कोरोनाबाट थप ४ जनाको मृत्यु, ३ सय ३८ नयाँ संक्रमित

रासस
श्रावण २६, २०७७
Coronavirus_green

काठमाडाैं, २६ साउन । नेपालमा पछिल्लो २४ घन्टामा थप ४ जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छन् ।

बाँकेको कोहलपुर नगरपालिका–२ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

पर्साको देवयानी गाउँपालिका १५ का ४५ वर्षीय महिलाको पनि कोभिड सङ्क्रमणका कारण आइतबार नै नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

यसैगरी, काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको सोमबार मेडिकेयर अस्पतालमा र कीर्तिपुर नगरपालिका ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय पुरुषको पनि कोरोना भाइरसका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

मुलुकका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ४३४ नमूना परीक्षणमा सोमबार कुल ३ सय ३८ नयाँ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी बाँकेमा ६३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै काठमाडौँ उपत्यकामा ४४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ३६, ललितपुरमा चार र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

रौतहटमा ३१, मकवानपुरमा २३, पर्सामा २२, सर्लाहीमा २१, दैलेखमा १७, मोरङ र प्युठानमा १५/१५, धनुषामा १३, कपिलवस्तुमा ११, कैलाली र सल्यानमा सात/सात, सिन्धुलीमा छ, दाङमा पाँच, नुवाकोटमा चार, महोत्तरी, बारा र गोरखामा तीन-तीन, खोटाङ, तनहुँ, बर्दिया र नवलपरासी पूर्वमा दुई/दुई तथा झापा, सिन्धुपाल्चोक, अछाम, अर्घाखाँची, बागलुङ, चितवन, पाल्पा, रामेछाप, स्याङ्जा, रुपन्देही, रोल्पा, सुर्खेत, बैतडी र बझाङमा एक/एक सङ्क्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा १ सय ४० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ४ सय ९३ पुगेको छ । जुन ७०.७ प्रतिशत हो । धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् ।

देशभर सक्रिय सङ्क्रमितको संख्या ६ हजार ७ सय ३८ रहेको छ । पर्सा, रौटहट, महोत्तरी र काठमाडौँमा ५ सय बढी सक्रिय सङ्क्रमित उपचाररत छन् । क्वारेन्टिमा रहनेको संख्या १० हजार ७ सय ५९ छ । विश्वभर हालसम्म दुई करोड २६ लाख ४ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सात लाख ३४ हजार २८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनालाई जितेर निको हुनेको संख्या एक करोड २९ हजार ७८ रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width