डब्लूएचओ नेपाल प्रतिनिधि भन्छन्: केसहरू निकै नै बढ्नेवाला छ

रासस
भाद्र १०, २०७७
main news ko ma photo

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को नेपालस्थित कार्यालयका प्रतिनिधि डा जोस भ्यानडिलिएरले कोरोना भाइरसबाट बढी उमेरका व्यक्तिमा सङ्क्रमण बढेसँगै मृत्यु दर पनि बढ्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा प्रेषित गरेको अन्तरवार्तामा उनले अहिले नेपालमा देशैभरी धेरै कोरोनाका केसहरू देखिन थालेको र बढी उमेरका मानिसमा थप वृद्धि हुने सम्भावना रहेको उल्लेख गरे ।

“केही महिना अघि विदेशबाट फर्किएकामा मात्र केस थियो । फर्किनेहरूको सङ्ख्या घटेकाले केस पनि घटेको देखिएको थियो । तर, अहिले सङ्क्रमितको सङ्ख्या बढेको छ । यो शुरुआत मात्रै हो । केसहरू निकै नै बढ्नेवाला छ । परिस्थिति अझै नराम्रो हुनेवाला छ”, उनले भने ।

यसो भन्दै गर्दा अन्य धेरै केस देखिएका मुलुकजस्तै ब्राजिलमा पनि समग्र जनसङ्ख्याको एकदेखि दुई प्रतिशतलाई मात्र सङ्क्रमण देखिने अवगत गराउँदै डा भ्यानडिलिएरले नेपाल अहिले त्यो अवस्थामा पुगि नसकेको बताए । नेपालमा अहिले शून्य दशमलव एक प्रतिशतको हाराहारीमा मात्र सङ्क्रमण भएको छ । उनले भने, “यसबाट मैले के भन्न खोजेको हो भने केसको सङ्ख्या बढे पनि आत्तिहाल्नुपर्ने अवस्था छैन । अन्ततः सङ्क्रमण हुनेको सङ्ख्या पनि समग्र जनसङ्ख्याकोे तुलनामा कम नै हुनेवाला छ । हाम्रो वरिपरी र अहिले टोल छिमेकमा केस देखियो भन्दैमा सबैले आत्तिनु पर्देन । किनभने सबै जना सङ्क्रमित हुने भन्ने होइन ।”

केसको सङ्ख्या बढिरहेको र सङ्क्रमणको जोखिम पनि बढिरहे पनि थौरै जनसङ्ख्यालाई मात्र सङ्क्रमण देखिने र अधिकांश व्यक्तिलाई मन्द लक्षणमात्र देखिनुका साथै घातक नहुने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा विश्व स्वास्थ्य सङ्गठनले कोरोना रोकथाम र नियन्त्रणमा नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताउँदै उहाँले सहकर्मीहरू सरकारी अधिकृतसँग हातमा हात मिलाएर काम गरिरहेको, कोरोनाको प्रतिकार्यका लागि तयारी, निगरानी र तथ्याङ्क सङ्कलन गर्न, प्रयोगशालाको क्षमता र गुणस्तरमा सहयोग गरिहेको जानकारी गराए । साथै सङ्घीय सरकारलाई नीति निर्माणमा सहयोग गर्नुका साथै प्रादेशिक सरकारसँग पनि काम गरिरहेको उनले बताए ।

कोरोना नियन्त्रण र रोकथामका लागि नेपाललाई तीन तहका सरकाबीच समन्वय र सहकार्यको चुनौती रहेको बताउँदै डा भ्यानडिलिएरले कोरोना सङ्क्रमित र सम्पर्कमा रहेकाको कट््याक ट्रेसिङमा व्यक्तिको खोजी कार्य गर्न स्थानीय सरकारको महत्वपर्ण भूमिका हुने उदाहरण प्रस्तुत गरे । साथै हाल राज्यको समग्र ध्यान कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रित भएका बेला सुत्केरी, बालबालिका, दीर्घरोगी र अन्य बिरामीका उपचारमा पनि आवश्यक व्यवस्थापन गर्न चुनौती रहेको उनको धारणा थियो ।

स्वास्थ्य सेवाको सहज सुलभ पहुँच र गुणस्तर सुधार्नुपर्ने अवस्था रहेको बताउँदै उनले कोरोना रोकथाम र नियन्त्रणमा आम मानिसको व्यवहार परिवर्तन गर्न पनि चुनौती रहेको विचार व्यक्त गरे ।

नेपालले धेरै प्रकारका प्रकोप देखेको र पुनः जीवन शुरु गर्न इच्छा शक्ति नेपालीमा रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा स्वयम्सेवीको सहयोग पनि लिन सक्नुपर्ने सुझाव दिए ।

कोरोना नियन्त्रणमा सरकारले निजी स्वास्थ्य संस्थाको पनि सहयोग लिनुपर्ने र निजी क्षेत्रले पनि आफ्नो स्रोत, साधन र जनशक्ति परिचालन गरी सहयोग गर्नुपर्ने दायित्व पूरा गर्नुपर्ने उनको धारणा थियो ।

८५५ कोरोना संक्रमित थपिए

नेपालमा मंगलबार ८ सय ५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मंगलबार देशभरमा थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। यो सहित कुल संक्रमित संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

उनका अनुसार पछिल्लो २४ घण्टामा जम्मा ११ हजार ३ सय २७ पीसीआर परीक्षण गरिएको थियो ।

यस्तै, थप ३ सय १३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । साथै यो सहित नेपालमा कोरोनामुक्त हुनेको संख्या कुल १९ हजार १ सय १९ पुगेको छ।

मुलुकभर हाल १४ हजार २ सय ५० जना आइसोलेशनमा रहेका र त्यसमध्ये होम आइसोलेसनमा ५ हजार ६ सय ६९ एवं संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ८१ जना रहेको मन्त्रलयले जनाएको छ । त्यस्तै मुलुकभरका क्यारेन्टिनहरुमा हाल १० हजार ४ सय ५३ जना छन् ।

पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । यसरी कुल मृतक संख्या १ सय ६४ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width