संरक्षण पर्खाइमा कमल ताल

ऋषिराम बराल ऋषिराम बराल
श्रावण २९, २०७७

पोखरा । पोखरा तालैताल र गुफैगुफाको सहर हो । यहाँ विभिन्न ९ ताल छन् । फेवा, वेगनास, रुपा, मैदी, खास्टे, न्यूरेनी, गँुदे, दीपाङ र कमल ताल पर्दछन् । यीमध्ये अधिकांश संरक्षण हुन नसक्दा अतिक्रमण चपेटामा छन् ।

यहाँ चर्चा गर्न खोजिएको ताल हो, कमल ताल । पोखरा–१३ मा पर्ने यो ताल पर्यटकीय रुपमा महत्वपूर्ण रहे पनि सरकारीस्तरबाट ध्यान नपुग्दा संरक्षण हुन सकेको छैन ।

यता, स्थानीय दलित समुदायले ३५ वर्षदेखि ताल संरक्षणमा सक्रियता देखाउँदै आएका छन् । ३२ रोपनी क्षेत्रफलमा फैलिएको कमल ताल धार्मिक रुपमा पनि त्यतिकै महत्व राख्ने गर्छ ।

कमल तालमा ढकमक्क कमलका फूलहरु फुलेको देख्न सकिनेमात्र हैन, विभिन्न जातका माछा, पानीहाँस, रङ्गीबिरङ्गी चराहरु देख्न सकिन्छ । ३५ वर्षअघिसम्म बुडुवा ताल रुपमा परिचित सो ताललाई पर्यटकीय रुपमा विकास गर्नुपर्छ भनी स्थानीय केशबहादुर बिकको सक्रियतामा स्थानीय आमा समूहले २०४८ सालदेखि तालको सरसफाइ गर्दै संरक्षण गर्दै आएका छन् ।

यसैगरी पोखरा–१३ स्थित कमलपोखरी (ताल) को मध्यभागस्थित कालीनाग पूजा सामूहिक रुपमा गर्ने प्रचलन वर्षाैदेखि नै छ । पोखरीमा प्रत्येक वर्षको नागपञ्चमीका दिन विशेष पूजा गरिँदैआएको छ । यहाँ सामूहिक पूजा हुन्छ, कमल तालको बीचमा रहेका कालीनागको पूजा गर्न कास्की जिल्लामात्र हैन, छिमेकी जिल्लाबाट व्यक्तिहरु आउने गर्छन् । नागपञ्चमीका दिन कमलपोखरी (ताल) मा फैलिएको कमलको पात लिन मानिसहरु आउँछन् ।

कमलपोखरी (ताल) संरक्षण समिति अध्यक्ष चित्रबहादुर बिकले ताल संरक्षणमा सरकारी निकायले त्यति ध्यान दिन नसकेको गुनासो गरे । तालको वरपर बसोबास गर्ने ८५ घर दलित परिवारले श्रमदान र रकम उठाई तालको संरक्षण गर्दै आएको उनको भनाइ छ ।

‘तालको उत्तरी भाग काँहूडाँडाबाट आउने खहरे खोलाले ताललाई वर्षेनी पुर्ने गरेको छ, वरपरिको मोहीहरुले समेत तालको जग्गा अतिक्रमण गर्ने रहेकै कारण तालको क्षेत्रफल साँघुरिएको छ,’ अध्यक्ष बिकले भने, ‘तालको मापदण्ड कायम पोखरा महानगरपालिकामा निवेदन दिएका छौं । कोरोनाका कारण सो काम अगाडि बढ्न सकेको छैन । ताल संरक्षण र ताललाई आयस्रोत रुपमा विकास गर्न समितिले तालमा माछापालन गर्नुको साथै पानीको क्षेत्रफल भएको भाग वरपर पर्खाल लगाएको छ ।’

पोखरा ३ का वडाध्यक्ष दर्शन लामाले पर्यटकीय रुपमा महत्वपूर्ण मानिने कमल ताल संरक्षणको अभाव र अन्य तालको तुलनामा पछि परेको बताए । यसै आर्थिक वर्षमा वडा कार्यालले ताल वरपरबाट आउने खहरे खोला रोक्न पर्खाल निर्माणमा ४० लाख रुपैयाँ छुट्याएको बताए । उनका अनुसार त्यसको टेन्डर भई काम समेत शुरु हुने क्रममा छ ।

‘तालवरपरका मोहीहरु कार्की, गौतम, आचार्य, बस्नेत, गुरुङ, श्रेष्ठ लगायत भएपनि उनीहरु समितिमा नसमेटिएकाले तालको चौतर्फी विकास हुन सकेको छैन,’ वडाध्यक्ष लामाले भने, ‘समिति समावेसी हुनुप¥यो । बिक परिवारमात्र हैन अन्य जातिले पनि ताल हाम्रो हो, भनेर अपनत्व लिने अवस्था हुनुपर्छ ।’

कमलपोखरीमार्ग टोल विकास संस्था अध्यक्ष कमलबहादुर गुरुङले तालको क्षेत्रफल कति हो भनेर छुट्याउन नसकिएको बताए । ‘स्थानीय मोहीहरुले अतिक्रमण गरेका छन् तालको क्षेत्रफल छुट्याएर तालको विकास गर्न जरुरी छ,’ उनले भने, ‘ताल संरक्षण समिति समावेसी हुनु पर्छ । ताल संरक्ष्णमा बिक परिवारको योगदान बढी होला तर उनीहरुले अन्य स्थानीय मोहीहरुलाई पनि समेटेर अगाडि बढ्नु जरुरी छ । तालबाट थोरै मात्रामा आम्दानी भएपनि त्यो वार्षिक रुपमा सार्वजनिक गर्नुपर्छ ।’

‘हरियो वन, उपत्यका नगर विकास समिति, पोखरा महानगरपालिका, पर्यटन वोर्ड लगायतका संस्थाले न्यून मात्रामा रकम छुट्याउँदा ताल संरक्षण हुन सकेको छैन,’ ताल संरक्षण समिति पूर्व अध्यक्ष केशबहादुर बिकले भने, ‘गुरुयोजना बनाएर ताल संरक्षणमा महानगरपालिका जुट्नु पर्छ ।’

तालमा पुग्ने बाटोको जग्गा समेत स्थानीय मोही डम्मरबहादुर कार्कीले निःशुल्क प्रदान गरेका हुन् । श्रेष्ठले कमल तालको महत्व पर्यटकीय मात्र नभई धार्मिक तीर्थस्थल रुपमा समेत जोडिएकाले संरक्षण र विकासमा राष्ट्रियस्तरबाटै ध्यान दिनु जरुरी रहेको बताए ।

हाम्रो सुझाव