महाकवि देवकोटा सङ्ग्रहालयलाई बजेट अभाव नहुने

रासस
भाद्र ८, २०७७
maxresdefault

काठमाडौँ, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित ‘कविकुञ्ज’ मा स्थापना हुने ‘महाकवि देवकोटा सङ्ग्रहालय’ को विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउन नेपाल प्रज्ञा-प्रतिष्ठानलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई प्रधानमन्त्री ओलीले उक्त आग्रह गरी कोरोना महामारीका कारण तत्काल बजेट निकासा नभए पनि सो कार्यक्रमलाई स्रोत अभाव नहुने वचन दिए । भेटमा साथमै रहेका अर्थमन्त्री डा युवराज खतिवडालाई प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवकै परियोजनालाई आवश्यक बजेटको व्यवस्था गर्न निर्देशन दिएको कुलपति उप्रेतीले जानकारी दिए ।

विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महाकवि देवकोटाको जीर्ण जन्मघरलाई सङ्ग्रहालय बनाइने घोषणा गरेका थियो । नेपाल सरकारको निर्णयानुसार कानूनतः १२ आना एक दाम क्षेत्रफलको जग्गाको हक प्रज्ञा–प्रतिष्ठानलाई हस्तान्तरण भइसकेको छ । सङ्ग्रहालय चार तलाको हुने छ । जीर्ण रहेको उक्त घरलाई प्रधानमन्त्रीको इच्छानुसार पुरानै ढाँचामा सबलीकरण गरी निर्माण गर्नका लागि विज्ञसँग परामर्श गरी प्रतिष्ठानले डिपिआर बनाउने भएको छ ।

कुलपति उपे्रतीले भने “भवनमा देवकोटाको समग्र इतिहास झल्काउने कोशिश गरिनेछ । सङ्ग्रहालयको भुइँतलामा श्रव्यदृश्य कक्ष हुनेछ जहाँ प्रवेश गर्ने जो कोहीले पनि महाकवि देवकोटालाई सशरीर पाएको अनुभूति गर्न सक्नेछन् । भवनको दोस्रो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका साम्रगी रहनेछन् । देवकोटाले प्रयोग गरेका खाट, पानी खाने भाँडो, चुरोटको धुलो राख्ने एस्ट्रे, विभिन्न चित्र, मन्त्री भएका बेलाको दस्तावेज, चित्र, तस्वीर, उनले प्रयोग गरेका वस्त्र तथा जुत्ता आदि हुनेछन् ।

सङ्ग्रहालयको तेस्रो तलामा महाकवि देवकोटाले लेखेको साहित्यिक सिर्जनाका पाण्डुलिपी र विदेशी लेखकले लेखेका पुस्तक माइक्रोफिल्मिङ गरी अध्यावधिक गरिनेछ तथा चौथो तलामा देशविदेशका आगन्तुुक आएर छलफल तथा अन्तरक्रिया गर्न सक्नेछन् । कुलपति उप्रेतीले सरकारबाट आवश्यक बजेटको व्यवस्था हुनासाथ युद्धस्तरमा दुई वर्षभित्र प्रयोगमा ल्याउने गरी सङ्ग्रहालय निर्माणलाई अगाडि बढाइने बताए । स्थानीय डिल्लीबजारमा जन्मिएका देवकोटा पछि मैतीदेवीमा सरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width