पोखरा । फोनिजको स्थापना दिवस अवसरमा २ अग्रज पत्रकारलाई सम्मान गरियो । ‘कञ्चन पत्रकारिता पुरस्कार २०७७’ बाट कास्कीका पत्रकार रुद्रबहादुर थापामगर तथा बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी सम्मानित भएका हुन् ।
पोखराका व्यवसायी तथा समाजसेवी विमलमान गुभाजूद्वारा आफ्ना मातापिता वेदमान तथा नेत्रकुमारी गुमाजूको नामबाट सो पुरस्कार स्थापना भएको हो । पुरस्कार वितरण संयोजन फोनिज गण्डकी प्रदेशले गर्दैआएको छ ।
उनीहरुलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नगद २५ हजार सहित सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
सम्मानितपछि पत्रकार राजभण्डारीले आफूलाई पत्रकारितामा अझै अगाडि बढ्न उर्जा मिलेको बताए ।
अर्का पत्रकार थापामगरले पत्रकारितामा नै जीवन बिताउने बताउँदै उनले इमान्दारिताका साथ अझै यही क्षेत्रमा काम गर्न उर्जा मिलेका धारणा व्यक्त गरे ।
पुरस्कारदाता गुभाजूले कार्यक्रममा आदिवासी जनजाति पत्रकारका लागि आमाबाबाको नाममा ६ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा समेत गरेका छन् । कार्यक्रममा संस्थालाई पु¥याएको योगदानका आधारमा अक्षयकोषदाता गुभाजू, अधिवक्ता जुनाकुमारी गुरुङलाई समेत सम्मान गरियो ।
फोनिज गण्डकी अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रममा संस्थामा उपाध्यक्ष दिल श्रीष, पुरस्कार छनौट समितिका अध्यक्ष तथा अधिवक्ता सुरेन्द्र थापामगर, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, फोनिज गण्डकी प्रदेश इञ्चार्ज हुम गुरुङ लगायतले बोलेका थिए ।