‘नेपाल पुलिस’ एप सार्वजनिक

आदर्श समाज सम्वाददाता
भाद्र १२, २०७७
police apps

पोखरा  । जिल्ला प्रहरी कार्यालय कास्कीले गण्डकी प्रदेशमै पहिलोपटक ‘नेपाल पुलिस’ मोवाइल एप सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीको कामकारबाही समयानुकूल प्रविधिमैत्री सेवारुपमा संस्थागत विकास गर्ने उद्देश्यअनुरुप सो एप बिहीबार पत्रकार सम्मेलन गरी कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले सार्वजनिक गरेका हुन् ।

सामुदायका आपराधिक क्रियाकलाप, घटना तथा सूचना छिटोछरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधीलाई तत्काल नियन्त्रण गर्न सो एपले सघाउने उनको विश्वास छ ।

एन्ड्रोइड र ‘आइफोन दुवैमा सञ्चालन हुने एप डाउनलोडपछि सर्वसाधारणले घटनाबारे आफू रहेकै स्थानबाट प्रहरीलाई तत्कालै जानकारी गराउन सक्ने र प्रहरी कार्यालयसम्म आउनुपर्ने बाध्यता नहुने उनले बताए ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्राविधिक प्रहरी निरीक्षक गजेन्द्र आचार्यले मोवाइल एपसम्बन्धी जानकारी दिँदै यसको संचालन, उद्देश्य र कार्यान्वयन सम्बन्धमा प्रष्ट पारेका थिए ।

ज्यानसम्बन्धी कसूर, सवारी दुर्घटना, ठगी, यौनजन्य अपराध, लागुऔषध, मानिस हराएको, घरेलु हिंसा, लुटपाट चोरी, हातहतियार तथा विष्फोटक पदार्थसम्वन्धी जानकारी लिन प्रहरीलाई सो माध्यमबाट रिर्पोटिङमा समेत सहज हुने व्यवस्था गरिएको छ ।

एसमा कोभिड–१९ अपडेट, आपराधिक घटनाको विवरण, घटना दुर्घटना, आपत्कालीन नम्बरहरु, समाचार, गाइडलाइन, एफएम, आफू नजिकैको प्रहरी कार्यालयबारे जानकारी समेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले बताए । उनका अनुसार सो एप प्ले स्टोरमा गई डाउन गर्न सकिन्छ । सूचना दिँदा सूचकले आफ्नो परिचय लुकाउन लगइन नगरीकन पनि दिन सकिने सुविधा छ ।

Related News

सम्बन्धित समाचार

hero news full width