एसएसपी अधिकारी पुर्पक्षका लागि थुनामा

Bijay Nepal विजय नेपाल
श्रावण २८, २०७७

पोखरा | युवती बलात्कारको अभियोग लागेका सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश दीपककुमार खरेलको मंगलबार एकल इजलासले अधिकारीलाई थुनामा राखेर मुद्दा अनुसन्धान प्रक्रिया अघि बढाउने आदेश दिएको हो ।

अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्यायले २ दिनसम्म वादी–प्रतिवादीको बहस सुनिसकेपछि निजलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको बताए ।

उनका अनुसार सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधीवक्ता गुरूदत्त गौतम, जिल्ला सह–न्यायाधिवक्ता पूर्णप्रसाद शर्मा र महेन्द्रप्रसाद अधिकारीले बहस गरेका थिए ।

यस्तै, प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा सहित ६ वकिलले थुनछेक बहसमा भाग लिएका थिए । जसमा अधिवक्ता जगन्नाथ ढकाल, राम घिमिरे, मुकुन्द्र अर्याल, दीपेन्द्र अर्याल र कल्पना भण्डारी थिए ।

दीप्रतिवादीको बहस सुनिसकेपछि न्यायाधीश खरेलले एसएसपी अधिकारीलाई पुर्पक्षका लागि थुनामा राखी अनुसन्धान प्रक्रिया अघि बढाउने आदेश दिएका हुन् ।

एसएसपीविरुद्ध अधिकतम् २१ वर्षसम्म सजाय माग गर्दै आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको थियो । सरकारी कर्मचारीसहित उच्च पद धारण गरेको व्यक्तिलाई डेढी सजाय हुने व्यवस्था छ ।

पोखरा लामापाटनस्थित सशस्त्र प्रहरी, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत एसएसपी अधिकारीविरुद्ध ३१ असारमा चितवनबाट २७ वर्षीया युवतीलाई खाना खान बोलाएर क्वार्टरमै जबर्जस्ती बलात्कार गरेको आरोप छ ।

एकाएक सो घटना बाहिरिएपछि एसएसपी अधिकारीलाई अनुसन्धानका लागि भन्दै कास्की प्रहरीले सोही दिन पक्राउ गरेको थियो । त्यसपछि ३ पटकसम्म जिल्ला अदालतबाट म्याद थप स्वीकृति लिई प्रहरीले आवश्यक अनुसन्धान गर्दैआएको थियो । जसमा पहिलो पटक ७, दोस्रो पटक ७ र तेस्रो पटक १४ दिन म्याद थप भएको थियो ।

आफूलाई खाना खान बोलाएर एसएसपी अधिकारीले बलात्कार गरेको मौखिक उजुरी सोही दिन ती युवतीले जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुम १०० मा टेलिफोनमार्फत दिएकी थिइन् । त्यसपछि प्रहरीले पीडित युवतीलाई भेटेर घटनाबारे थप जानकारीसँगै घटनास्थलको अवलोकन गरी एसएसपी अधिकारीलाई पक्राउपछि हिरासत लिएको हो ।

घटना विवरण अनुसार चितवनबाट सोही दिन बिहान स्कुटर चढेर आएकी ती युवती खाना खाने निम्तो मान्न लामापाटनस्थित एसएसपी अधिकारी बस्ने क्वार्टरमै गएकी थिइन् । खानामा लठ्याउने चिज हालेर अधिकारीले आफूमाथि जबर्जस्ती बलात्कार गरेको उजुरी दिएपछि कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवनकुुमार श्रेष्ठ नेतृत्वको टोलीले अधिकारीलाई शिक्षालय परिसरको झाडीमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गर्न सफल भएको थियो ।

हाम्रो सुझाव