पर्वतमा रासायनिक मल अभावले धान मर्न थाले

रासस
भाद्र ३, २०७७
Chemical sewage

पर्वत, ३ भदौ । पर्वतमा किसानले अन्नबालीमा प्रयोग गर्ने रासायनिक मलको अभाव भएको छ । लामो समयसम्म भएको लकडाउन र नेपालका मुख्य डिपोमा पनि भण्डारण सकिएकाले मलको चरम अभाव भएको कृषि सामग्री केन्द्र पर्वतले जनाएको छ । मकै छर्ने बेलामा सहकारीमार्फत रासायनिक मल पाएका किसानले धान, कोदो बालीमा मल राख्न पाएका छैनन् । लामो लकडाउनका कारण सहकारीमा मल पाउन छाडेको छ । बजारमा किन्न जाँदा पनि पाइँदैन । रोपेको धानमा युरिया मल छर्न नपाउँदा बोट पहेँलो भएर मर्न लागेको किसानले गुनासो गर्न थालेका छन् ।

कोरोनाका कारण बाली लगाउँदादेखि नै समस्या भोग्दै आएका किसानले सलहको समस्यासमेत भोगे । अहिले फेरि मलको समस्या शुरु भएको छ । धानमा मल छर्न नपाएकाले किसान बाली घट्ने चिन्तामा परेका छन् । पर्वत र बागलुङका लागि मल उपलब्ध गराउँदै आएको कृषि सामग्री केन्द्र पर्वतले युरिया मल कहिलेसम्म आउँछ भन्ने यकिन नभएको बताएको छ । विशेषगरी यतिबेला धान कोदो गोडमेल गरेर मल राख्ने समय हो ।

लकडाउनको बेला पनि किसानलाई मल आपूर्ति गर्दै आएको कृषि सामग्री केन्द्रमा अहिले मल नै छैन । केन्द्रका प्रमुख नारायणप्रसाद शर्माले वीरगन्जस्थित डिपोमै मल नै नभएका कारण पर्वतमा आपूर्ति हुन नसकेको बताए । उनले साउनदेखि नै निरन्तररूपमा माग गरे पनि भारतबाटै आपूर्ति रोकिएको हुनाले मुख्य डिपो रित्तिएको जानकारी दिए । पर्वतस्थित कृषि सामग्री केन्द्रले वैशाख, जेठ र असारमा ५४३ टन मल वितरण गरेको थियो । यसमा युरिया ३३९.८ टन र डिएपी १४१.१५० टन वितरण गरेको थियो । विभिन्न कृषि सहकारीमार्फत केन्द्रले मल बिक्री वितरण गर्दै आएको छ ।

जिल्लामा मल नपाएपछि कतिपयले भारतीय सीमा नाकाबाट समेत खरिद गरेर छरेका छन् तर अहिले नाकामा कडाइ र पुनः बन्दाबन्दी शुरु भएपछि भारतीय बजारबाट समेत मल ल्याउन सहज छैन । बजारमा युरिया अभाव भइरहेको बेला अल्मुनियम सल्फेट प्रयोग गर्न थालिएको छ । बजारमा एग्रोभेटहरुले युरिया नपाइएपछि अल्मुनियम सल्फेट किसानलाई बिक्री गर्न थालेका छन् । कृषि प्राविधिकका अनुसार युरियामा भन्दा अल्मुनियम सल्फेटमा नाइट्रोजनको मात्रा आधा कम हुन्छ । युरियाभन्दा यो महङ्गोसमेत पर्छ । मात्रा मिलाएर छर्न नजान्दा कतिपय किसानको लगानी खेर गएको कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले बताए ।

‘युरिया एक किलो छर्ने ठाउँमा अमुनियम सल्फेट दुई किलो छर्नुपर्छ’, रेग्मीले भने, ‘किसानले मात्रा बढाउने सल्लाह नपाउँदा अल्मुनियम सल्फेट बेकामे भएको गुनासो सुन्ने गरिएको छ ।’ अनुकूल मौसमका कारण यस वर्ष धान उत्पादन बढ्ने ज्ञान केन्द्रको अनुमान थियो तर मल अभावले अनुमान गरेअनुसार उत्पादन बढ्ने देखिन्न । कृषि ज्ञान केन्द्रका अनुसार पर्वतमा रहेको करिब २८ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये १० हजार हेक्टर जमिनमा धानखेती गरिँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width