तीजको दिन शुक्रबार पोखरा वृद्धाश्रममा तीजेभाखामा मादलु तालमा नाचगान गर्दै वृद्ध महिलाहरु । तस्वीर: विजय नेपाल/आदर्श समाज ।
पोखरा । पोखरा वृद्धाश्रममा ११ वर्षदेखि आश्रित छन्, बाटुली बराल । २०१० सालमा जन्मेकी उनको १३ वर्षकै उमेरमा स्याङ्जाको आरुखर्ककी उनको पोखरा ड्यामसाइडका उमनाथ बरालसँग बिहे भयो । जीवन हाँसीखुसी नै थियो । समयचक्रले बाबुआमा बिते । श्रीमान्ले एक्लै पारेर छाडेर गए । अहिले ६७ वर्षकी बाटुलीको घर भनेकै वृद्धाश्रम हो । कसरी यहाँ आइपुग्नुभयो ? यो जिज्ञासामा भने उनी त्यति खुल्न चाहिनन् । तीजको दिन नाचगानमा मन भुलाउन कोशिस गरेकी उनको पावरवाला चस्माभित्रैबाट आँसु टिल्पिलाउन थालेपछि भनिन्, ‘कहानी लामो छ । पछि भनुँला ।’
आफन्त कोही नभएपछि भतिजाले बोलाएर कहिलेकाहीँ तीजको बेला लैजाने गरेको उनले स्मरण गरिन् । अहिले भने कोरोना डरले वृद्धाश्रमको गेटबाहिर पनि जान पाइनन् । कोही लिन आउन सकेनन् ।
रमादेवी पौडेल ६५ वर्षकी भइन् । उनको घर पोखरा ३३, भरतपोखरी हो । वृद्धाश्रमबाट घर नजिकै पर्छ । तैपनि ४ वर्षदेखि उनका २ छोरा र १ छोरीसँगै वृद्धाश्रमलाई घर मान्दै आएकी छन् । श्रीमानले छोडेर गएपछि ३ जना (सबै बौधिक अपाङ्गता भएका) को स्याहारसुसारमा समस्या भएपछि उनी वृद्धाश्रम आएको बताइन्। विगतका हरेक तीजमा माइती जान्थिन् । उनको माइत पोखरा बिरौटामा पर्दछ । तर कोरोना महामारीसँगै कास्कीमा जारी निषेधाज्ञाले बाहिर निस्कन नपाएपछि वृद्धाश्रममै नाचगान गरी ब्रत बसेर तीज मनाएको बताइन् । ‘जीवन दुःखै दुःख रहेछ । भोग्दै गएपछि थाहा हुँदोरहेछ । अब यही नै हामीहरुको लागि घर हो,’ लामो सुस्केरा हाल्दै रमादेवीले भनिन्, ‘तीज पर्वले केही क्षणको लागि भए पनि दुःख बिर्साउँछ । यस्तै मेला पर्वमा नाँच्ने गाउने गर्छु ।’
बाटुली र रमादेवी जस्तै विभिन्न कारणवश यहाँ आश्रय लिनेहरु धेरै छन् । स्याहारकर्ता तथा कर्मचारी ७ जना सहित ५५ जनाको लागि यहाँ हरेक छाक भान्सा उतार्नुपर्छ । कुल ५५ मध्ये ४३ जना महिलामात्रै छन् । आश्रममा बौद्धिक अपाङ्गता भएका ४ जना व्यक्ति छन् । आफन्त र नाताका नजिकका सदस्यको निमन्त्रणामा तीजमा जाने गरे पनि अधिकांशको भने यही तीज बित्ने गर्छ ।
सहरको कोलाहलभन्दा यहाँको वातावरण नितान्त फरक वातावरण छ । नजिकै सेती नदी सुसाउँदै बग्छ । उमेर ढल्किसकेका अधिकांश ज्येष्ठ नागरिक । आफन्त कोही नभएपछि बेसहारा । मनमा अनेकन तर्कनाले उनीहरुमा चाडपर्वले उतिसाह्रो नछुदो रहेछ । जीवनप्रतिको बुझाइ फरक छ । वर्षदिनपछि आउने चेलीहरुको पर्व । तैपनि मनको पिर एकातिर पन्छाएर पुरानो भाखा छोप्दै मादलु तालमा वृद्ध महिलाहरु शुक्रबार तीजको दिन नाचिरहेको भेटियो । बजारका चल्ती तीजका आधुनिक भाखाभन्दा पुरानै लय र भाखामा सबैजसोले गीतको टुक्का निकाल्छन् । गाउँछन् । पालैपालो नाच्छन् । मानौं एकछिन भए पनि मनको भारी बिसाउँछन् ।
अघिल्लो दिन दर खाएपछि तीज वृद्ध आमाहरुलाई मनोरञ्जन दिन तीजको दिन रमाइलो नाचगान व्यवस्था गरिएको वृद्धाश्रमकी कर्मचारी जमुनादेवी ढकालले बताइन् । ‘वर्षदिनको तीज हो । कोरोनाको डरले बाहिर जान पाइएन । म पनि यसपालि माइत गइनँ । आमाहरुलाई नचाउन मादल बजाएर साथ दिएकी हुँ,’ उनले भनिन्, ‘यसरी गाउँदा बगाउँदा उहाँहरुलाई पनि न्यास्रो नहुने र दुःख बिसाउन सहज हुने भएकोले नाचगान गरिएको हो ।’
पोखरा महानगरपालिका वडा १७, सीतापाइलास्थित पोखरा वृद्धाश्रम २०५३ सालमा स्थापना भएको हो । सडकपेटीमा बेवारिसे अवस्था, घरमा हेलत्व वा अन्य कारणवश यहाँ आश्रित हुनेहरुको स्याहार तथा खाना खर्चमा दैनिक २५ हजार बराबरको खर्च हुने गरेको वृद्धाश्रमका कार्यबाहक अध्यक्ष कुसुमकेशव पराजुली बताउँछन् । ‘वृद्धाश्रम अहिलेसम्म दाताकै भरमा चलेको हो । सरकारी निकायबाट खासै सहयोग छैन,’ उनले भने, ‘अहिले कोरोना कारण सहयोग गर्न आउनेहरुको संख्यामा पनि कमी आएको छ ।’
तैपनि आश्रितहरुको लागि सेवासुश्रुषामा गुणस्तरमा कुनै पनि कसर बाँकी नराखेको उनको दाबी छ । ‘प्रदेशकै नमुना वृद्धाश्रम बनाउने हाम्रो ध्येय हो । स्वास्थ्य जाँचका लागि छिट्टै यही ठाउँमा मेडिक्लीनिक संचालन गर्ने तयारीमा थियौं, बिल्डिङ तयार भैसकेको छ । सबैजसो गरी ९० प्रतिशत तयारी पूरा भइ रोकिएको हो,’ उनले भने । आश्रित वृद्धवृद्धाहरुको नियमित स्वास्थ्यजाँचका लागि मणिपाल शिक्षण अस्पतालबाट १५/१५ दिनमा चिकित्सक आउने गरेकोमा लकडाउन तथा निषेधाज्ञाका कारण रोकिएको छ । त्यसअघि विभिन्न संघसंस्थाले बरोबर यहाँ पुगेर स्वास्थ्य शिविर चलाउनुका साथै ज्येष्ठ नागरिकसँग सँगै खानाको व्यवस्था मिलाउने गर्दथे । अहिले कोही कसैले सहयोग गर्न चाहे सम्पर्क गरेर वृद्धाश्रमको गेटसम्म छोड्न सकिने व्यवस्था मिलाइएको छ । बाहिरबाट प्रवेश गर्ने मानिसले अनिवार्य मास्क लगाउनुपर्ने, भित्र प्रवेश गर्नुअघि सेनिटाइजर लगाएर नामठेगाना टिपाउनुपर्ने व्यवस्था मिलाइएको छ ।
पोखरा वृद्धाश्रम व्यवस्थापन समिति सदस्य श्रीनाथ आचार्यले दाताको सहयोगले आफूहरुलाई वृद्धाश्रम संचालनमा हौसला मिलेको बताए । उनले आफ्नो पूरापूर समय निःस्वार्थ रुपमा वृद्ध बाबुआमाको सेवामा लगाउने गरेको बताए । त्यसवापत् उनले कुनै तलबभत्ता बुझ्दैनन् । उनले भने, ‘घरमा आफ्ना दुई बुबाआमालाई समेत स्याहारसुसारमा सेवा पुर्याउन नसक्ने हाम्रो समाजमा विभिन्न वर्ग र समाजबाट आएको वृद्ध आमाबाबालाई पालनपोषण चुनौतीपूर्ण भए पनि सहयोगीबाट वृद्धाश्रम सञ्चालन गर्न हौसला मिलेको छ ।’ उनका अनुसार वृद्धाश्रममा रहेका ८५ प्रतिशतले दैनिक विभिन्न रोगका औषधि सेवन गर्छन् । कोभिड–१९ महामारीबीच सरकारले आह्वान गरेको १ सय २० दिने लकडाउनको बेला औषधि समेत समस्या थियो । पछि सहयोगीदाताबाट औषधि उपलब्ध भयो ।
कुुल १३ रोपनी ५ आना जग्गामा सरकारीस्तर, विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगबाट पाँच करोडभन्दा बढीको लागतमा आवश्यक भौतिक पूर्वाधार तयार भइसकेको छ । यहाँ अपाङ्गमैत्री भवन पनि छ । १२ जनासम्मलाई त्यसमा राख्न सकिन्छ । आफूहरुलाई अहिले जग्गा अभाव रहेको व्यवस्थापन समितिले जनाएको छ । ‘सबै मापदण्ड पूरा हुने गरी आश्रमको लागि न्यूनतम ५० रोपनी चाहिन्छ । सरकारले जग्गा उपलब्ध गरायो भने प्रदेशस्तरीय नमुना ज्येष्ठ नागरिक आश्रम बनाउन सक्छौं,’ वृद्धाश्रमका कावा अध्यक्ष कुसुमकेशव पराजुली भन्छन् ।
पराजुलीकै बुवा ऋषिकेशव पराजुलीको पहलमा यस क्षेत्रमै पहिलो पटक वृद्धाश्रम खोलिएको हो । लामो समय निःस्वार्थ सेवा गरेका उनको शेषपछि छोरा वसन्तकेशव पराजुलीले विरासत धाने । उनको पनि गत वर्ष पुसमा निधनपछि व्यवस्थापन समिति सचिव समेत रहेका भाइ कुसुमकेशवको काँधमा सो जिम्मा आइपुगेको छ ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
hero news full width
मुख्य समाचार
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
फागुन १, २०८१