भरतपुर महानगरमा लकडाउन

रासस
श्रावण ३०, २०७७
Bharatpur

चितवन, ३० साउन । भरतपुर महानगरपालिका क्षेत्रभित्र तीनदिनमा २३ जना कोराना सङ्क्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गरिने भएको छ ।

महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको सङ्क्रमण, नियन्त्रण, उपचार, व्यवस्थापनका लागि आज राति १२ बजेदेखि एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । महानगरभित्र कोरोना तीव्र गतिमा बढेसँगै जोखिमलाई मध्यनजर गर्दै लकडाउनको आह्वान गरिएको उनले दिए । अति आवश्यक क्षेत्रलाई विशेष निगरानीसहित निश्चित समय सञ्चालन गर्न दिइने गरी लकडाउन गरिनेछ, उनले भने, ‘जो जहाँ छ त्यही रहने गरी लकडाउन गरिँदैछ ।’ महामारीबाट बच्नका लागि लकडाउन बाध्यता भएको जनाउँदै उहाँले जति कष्ट भए पनि हामी सबैले स्वीकार गर्नु परेको बताए ।

राजमार्गमा अतिआवश्यक सवारी मात्र चल्न दिने, दूध, तरकारी, मासुलगायतका अतिआवश्यक वस्तुलाई निश्चित समयमा मात्र खोल्न दिने र भित्री आवागमन पूर्णरुपमा निस्तेज हुने गरी लकडाउन आह्वान गरिँदैछ । महानगरका वडामार्फत टोल सुधार समितिलाई सबैलाई सतर्क भई घरमा नै रहन सन्देश प्रवाह गरिँदै छ । महानगरको विपद् व्यवस्थापन इकाइ, दमकल, नगरप्रहरी, महानगरका सीमित कर्मचारी परिचालन गरेर रोगको नियन्त्रण, उपचार र व्यवस्थापनको काम गरिने महानगरप्रमुख दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।

महानगरभित्रका अस्पताल, आइसोलेशन र क्वारेन्टिनलाई प्रभावकारी बनाइनेछ । उपचारमा विशेष ध्यान दिने उनले बताए । समितिको बैठकमा महानगर उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, यातायात व्यवसायीलगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
महानगर क्षेत्रमा हालसम्म ९३ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । ती मध्ये ७० पुरुष , २३ महिला रहेका छन् । ती मध्ये एकजनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width