खुदीमा अपाङ्गमैत्री आवासीय स्कूल बनाईने

ऋषिराम बराल
श्रावण २३, २०७७

पोखरा । बौद्धिक अपाङ्गता भएका बालबालिकालाई अध्ययन गर्नका लागि पोखरा–३० स्थित लेखनाथको खुदीमा आवासीय विद्यालय निर्माण गरिने भएको छ । नेपालका सातवटै प्रदेशमा पूर्वाधारयुक्त अपाङ्गमैत्री आवासीय विद्यालय संचालन गर्न संघ सरकारले निर्णय गरेपछि गण्डकीको पोखरामा यस्तो स्कुल बनाउन लागिएको हो । विद्यालय निर्माणको लागि डीपीआर तयार गरिएको छ । पाँच रोपनी क्षेत्रफलमा कूल १२ करोड रुपैयाँको लागतमा स्कूल निर्माण हुन लागेको हो । यसका लागि विहिवार मन्त्रालय र सरोकारवाला व्यक्तिबीच छलफल भएको छ । भदौबाट विद्यालयको निर्माण सुरु हुने सामाजिक विकास मन्त्रालयका उच्च शिक्षा महाशाखा उप–सचिव तोयनाथ लम्सालले जानकारी दिए ।

स्कूल बनेपछि गण्डकी र अरु प्रदेशबाट पनि अपाङ्गता भएका विद्यार्थीहरु पढ्न पाउने छन् । २ सय विद्यार्थीलाई आवासीय रुपमा राखेर पढाउन लागिएको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी काम अगाडि बढेको छ । शुरुमा संघीय सरकारले एक करोड र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले २० लाख रुपैयाँ बजेट बिनियोजन गरेका छन् । वढीमा दुई तलाको संरचना बन्ने छ । यसमा छात्रावास भवन, भान्सा र डाइनिङ कक्ष रहने लम्सालले बताए ।

विद्यालयमा परामर्श कोठा, आइटी कक्ष, सुविधा सम्पन्न पुस्तकालय, आधारभूत उपकरण सहितको फिजियोथेरापी कक्ष, संङ्गीत थेरापी कक्ष, स्पिच थेरापी कक्ष, प्राथामिक उपचार कक्ष, खेलमैदान, अपाङ्गता सम्बन्धी छलफल कइा, अभिभावक र बालबालिकाको लागि परामर्श कक्ष, वार्डेन कक्ष, प्रशासनिक भवन बनाईने छ । आवासीय विद्यालयको पूर्वाधार निर्माण गर्दा मनोसामाजिक, अपाङ्गता, हेमोफिलिया, अटिजम सम्बन्धी अपाङ्गता र वहुअपाङ्गता भएका बालबालिकाहरुको लागि छुट्टाछुट्टै ब्लक निर्माण हुने मन्त्रालयले जनाएको छ । २ बर्षअघि नै विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तरगत योजना तयार गरिएको भएपनि जग्गा प्राप्त गर्न नसक्दा निर्माण पछि धकेलिएको हो ।

सामाजिक विकास मन्त्रालयले प्रदेश र स्थानीय तहबाट संचालन हुने शैक्षिक कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्न वार्षिक अनुगमन योजना र अनुगमन साधन निर्माण गर्ने तथा सोही आधारमा अनुगमन गरी प्रतिवेदन तयार गर्ने छ ।

विद्यालय संचालन गर्दा नेपाल सरकारको मापदण्ड र प्राप्त बजेटको अधिनमा रही खर्च गर्नुपर्ने छ । भवन बनाउनका लागि खुदीको त्रिभूवन शान्ति माविले जग्गा उपलब्ध गराएको हो । यसरी निर्माण भएको स्कूलमा विद्यार्थीहरुले नि:शुल्क पढ्नेछन् । नजिकै प्रदेश सरकारले गण्डकी विश्वविद्यालय समेत संचालनको तयारी गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width