दिवंगत प्रहरीप्रति शोक सलामी

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७७
४ (1)

पाेखरा, ४ भदाै । पोखरामा सडक दुर्घटनामा ज्यान गुमाएका दुई प्रहरीलाई बिहीबार गण्डकी प्रदेशका उच्च प्रहरी अधिकृतहरुले शोक सलामी तथा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

ड्यूटीमा रहेको बखत मंगलबार राति पोखरा ५, मालेपाटनमा सडक दुर्घटनामा परी पाल्पा रिब्दीकोट घर भएका प्रहरी जवान २० वर्षीय चन्द्रबहादुर बगाले र बर्दिया घर भएका प्रहरी हवल्दार ३४ वर्षीय डम्बरबहादुर थारुको मृत्यु भएको थियो ।

उनीहरुको पार्थीव शरीर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा राखिएकोमा शोक सलामी सहित श्रद्धाञ्जली अर्पण गरिएको हो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उनीहरुको पार्थीव शरीरमा नेपाल प्रहरी संगठनको झण्डा ओढाउनुका साथै पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरे । त्यस्तै प्रहरीको एक टुकडीले शोक सलामी समेत अर्पण ग¥यो ।

डीआइजी अर्यालले इमान्दार, कर्तव्यनिष्ट प्रहरी कर्मचारीलाई गुमाउँदा नेपाल प्रहरी संगठनलाई अतुलनीय क्षति महसुस गरेको बताए ।

त्यसक्रममा संघीय प्रहरी इकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठलगायत पोखरास्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारी एवं मृतक प्रहरी कर्मचारीका परिवारजन तथा आफन्तले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

बाग्लुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको प्रहरी सवार मोटरसाइकललाई सोही दिशाबाट आएको बलेरो जिपले पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते दुवैको अस्पतालमा उपचारक्रममा निधन भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width