कास्कीमा निषेधाज्ञा : अत्यावश्यक बाहेकका सेवा बन्द

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७७
20200820_074919

पोखरा । कास्की जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण समुदायस्तरमा फैलिने उच्च सम्भावना रहेकाले सो न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले ५ दिनका लागि निषेधाज्ञा लागू गरेको हो । निषेधाज्ञा भदौ २ राति १२ देखि ७ राति १२ बजेसम्म कायम रहनेछ । निषेधाज्ञाको समयमा सर्वसाधारण अत्यावश्यक कामबाहेक घरबाहिर हिडडुल गर्न समेत पाउँदैनन् । अत्यावश्यक सेवाबाहेक अन्य सेवा पनि बन्द हुनेछन् ।

प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले मंगलबार जारी गरेको निषेधाज्ञा आदेशमा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको अवस्थामा कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी भएका स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवं सावधानीलाई कडाइका साथ पालना गर्न गराउन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन, २०२० को व्यवस्था बमोजिम देहाय अनुसार निषेधाज्ञा जारी गरिएको छ ।’
यसरी विभिन्न मापदण्ड तोक्दै निषेधाज्ञाको समयमा विभिन्न क्रियाकलापमा रोक लगाइएको छ । जसमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव तथा सबै धर्म, संस्कृति प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्यक्रममा रोक लगाइने भएको छ ।

यस्तै, एम्बुलेन्स, दमकल, शवबाहन, खाद्यसामग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी बोक्ने सवारीसाधन, ग्याँस तथा पेट्रोलियम पदार्थबाकेका सवारीासाधन, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको ड्यूटी जाने आउने प्रयोजनमा प्रयोग हुने सवारीसाधन, औषधी तथा स्वास्थ्य सेवाका सामग्री बोकेका सवारीसाधन, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सवारीसाधन, झण्डाबाहक सवारीसाधन, कुटनीतिक नियोगका सवारीसाधन, मालबाहक सवारीसाधन, प्रेसपास तथा परिचयपत्र बाहक संचारकर्मीका सवारीसाधन बाहेक यात्रुबाहक सार्वजनिक तथा निजी सवारीसाधन संचालन गर्न पाइने छैन ।

यसैगरी, विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यु बस्तु बिक्री गर्ने व्यावसायिक मल, स्टोर तथा पसल, सिनेमाहल, पार्टी प्यालेस, फनपार्क, रंगशाला, फुटसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, व्यूटीपार्लर, शैलुन, हार्डवेयर पसल, सुनचाँदी, टेलरिङ, फूटपाथ पसल लगायत सेवा तथा स्थल खोल्न तथा संचालन गर्न पाइने छैन ।

स्वास्थ्य, सुरक्षा, संचार, विद्युत्, खानेपानी, औषधी तथा औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायतका अत्यावश्यक सेवा तथा कार्य गर्ने बाहेकका सेवा तथा कार्य संचालन गर्न नहुने उल्लेख छ ।

बैंक, वित्तीय संस्था तथा सहकारीबाट प्रवाह हुने सेवा संचालन गर्न पाइने छैन । तर एटीएम तथा अनलाइन बैंकिङ सेवा संचालनको प्रबन्ध गर्न बाधा पर्ने छैन । क्वारेन्टिनका लागि तोकिएका होटल बाहेकका अन्य होटल तथा रेष्टुरेन्ट नखोल्न भनिएको छ ।

खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुध, डेरीजन्य पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम र बेलुका ५ देखि ७ बजेसम्म मात्र संचालन गर्न पाइनेछ ।

सरकारले जारी गरेको जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड तथा पूर्वसाधानीहरुको पूर्ण पालना गरी निर्माणस्थल तथा उद्योग परिसरभित्रै निश्चित स्थानमा क्वारेन्टिन व्यवस्था गरी कामदार बाहिर आवतजावत नहुने गरी संचालित निर्माण कार्य तथा उद्योगहरु बाहेकका अन्य निर्माण तथा उद्योगहरु संचालन गर्न पाइने छैन ।

निषेधाज्ञाको अवज्ञा गरेको पाइए स्थानीय प्रशासन ऐन, २०२८, संक्रामक रोग ऐन, २०२० एवं अन्य प्रचलित काुननबमोजिम कारबाही हुने आदेशमा उल्लेख छ ।

यसअघि, पोखरा महानगरपालिकाले महानगरका ३३ मध्ये ३१ वटा वडासम्म कोरोना संक्रमण फैलिइसकेको भन्दै सोको नियन्त्रणका लागि कम्तीमा एक साता निषेधज्ञा लगाउनुपर्ने निर्णय गरेको थियो । सोको सिफारिसबमोजिम एक दिनपछि धकेलेर ५ दिनका लागि महानगरमात्र नभै जिल्लाभर निषेधाज्ञा लागू गरिएको हो । कास्की जिल्लामा हालससम्म ८८ जना सक्रिय केस छन् । जिल्लाभर २ सय ४५ संक्रमित भएका हुन् ।

गण्डकी प्रदेशमा हालसम्म संक्रमितको संख्या १ हजार ७ सय ६५ पुगेको छ । तीमध्ये ७ जनाको मृत्यु तथा १ हजार ५ सय ५० जना निको भएका छन् । मृत्यु हुनेमध्ये पोखराकै २ जना पुरुष छन् । त्यसबाहेक स्याङ्जाका २, बागलुङ, गोरखा र तनहुँका १–१ जना छन् । तीमध्ये तनहुँकी महिला हुन् ।

देशभर मंगलबार १ हजार १६ जना कोरोना संक्रमित फेला परेका छन् । योसहित कुल संक्रमित संख्या २८ हजार २ सय ५७ पुगेको छ । मंगलबार थप ७ को मृत्युसहित कुल मृत्यु संख्या १ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

महानगरको अपील

पोखरा महानगरपालिकाले निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ । महानगर प्रमुख मानबहादुर जिसीले मंगलबार अपील जारी गर्दै संक्रमण समुदायस्तरमा फैलिने उच्च सम्भावना रहेकाले सोको नियन्त्रण, कोरोनाको परीक्षण, कन्ट्रयाक ट्रेसिङ र उपचार विधिलाई प्रभावकारी बनाउन निषेधाज्ञा नै जारी गर्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकोले यसको पूर्ण रुपमा पालना गरी सहयोग गर्न नगरवासीलाई अनुरोध गरेका हुन् ।

‘जनताको सबैभन्दा नजिकको सरकार पोखरा महानगरपालिकाले संक्रमणको सुरुका दिनदेखि नै कोरोना रोकथाम, नियन्त्रण र उपचारको कर्तव्य निर्वाह गर्न निरन्तर प्रयासरत रहेको व्यहोरा नगरबासीलाई विदितै छ,’ अपीलमा भनिएको छ,‘कोरोनाको संक्रमणलाई नियन्त्रण गरी नगरबासीलाई सुरक्षित राख्नु नै हाम्रो प्रमुख दायित्व हो ।’

केही दिनदेखि कोभिड—१९ परीक्षणको रिपोर्ट अनुसार पोखरामा जोखिम उच्च दरमा बढिरहेको अवस्थालाई मध्यनजर गर्दै कास्कीमा सर्वदलीय बैठकले दिएको सुझाव, महानगरको कोरोना संक्रमण रोकथाम मूल समितिको निर्णय अनुसार निषेधाज्ञा जारी भएको अपीलमा उल्लेख छ ।

कोरोनाबाट बच्ने प्रमुख औषधी भनेको सामाजिक भौतिक दूरी रहेको भन्दै भीडभाडमा नजान, घरबाहिर ननिस्कन तथा अत्यावश्यक कामले निस्कनै परे मास्क लगाउन र स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौं उपत्यकाका ३ जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जनाइएको छ ।

अघि सरकारले ११ चैतदेखि १ सय २० दिनसम्म देशभर लकडाउन गरेको थियो । निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । काठमाडौं उपत्यकामा मंगलबारमात्रै २ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width