कोभिड–१९: एकै दिन ११ को मृत्यु

आदर्श समाज सम्वाददाता
श्रावण २९, २०७७
Corona Death

फाइल फोटो ।

पोखरा । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम न्यूनीकरणको लागि विगतमा कायम गरेको लकडाउन हटाए पनि संक्रमित संख्या भने घटेको छैन । साथै मृतक संख्या पनि बढेको छ । गएको २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कुल मृत्यु हुनेको संख्या ९२ पुगेको छ । गएको ८ दिनमा ३६ जनाको ज्यान गइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित प्रेस ब्रिफिङमा मुलुकभर ८ जनाको ज्यान गएको जनाएको थियो । यद्यपि थप ३ जना गरी कुल ११ जनाको गएको २४ घण्टामा ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ ।
किस्ट अस्पतालमा बुधबार २ जनाको मृत्यु भएको छ । काठमाडौंकै ह्याम्स, मेडिसिटी, पाटन, बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुटवल कोरोना विशेष अस्पताल र कोशी कोभिड अस्पतालमा १–१ जनाको मृत्यु भएको छ । यस्तै सप्तरीमा संक्रमण पुष्टिपछि अस्पताल लैजाँदै गर्दा तथा महोत्तरी र बारामा मानिसको मृत्युपछि संक्रमण पुष्टि भएको हो ।

मंगलबार राति काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको किस्ट अस्पतालमा मृत्यु भएको हो । ज्वरो र झाडावान्ता भएपछि पाटन अस्पताल पुगेकी उनलाई साउन २६ मा किस्ट लगिएको थियो ।

जनकपुरकी ३८ वर्षीय महिलाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारक्रममा मृत्यु भएको छ भने जनकपुरकै ७२ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

उता, बाराका ७७ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भयो भने ह्याम्स अस्पतालमा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका–१४ धुँवाकोटका ३२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भयो ।

सप्तरीको डाक्नेश्वरी–८ घर भई राजविराज ६ मा बस्ने ७२ वर्षका संक्रमितको मंगलबार राति मृत्यु भएको छ ।

मोरङका ५५ वर्षका पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार बिहान मृत्यु भएको छ ।

सोमबार राम जानकी अस्पतालमा उपचारक्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका–६ का ५२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज–१६ नगवास्थित सडकमा मृत भेटिएका बाराको बिश्रामपुर–५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा बुधबार विराटनगरका ५७ वर्षका पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारमात्रै ४ सय ८४ जना संक्रमण थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १० हजार ४ सय ८१ जनाको पीसीआर परीक्षण भएकोमा सो संख्यामा संक्रमित थपिएका हुन् । सबैभन्दा धेरै काठमाडौंमा १ सय ९ संक्रमित भेटिएका छन् ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३ जना रहेका छन् ।

यस्तै गएको २४ घण्टामा थप ६४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ ।

नेपालका ६ जिल्ला भने हाल संक्रमितमुक्त छन् । सोलुखुुम्बु, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हाल कोरोना संक्रमित छैनन् ।

बुधबार मोरङका ४८, महोत्तरीका ४४, धनुषाका ३९, रौतहटका २४, ललितपुरका २१, सुर्खेतका १८, मकवानपुरका १६, सुनसरी, चितवन, बाराका १५–१५ जना, कास्कीका १३, झापा र सिराहाका १०–१०, भक्तपुरका ९, रुपन्देहीका ८ सर्लाही र स्यााङ्जाका ६–६ तथा सप्तरी, काभ्रे र दार्चुलाका ५–५ जनामा संक्रमण पुष्टि भएको छ ।

उता, दैलेखका ४, कञ्चनपुर, पर्सा, अर्घाखाँची र रुकुम पश्चिमका ३–३, गोरखा, नुवाकोट, तनहुँ, दोलखा, धादिङ र डोटीका २–२ तथा इलाम, ताप्लेजुङ, वैतडी, दाङ, बाँके, ओखलढुंगा, रामेछाप, जाजरकोट, कपिलवस्तु, खोटाङ, पाल्पा, सल्यान र बैतडीका १–१ जनामा संक्रमण देखिएको छ ।

सरकारले गत चैत ११ देखि देशभर कायम गरेको १ सय २० लकडाउन केही साताअघि हटाएको हो । केही जिल्लामा भने लकडाउन नै नभनिएपनि लकडाउन प्रकृतिको सुरक्षा मापदण्ड अपनाइएको छ । काठमाडौं उपत्यकामा कडाई गरिएको छ । बुटवलमा भने साउन २९ देखि भदौ ५ सम्म पुनः लकडाउन कायम गरिने जनाइएको छ ।

सवारी पास बन्द गर्न निर्देशन

सरकारले कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढेको भन्दै एक जिल्लाबाट अर्को जिल्ला प्रवेशका लागि दिइने सम्पूर्ण सवारी पास बन्द गरेको छ ।

गृह मन्त्रालयले बुधबार सूचना जारी गरी साउन २९ बिहीबारदेखि लागू हुने गरी सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न निर्देशन दिएको हो ।

सो निर्देशनमा भनिएको छ ‘कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि सवारी पास वितरण नगर्न, नगराउनुहुन आदेशअनुसार अनुरोध छ।’

सो निर्देशनअनुसार अब एक जिल्लाबाट अर्को जिल्लामा सवारी लिएर जान नपाइने भएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width