श्रवणदृष्टिविहीन अधिकार खै ?

ऋषिराम बराल
श्रावण २४, २०७७
talim photo 1 rishi

पोखरा । नेपालमा हाल १० हजार जनाको संख्यामा श्रवणदृष्टिविहीन छन् । उनीहरुकै लागि भनेर सरकारले २०७४ सालमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन पारित गर्‍यो। श्रवणदृष्टि विहीनतालाई अपाङ्गताको एक छुट्टै वर्गको रुपमा परिभाषित पनि गरेको छ, उक्त ऐनअन्तर्गत अधिकारबारे २०७६ मा नियमावली समेत बनेको छ । तर ऐनमा उल्लेखित अधिकार कार्यान्वयन हुन सकेको छैन ।

श्रवणदृष्टि विहीन संघ नेपालद्वारा शुक्रबार पोखरामा आयोजित श्रवणविहीन भएका व्यक्तिहरुको लागि स्वास्थ्य जीवनसम्बन्धी स्वास्थ्यकर्मीसँग अभिमुखीकरण तालिम भयो । सहभागी श्रवणदृष्टिविहीनले स्वास्थ्यकर्मीहरुबाट उचित स्वास्थ्य परामर्श र सहयोगी व्यवहारको आशा गरेका छन् । श्रमणदृष्टिविहीनको अधिकारका लागि वकालतको खाँचो त्यतिकै महत्वपूर्ण हुने उनीहरुले जोड थियो ।

सरकारले अधिकार त दियो तर ती अधिकार कार्यान्वयन र प्राप्तिका लागि संघष गर्नुपर्ने देखिन्छ । श्रवणदृष्टिविहीन भएका व्यक्तिहरुको दैनिक जीवनयापन झनै कठिन बन्दै गएको छ, उनीहरुलाई स्वावलम्बी जीवनयापन गर्न, सक्षम बनाउन सरकार, परिवार र समाजको सहयोग पनि त्यति नै आवश्यक पर्छ ।

हिमालय आँखा अस्पतालका स्वास्थ्यकर्मी सुवास नेपालले भने, ‘साङ्ग हामीले ५ मिनेटमात्र आँखा बन्द गर्दा संसारै अन्धकार देख्छौं । एकछिन कान नसुन्दा संसारै आवाजविहीन भएकोजस्तो भान हुन्छ । तर, श्रवणदृष्टिविहीन व्यक्तिको दैनिकी कस्तो होला ?सहजै अनुमान गर्न सकिन्छ । उनीहरुको जीनव नै अन्धकार छ । उनीहरुको समस्याप्रति सरोकारवाला निकाय गम्भीर हुन जरुरी छ ।’

शिशुवा अस्पताल पोखराका चिकित्सक अभिकान्त खतिवडाले भने, ‘आँखा र कान शरीरका सबैभन्दा महत्वपूर्ण अंग हुन् । ती अंगले काम नगर्दा मानिसमा कस्तो महसुस होला ? त्यसैले स्वास्थ्य क्षेत्रमा लागेको व्यक्तिहरुले उनीहरुलाई सधैँ सहयोग र उपचारका लागि उचित परामर्श दिनुपर्दछ ।’

शहरी स्वास्थ्य केन्द्र पोखरा–१ की स्वास्थ्यकर्मी कमला गौतमका अनुसार श्रवणदृष्टिविहीनका लागि स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको सहयोग अति नै आवश्यक पर्ने देखिन्छ । उनीहरुलाई उचित सल्लाह र सहयोग गर्न स्वास्थ्यकर्मी जुनसुकै अवस्थामा पनि तयार हुनुपर्ने उनको जोड छ ।

विश्व श्रवणदृष्टिविहीन महासंघका कार्यकारी परिषद् सदस्य पुष्पराज रिमालले श्रवणदृष्टिविहीनता एक पृथक वर्गको अपाङ्गता भएको र जसलाई २ इन्द्रीय (सुनाई र दृष्टि) सम्बन्धी अपाङ्गताको रुपमा बुझ्न सकिने बताए ।

सुनाइ तथा दृष्टि क्षमतामा आउने ह्रास कारण व्यक्तिलाई संचार गर्न आफ्नौ दैनिक जीवनयापनका क्रियाकलाप गर्न, शिक्षा प्राप्त गर्न, हिड्डुल गर्दा आइपर्ने समस्या नितान्त फरक हुने भएकाले सहयोग आवश्यक पर्ने बताए ।

त्यस्ता व्यक्तिलाई अन्यसरह समान अधिकार र अवसरका लागि पैरवी तथा नीतिगत व्यवस्थाका लागि दबाब, सरकारको नीति तथा कार्यक्रम श्रवणदृष्टिविहीनका लागि पहुँचयुक्त बनाउन दबाब, संचारमाध्यमजस्तै स्पर्श सांकेतिक भाषा, औंला हिज्जे, ब्रेल, ठूलो अक्षरका छापा र सहयोगी सामग्री (श्रवणयन्त्र, सेतो छडी तथा पहुँचयुक्त वातावरण) सृजना गर्न सम्बन्धित संस्थाहरु सक्रिय हुनुपर्नेमा रिमालले जोड दिए ।

यस्तै, स्वतन्त्रपूर्वक तथा स्वावलम्बी जीवनयापन गर्न सक्षम बनाउन आवश्यक तालिम त्यतिकै आवश्यक पर्ने उनको भनाइ छ ।

तालिमका प्रमुख प्रशिक्षक रिमालले अपाङ्गता भएको व्यक्तिको जीवनयापन सहज बनाउन सरकारले विभिन्न कार्यक्रम ल्याउन जरुरी भएको बताए । अपाङ्गतालाई ४ वर्गमा विभाजन गरिएको छ । पूर्ण दृष्टिविहीनता र पूर्ण बहिरालाई ‘क’ वर्ग, पूर्ण दृष्टिविहीनता र आंशिक सुनाइ ह्रास भएकालाई ‘ख’, पूर्ण बहिरा तथा अल्पदृष्टियुक्तलाई ‘ग’ र आंशिक सुनाइ ह्रास र अल्पदृष्टियुक्त भएका व्यक्तिलाई ‘घ’ वर्गमा राखिएको छ ।
……….
श्रवणदृष्टिविहीन संघ नेपालद्वारा शुक्रबार पोखरामा आयोजित स्वास्थ्यकर्मीसँग अभिमुखीकरण तालिमका सहभागी ।
तस्वीर ः ऋषिराम बराल÷आदर्श समाज ।

Related News

सम्बन्धित समाचार

hero news full width