निरश बन्यो तीज

सविन लामिछाने
भाद्र ६, २०७७
Teej

लाउन्नँ म त्यो जापानी सारी, टेबुलमा काइँयो र ऐना छ
बस्न पर्‍यो मन मारी मारी, सोचे झैँ रहिनछ जिन्दगी

यतिबेला धेरै दिदीबहिनी घरमै बसेर नाचिरहेका छन् । हिन्दू महिलाले भव्य रुपमा मनाउने तीज पर्व यस वर्ष कोरोनाका कारण साँच्चै नसोचेको भइदियो । महिना दिनअघि तीजेगीत घन्काउँदै रातो साडीमा छमछम नाच्दै सङ्गीतमय बन्ने वातावरण अहिले भने घरभित्र सीमित बन्यो ।

पोखरा–८, न्यूरोडकी कस्मेटिक पसल सञ्चालक सन्तु पौडेलले बिहे गरेको १८ वर्षमा पहिलो चोटि माइती जान नपाएकामा नरमाइलो लागेको बताइन् । “मेरो माइती स्याङ्जा हो, सधैँ छोराछोरीसहित दर खाने दिनको अघिल्लो दिन माइत पुग्थेँ ,७० वर्ष पुगेकी आमा नातिनातिनाका साथ देख्दा आमा खुशी हुनुहुन्थ्यो, अहिले फोनबाट कुराकानी गरेर कोरोनाका कारण आउन नपाएको जानकारी गराएँ, आमाले नरमाइलो मान्नुभयो, बूढी भएकी आमाको काखमा तीजको दर खाएर मनाउने धोको यसपालि अधुरो भयो ।” उनले कोरोना जित्ने सके अर्को वर्ष माइतीको आँगनमा पुग्ने रहर पूरा हुने विश्वास व्यक्त गरिन् ।

यस्तै, लोकगायिका हरिदेवी कोइराला यस वर्षको तीज पर्व दिदीबहिनी जमघटविहीन भएको बताइन् । उनी सम्झिन्छिन्, “अघिका वर्षहरुमा महिना दिनअघिदेखि नै तीज विशेष कार्यक्रमका निम्ता हुन्थे, एकै दिन चारपाँच वटा कार्यक्रममा भ्याइनभ्याइ हुन्थ्यो तर यस वर्ष कोरोनाका कारण सुनसान भयो । घरभित्रै आफन्त, इष्टमित्रबाट पनि भौतिक दूरी कायम गरेर बस्नुपर्ने अवस्था आयो ।”

तीजका दरमा खीर, चाम्रे, तामा, आलु, घिरौँला, काँक्राको अचार, दहीलगायत परिकार समावेश हुने गरिए पनि पछिल्लो समय भने व्यक्तिको रुचि र स्वादअनुसार विभिन्न खालका परिकार तीजका दरमा समावेश हुन थालेको उनको भनाइ छ ।

उनले तीजका मौलिक भाकाको अस्तित्व नै सङ्कटमा पर्ने थालेकाले यसको महत्वलाई सबै मिलेर बचाउनुपर्ने धारणा राखिन । उनको ‘माइती रमाइलो…’ बोलको तीजगीत सङ्ग्रह प्रकाशित छ भने पछिल्लो तीजगीत ‘जान्न म त त्यो घर…’ भर्खरै आएको छ ।

सञ्चारकर्मी एवम् लोकगायिका शान्ति गुरुङले कोरोनाका कारण उत्पन्न असहज परिस्थितिले यस वर्षको तीज निरश बनाएको बताइन् । दिदीबहिनीको महान् पर्व कोरानाले निरस बनाए पनि निराश भएर बस्न नहुने उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width