साङ्लोमा बाँधिएको दैनिकी

विनिता सुनार
भाद्र २, २०७७
boat binita

पोखरा । डुङ्गामात्रै थियो, आमा छोरीको दैनिकीको भर । दिनभरि डुङ्गा खियाउने र घरखर्च टार्ने दिनहुँको मेलो हो । सरकारले गरेको लकडाउनपछि पर्यटक पोखरा भित्रिएनन् । पोखरामै भएकाहरु पनि डुङ्गामा टेक्नै छोडे । सुरुमा सरकारले राहत दिएको थियो । दुईजना मात्रै भएकोले अलि दिन त्यसैले छाक टर्‍यो । अहिले घरमा अन्नको गेडो पनि छैन ।

दश वर्षदेखि डुङ्गा खियाएर जीवन धान्दै आएकी लक्ष्मी नेपालीलाई कोरोनाले साह्रो पारेको छ । ‘दैनिक काम गरेर गर्जो टार्नेलाई त साह्रै गाह्रो पो हुने रहेछ । सुरुमा अलि–अलि राहत पनि दिएको थियो,’ उनले भनिन्, ‘अहिले त त्यो पनि छैन । आजभोलि न काम छ, त दाम आउछ ।’ व्यवसाय खोल्न दिए खान लाउन सजिलो हुने उनको आशा छ । उनले लकडाउनपछि तरकारीको व्यापार पनि गरिन् । धेरै उधारो जान थालेपछि त्यो व्यापार पनि चौपट भयो । ‘साँवा पनि उठेन । सबैले उधारो लैजाने अनि पैसा नतिर्ने,’ उनले अघि भनिन्, ‘त्यसपछि तरकारी राख्नै छोडिदिएँ । ज्यामी काम खोजेको पनि पाइएन । सरसापटी गरेर घर चलाइरहेको छु । अब सकिँदैन ।’

दीपेश परियारले पनि डुङ्गा नछोएको ५ महिना बढी भयो । दिनदिनै धेरै यात्रु सयर गराउने उनलाई अहिले त न्यास्रो लाग्न थालिसकेको छ । बेलाबेला बिहानपख गएर वर्षात्ले भरिएको डुङ्गाको पानी बाहिर फाल्छन् । त्यत्तिकै घर फर्किन्छन् । त्यतिमात्रै होइन, खर्चको जोहो गर्न पनि गाह्रो भएको छ । भन्छन्, ‘लकडाउनले तल्लो लेबलको परिवारलाई निकै मर्का परेको छ । डुङ्गा खियाएर पेट पालेकाहरु अहिले लेवरको काम गर्न थालेका छन् । यस्तो बेला गुहार्ने भनेको सरकारलाई नै हो ।’

विश्वभर कोरोना भाइरस (कोभिड–१९) प्रभावका कारण पोखराको पर्यटन क्षेत्र ठप्प छ । पर्यटनबाटै धानिएको अर्को पेसा डुङ्गा साङ्लोले बाँधेर राखेको पनि झण्डै ५ महिना हुन लाग्यो । सरकारले अहिले केही गतिविधि खोले पनि डुङ्गा व्यवसाय खुलेको छैन । डुङ्गा ताल किनारमा साङ्लोले बाँधिएको छ भने दैनिकीमा पनि भोकको साङ्लो कसिएको छ, डुङ्गा व्यवसायीहरुको ।

व्यवसायी मर्कामा परेपछि फेवा डुङ्गा व्यवसायी समितिले सामाजिक दूरी कायम गरेर सुरक्षा अपनाउँदै सेवा सुरु गर्ने तयारी थालेको छ । समिति अध्यक्ष बुद्धिबहादुर नेपालीले होटल, रेष्टुरेन्ट लगायत पर्यटकीय क्षेत्रहरु खुल्न थालेको डुङ्गा पनि सुरु गर्न लागिएको बताए । ‘होटल, रेष्टुरेन्ट खुलेका छन् । सार्वजनिक गाडी पनि चल्न थालेको छ । लामो दूरीको गाडी र विदेशी जहाज चल्न थालेपछि पर्यटक पनि आउलान्,’ उनले भने, ‘अब त हामी पनि सरकारले भनेको सुरक्षा अपनाएर व्यवसाय गर्नुपर्छ । सल्लाह गरिरहेका छौं ।’ व्यवसाय खोल्ने सरकारी निर्णय कुरेर बसिरहेको उनको भनाइ छ ।

कोरोनाकै समयमा डुङ्गा चलाउन र यात्रुको सुरक्षा कायम राख्न ५३ जनाले पर्यटन बोर्डबाट तालिम पनि लिएका छन् । ‘डुङ्गा चलाएरमात्रै हुँदैन । यात्रुलाई सुरक्षित पनि राख्नुपर्छ र आफू पनि सुरक्षित हुनुपर्छ,’ समितिका कोषाध्यक्ष बुद्धिनाथ पाण्डेले भने, ‘हाम्रा व्यवसायीलाई तालिम दिएका छौं । फेवातालमा डुङ्गा चढ्दा सबै सुरक्षा अपनाउन सक्छौं ।’ लकडाउन खुले पनि कोरोना संक्रमित बढ्न थालेपछि पोखरामा खुलेका होटल समेत बन्द हुन थालेका छन् । डुङ्गा सयर गराउन तयारी सकेका व्यवसायीहरु फेरि अन्यौलमा परेका छन् । कमजोर अवस्थामा रहेका व्यवसायीहरु झनै मर्कामा पर्ने पक्का छ ।

Related News

सम्बन्धित समाचार

hero news full width