कोरोना आशंकामा सामाजिक बहिष्कार

सविन लामिछाने
भाद्र ५, २०७७
covid 19 corona banner

दमौली । भानु नगरपालिकाका एक कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ आए तापनि उनलाई सामाजिक बहिष्कार गरिएको छ ।

ओभरसियर सञ्जीव अधिकारीको १० दिनअघि कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ (कोरोना नभएको पुष्टि) आएको थियो । तर उनीसँगै काम गर्ने अर्का इञ्जिनियरलाई संक्रमण देखा पर्‍यो ।

त्यसपछि अधिकारी भानु नगरपालिका वडा ११ स्थित आफ्नो दिदी अञ्जना अधिकारी पौडेलको धन्सारमा गएर छुट्टै बस्दै आए । नमुना रिपोर्ट नेगेटिभ आए पनि उनले विभिन्न स्वास्थ्य मापदण्ड पालना गर्दै क्वारेन्टि बस्दै आएका थिए । वडा ११ का टोलवासीले भनआफ्नो घरमा नबसेर दिदीकोमा बस्न आयो भन्दै विरोध जनाएका हुन् ।

संक्रमितको सम्पर्कमा आएको र उनीमाथि पनि संक्रमण हुन सक्ने भन्दै स्थानीयले उनकी दिदी अञ्जनासहित परिवारका अन्य सदस्यलाई पनि घरबाहिर ननिस्कन उर्दी जारी गरेका छन् ।

सरकारको कोरोना परीक्षणप्रति आशंका गर्दै टोलका एक जना व्यक्तिले नाम नभन्ने शर्तमा भने, ‘सरकारी रिपोर्टको के भर, आफनै घरमा बस्नु पर्छ । नत्र हाम्रो टोलमा आएर कोरोना सार्न पाइँदैन ।’

यता, अधिकारीले भने आफूहरु पढेलेखेकै भएको र रिपोर्ट नेगेटिभ आए पनि सुरक्षित बसिरहेको बेला समाजले नै भ्रम फैलाएर मानसिक तनाव दिने काम भएको गुनासो गरे । उनले भने, “रिपोर्ट नेगेटिभ आएको छ । तैपनि सुरक्षित बसेको छु । आवश्यक सचेतनाबिना सामाजिक बहिष्कार भयो ।’

यसैबीच, अफवाह फैलाउनेहरुमाथि कारवाही हुनुपर्ने उनको माग छ । कतिपयले भने वडाध्यक्ष तारानरेश पौडेल र टोल विकास संस्थाका अध्यक्षको नेतृत्वमा सञ्जीव परिवारलाई नजरबन्दमा राखेको आरोप लगाएका छन् ।

केही दिनअघिको नमुना परीक्षणमा सञ्जीवसँगै नगर प्रमुख वडाध्यक्ष लगायतको नेगेटिभ रिपोर्ट आएको थियो । तर कर्मचारी सञ्जीव र उनको परिवारलाई मात्र नजरबन्दमा राख्नु अमानवीय भएको भन्दै व्यापक विरोध समेत भएका छन् ।

पीसीआर रिपोर्ट नेगेटिभ आउँदा पनि घर बाहिर समेत निस्कन नदिएको भन्दै अमानवीय व्यवहार भएको हुँदा दोषीहरूलाई कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको छ ।

यसैबीच, प्रशासन कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाउँदै स्वास्थ्यकर्मीले कोरोना रिपोर्ट नेगेटिभ आएको व्यक्ति र स्वास्थ्यकर्मी अञ्जनाको परिवारप्रति भएको दुव्यर्वहारको खेद प्रकट गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

सो घटनामा संलग्र टोल सुधारका अध्यक्ष अधिकारी र वडाध्यक्ष पौडेललाई कारबाही नगरे काम ठप्प पारी आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

भानु नगरपालिका जनस्वास्थ्य निरीक्षक शिवराज मिश्रले कोरोना महामारीको बेला निःस्वार्थ स्वास्थ्य क्षेत्रमा खटिरहँदा स्वास्थ्यकर्मी भएको दुव्यर्वहार घटनामा आपत्तिजनक रहेको बताए ।

यता, वडाध्यक्ष पौडेल भने आफूमाथि लागेको आरोप असत्य रहेको बताउँछन् । उनले सञ्जीवसँगै काम गर्ने, बस्ने इञ्जिनियरलाई कोरोना पोजेटिभ पुष्टि भएपछि सुरक्षित ढंगले बस्नू भनिएको तर नजरबन्द गर्ने काम नगरिएको दाबी गरे । उनले भने, “आफू र टोल विकास संस्थाबाट सामाजिक बहिष्कार गर्ने तथा नजरबन्द गर्ने काम गरिएको छैन । सुरक्षित बस्न भनिएकोमात्र हो ।’

कोरोना लाग्दैमा मानिसको मृत्यु हुँदैन । कोरोनाविरुद्ध आवश्यक मापदण्ड पालना गर्न सके यो रोग लाग्नबाट जोगिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कावासोतीमा संक्रमितको परिवार शरणमा

कोरोना संक्रमित परिवारलाई घरबेटीले भाडामा बस्न नदिएपछि आफन्तकोमा शरण लिन पुगेका छन् ।

कावासोतीमा अचेल समुदायस्तरमै संक्रमित देखिन थालेपछि बढ्दो त्रासबीच संक्रमितको परिवार बिचल्लीमा परेको हो ।

कावासोती वडा १७ घर भई कावासोती वडा ८ मा भाडामा बसी व्यापार गर्दै आएको एक परिवारको श्रीमान्लाई हालै कोरोना पुष्टि भयो ।

परिवारकै घरमुलीलाई कोरोना देखिएपछि उनलाई रजहरको प्राकृतिक चिकित्सालयमा उपचारार्थ लगियो । तर यता उनको परिवारका श्रीमती र २ छोरीहरुलाई घरबेटीले भाडामा बस्न दिएनन् ।

भाडामा बस्न नदिएपछि उनीहरु संक्रमितकै भाइको घरमा शरण लिन पुगेका हुन् ।

घरबेटी दीपक लम्सालले अन्य मान्छे लगाएर मानसिक यातना दिन थालेपछि बाध्य भएर भाइकोमा शरण लिन पुगेको संक्रमितको परिवारका सदस्यले गुनासो गरे । जिल्लामा हाल २९ जना सक्रिय संक्रमित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width