५२५ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
श्रावण २९, २०७७
Coronavirus_green

पोखरा, २९ साउन ।  नेपालमा गएको २४ घण्टामा ५ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या २४ हजार ९ सय ९७ जना पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार गएको २४ घण्टामा देशका ३८ प्रयोगशालामा भएको परीक्षणमा ५ सय २५ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार हाल बिहीबार ९ हजार ८ सय ५९ जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित थप भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनको संख्या १६ हजार ८ सय ३७ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु भैसकेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको हो ।

महोत्तरीको मटिहानीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार धनुषाको मिथिलाका ८५ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, अछामको रामारोशनका १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा र मोरङको विराटनगरका ५७ वर्षीय पुरुषको कोशी अस्पताल विराटनगरमा निधन भएको छ।

बिहीबार राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रवक्ता गौतमले मृतकमध्ये ७३ पुरुष र २२ महिला रहेका जानकारी दिए ।

देशभरका क्वारेन्टिनमा १४ हजार ७ सय ६९ जना रहेका छन् । ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् ।

संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा भने संक्रमित शून्य छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width