, दूध, फलफूल, ग्याँस, पेट्रोलियम पदार्थ बोकेको सवारीसाधन तथा झण्डाबाहक र कुटनीतिक नियोगका सवारी साधन सुचारु रहनेछन् ।

स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानी, एटीएम काउन्टर, हुलाक सेवा बाहेक सबै सरकारी, सार्वजनिक, बैंक तथा बित्तिय संस्थाका सेवाहरू बन्द रहनेछन् ।

होटल तथा रेष्टुरेन्ट, व्यूटी पार्लर, सैलुन, जीमखाना बन्द रहने तर खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी र अन्य पसलहरू बिहान ७ बजेदेखि ११ बजेसम्म खुला रहनेछन् ।

यस्तै, एम्बुलेन्समा चालकबाहेक बिरामी र एकजना कुरुवा तथा अन्य माथि उल्लेखित सामग्री ढुवानी गर्ने साधनमा चालक र सहचालकमात्र रहने र यस्ता सवारी साधनहरू गन्तव्यमा पुगेर मात्र रोकिने व्यवस्था गर्नुपर्नेछ ।

यसका साथै अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कदा अनिवार्य रूपमा मास्कको प्रयोग र स्वास्थ्य सुरक्षा मापदण्डको पालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width