आत्मनिर्भर पछ्याउँदै महिला

सविन लामिछाने
भाद्र १०, २०७७
tanahun female

तनहुँ । भीमाद नगरपालिका वडा ७ निवासी सुस्मिता थापा घरघरै अगरबत्ती बेच्न पुग्थिन्। काठमाडौंबाट होलसेलमा किनेका अगरबत्ती लिएर उनी बेच्न हिड्थिन् । त्यहीबीचमा उनको टोलमा एउटा महिला समूह गठन भयो। त्यो समूहमा सुस्मिता पनि जोडिइन् । अनि जीवनले नयाँ मोड लियो।

काठमाडांैबाट मगाएका अबरबत्ती बेच्न घरघरै जाने सुस्मिताले घरमै अगरबत्ती बनाउने र बेच्न सुरु गरिन् । मानिसहरु अगरबत्ती किन्न उनको पसल आउन थाले। आम्दानीको स्रोत बन्यो, अगरबत्ती व्यवसाय। बाह्य जिल्लाबाट अगरबत्ती मगाउनु पनि परेन । यो व्यवसाय गर्न उनलाई उक्त समूहले मद्दत गर्‍यो ।

‘समूहमा बसेपछि अरुले उत्पादन गरेको अगरबत्ती बेच्दै हिडने हामीलाई व्यवसाय गर्नुपर्छ भनेर हौसला दियो। अहिले पनि त्यही व्यवसाय छ’, सुस्मिताले विगत सम्झदै भनिन्, ‘दुईचार रुपैयाँ देख्न पाइँदैनथ्यो। जीवनमा घर व्यवहार चलाउन मुस्किल थियो। तर अहिले घर बनाउन सकियो। छोराछोरी पढाउन सकियो।’

२० रुपैयाँबाट समूहमा बचत गर्न सिकेकी सुस्मिताले अहिले मासिक तीन सय रुपैयाँ बचत गर्दै आएकी छिन्। समूहमा बचत पनि थपिँदै गएको छ । एक जनाको भागमा १९ हजारभन्दा बढी रकम बचत भएको छ।

‘आम्दानीको स्रोत थिएन। महिनाको २० रुपैयाँ उठाउन पनि सापट खोज्नुपर्ने अवस्था थियो’, सुस्मिताले भनिन्, ‘तर विस्तारै आम्दानीको स्रोत भेटिदै गयो। बचत गर्ने दर पनि बढ्यो। अहिले महिनाको तीन सय रुपैयाँ बचत गर्दै आएकी छु।’
गाउँमा गठन भएका अति विपन्न गरिब महिलाको समूहमा आवद्ध भएका महिलाहरुको जीवनस्तरमा परिवर्तन आएको छ। विसं २०७० सालमा गाउँमा उक्त समूह गठन भएपछि समूहमा आवद्धहरुको जीवनस्तरमा परिवर्तन आएको पाइएको छ। ‘घरमा साँझबिहान खानको लागि मात्रै तरकारी खेती गर्ने चलन थियो। समूहमा बसेपछि बिक्री गरेर आम्दानी गर्न सिकियो। त्यसपछि आम्दानी हुँदै गयो’, सोही वडाको सिस्नेकी बिमला भण्डारीले भनिन्, ‘वेमौसमी तरकारी खेती गरेर आएको आम्दानी समूहमा बचत गर्छु। तरकारीको मल, बीउ किन्नुपरे सहुलियतमा ऋण लैजान्छु।’

सिस्नेरी, रातढुङगा, पुरानो बजारमा तीन ओटा समूह छन्। एउटा समूहमा कम्तीमा १० जना सदस्य छन्। अहिले लकडाउनले गर्दा मासिक रुपमा बैठक बस्न सकिएको छैन। तर पनि दुई महिनाको अन्तरमा समूहमा बैठक बस्ने, बचत गर्ने र ऋण परिचलानको काम चलिरहेको छ। ‘लकडाउनले गर्दा प्रभावित भएको समूहको काम विस्तारै सुरु गरेका छौं’, समूह अध्यक्ष अस्मिता सुवेदीले भनिन्, ‘समूहमा सबैले महिनामा पैसा उठाउँछौ, अनि प्रत्येक महिना एउटालाई पैसा चलाउन दिन्छौ ।’

उनका भनिन,“१० जनाको सदस्यमा प्रत्येकले पालोपालो गरेर समूहको पैसा चलाउने गछौ। यसलाई ढुकुटी खेल्ने पनि भन्न सकिन्छ ।”

जसको पहुँच छैन, त्यस्ता समुदायका व्यक्तिलाई आर्थिक सवलीकरण गर्न यो समूह गठन भएको हो । ती समूहमार्फत सानो–सानो रकम बचत गरेर आयआर्जनका लागि ऋण परिचालन गरिन्छ’, सुवेदी भनिन्, ‘ अहिले गरिब विपन्न परिवारको जीविकोपार्जनमा सुधार आएको छ।’

Related News

सम्बन्धित समाचार

hero news full width