प्रकृतिको काखमा प्राकृतिक उपचार

प्रकाश ढकाल
भाद्र ४, २०७७
prakash1

पोखरा । पोखरामा २० वर्षअघि प्राकृतिक चिकित्सालय थियो । चन्द्रकान्त शर्माले सिम्पानीमा चलाएका थिए । पछि दरबारथोक लगियो । त्यहाँ पनि चल्न नसकेपछि समुदायमा आधारित हुने गरी नवलपुरको रजहर सारियो । समुदायले १० विगाहाभन्दा बढी जमिन दिएर त्यहाँ प्राकृतिक चिकित्सालय व्यवस्थित रुपमा चलिरहेको छ । पोखरामा २० वर्षपछि पुनः प्राकृतिक चिकित्सालयको आवश्यकता महसुस भयो । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले नदीपुरमा सुविधासम्पन्न चिकित्सालय निर्माणको काम गरिरहेको छ ।

अहिले विश्वभर कोरोना भाइरस संक्रमणले लाखौंको मृत्यु भयो । एलोपेथिक उपचारमा जोड दिने देशहरुमा संक्रमितको मृत्युदर बढी छ । इटालीमा संक्रमितमध्ये झण्डै १० प्रतिशतको मृत्यु भएको छ । अमेरिका, बेलायत, ब्राजिल लगायत देशमा पनि मृत्युदर उच्च छ । नेपालमा भने मृत्युदर निकै कम छ । प्राकृतिक उपचारमा ध्यान दिने भएकोले यहाँको मृत्युदर कम भएको दाबी धेरैको छ । ‘जहाँ–जहाँ एलोपेथिक विधिबाट उपचार भएको छ, त्यहाँको मृत्युदर बढी छ । इटालीमा त संक्रमितमध्ये १० प्रतिशतको मृत्यु भएको छ,’ विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति सचिव तीर्थ श्रेष्ठ भन्छन्, ‘प्राकृतिक उपचार रोग लाग्नुभन्दा पहिलेको हेरचाह हो । रोग लागिहाले पनि रजहरको प्राकृतिक उपचार केन्द्रबाट सत्प्रतिशत संक्रमित निको भएर घर फर्किएका छन् ।’

पोखराको निर्माणाधीन प्राकृतिक चिकित्सालय व्यापार र सेवामा केन्द्रित छ । सुरुमा १ सय बेड परिकल्पना गरिए पनि तत्कालका लागि ५० बेडमात्रै तयार गर्ने बताइएको छ ।

पोखरा १, अधिकारीटोलको करिब २२ रोपनी क्षेत्रफलमा ७ वटा सुविधासम्पन्न घर सहित उपचार कक्ष बनाइने छ । हालसम्म दुईवटा भवन करिब अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार र पोखरा महानगरको सहयोगमा योगाहल बनेको छ भने पोखरा वडा ४ को सहयोगमा छुट्टै अर्को भवन पनि करिब पूरा हुने अवस्थामा छ । ‘अहिले ५० बेडको अस्पताल बन्छ । आवश्यकता भयो भने थप्ने योजना छ,’ श्रेष्ठले भने, ‘३ सय रोपनी जग्गा हेरिसकेका छौं । महानगरपालिकासँग सल्लाह भैरहेको छ । त्यो भयो भने त्यही जडिबुटी उत्पादन गर्ने । त्यहीँ खाद्यान्न उत्पादन गर्ने र खुवाउने कन्सेप्टमा प्रोजेक्ट तयार हुन्छ ।’

हिमाल हेर्दै मसाज । हिमाल छचल्किएकै पानीमा पौडी । बन्दै गरेको चिकित्सालय पर्यटक र स्थानीय दुवैका लागि रोजाइको ठाउँ हुने विश्वास छ । ‘पोखरामा ६५ प्रतिशत पर्यटक ट्रेकिङ र हाइकिङका लागि आउँछन् । उनीहरु फर्केर आएपछि मसाज, साउना गर्ने थलो हुन्छ,’ उनले अघि थपे, ‘प्राकृतिक चिकित्साको सुविधा लिन आर्थिक रुपमा सवल भएकाहरु पनि लालयित छन् । मध्यम र निम्न वर्गलाई पनि यो महत्वपूर्ण छ । भीआईपीसँग पैसा लिएर सुविधा दिने र त्यो पैसाले विपन्न व्यक्तिको निःशुल्क उपचार गर्छौं ।’ चिकित्सालय बनाउन पोखरा महानगरले पूरा लागतको ५० प्रतिशत व्यहोर्ने प्रतिबद्धता जनाएको छ । त्यसबाहेक विभिन्न वडाहरुले पनि सहयोग गरेका छन् । प्रदेश सरकारले १ करोड सहयोग गरेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, निजी कम्पनीहरु र व्यक्तिहरुले सहयोग गर्ने बताएका छन् । २५ लाखभन्दा बढी सहयोग गर्नेहरुको नामबाट सम्बन्धित भवन वा कक्षको नामकरण गरिने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । उनका अनुसार चिकित्सालय २ चरणमा निर्माण हुनेछ । ‘पहिलो चरणमा १ सय बेडको कक्ष बन्नेछ । दोस्रो चरणमा ३ सय बेडसम्म पुर्‍याइने छ । अन्तिमसम्म २६ करोड लगानी हुने अनुमान छ,’ उनले भने, ‘लकडाउन कारण काम गर्ने वातावरण मिलेको छैन । पोखरेलीको साथ र सहयोग छ । सरकारले पनि सहयोग गरेको छ । यो काममा समिति सफल हुनेछ ।’ अस्पतालमा आएका बिरामीले आवासीय सुविधा पाउँछन् । अहिले पनि रजहरमा प्राकृतिक उपचार गराउनेमध्ये २५ प्रतिशतभन्दा बढी पोखराबाट गएकाहरु छन् ।

धार्मिक क्षेत्रले सामाजिक काममा गरेको नेपालका लागि यो उदाहरण रुपमा छ । विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिले गुरुकुल चलाउँछ । ज्येष्ठ नागरिकहरुको हेरचाह केन्द्र पनि छ । प्राकृतिक चिकित्सालयमा पनि हात हालेको छ । ‘असल मनले काम गर्ने हो भने धार्मिक क्षेत्रले सामाजिक काम गर्न सक्ने रहेछन् । विदेशतिर यो अभ्यासमा छ । तर नेपालमा खासै छैन,’ श्रेष्ठ भन्छन्, ‘परम्परागत रुपमा चलिआएका पुजारीलाई पनि तलबमा ल्यायौं । मठमन्दिरको आम्दानीले समाजमा योगदान गरेका छौं ।’ हावापानीको दृष्टिकोणले पोखरा उत्कृष्ट मानिन्छ । प्राकृतिक उपचारमा औषधी वा जडिबुटीको निकै कममात्रै प्रयोग हुन्छ । ‘आवश्यक जडिबुटी पनि सबै पोखरा र आसपासमै पाइन्छ । यो उपचार बिल्कूल युनिक छ । औषधीको प्रयोग नै नहुने विधा हो,’ प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डा विनोद पौडेलले भने, ‘यो त जीवनशैली हो । अकुपञ्चर, फिजियोथेरापीजस्ता उपचारमा औषधी चाहिँदैन नि ।’

चिकित्सालय निर्माणको जिम्मा डा विनोद गौतमले लिएका छन् । उनले प्राकृतिक उपचारमा विश्वास कम भएको भन्दै आमधारणा परिवर्तन गर्नुपर्ने बताए । यसलाई अस्पतालभन्दा विद्यालयको रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ । पोखराका मेयर मानबहादुर जिसीले लक्ष्य अनुसार काम भए प्राकृतिक चिकित्सालय पोखराको गहना हुन सक्ने बताए । ‘यसलाई स्वास्थ्य पर्यटनसँग जोड्न सकिन्छ । त्यसैले महानगरले पनि सक्दो सहयोग गरेको छ,’ उनले भने, ‘धार्मिक क्षेत्रले स्वास्थ्यमा गरेको योगदान सह्रानीय छ । यो पोखराकै गहना हो ।’

Related News

सम्बन्धित समाचार

hero news full width