आहारा छैन जंगलमा, चितुवा पस्यो गाँउमा

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७७
Tanahun Chituwa

तनहुँ | तनहूँको शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणले १ बालकको मृत्यु भएको छ । बुधबार राती शुक्लागण्डकी २ मसार स्थित घरको पीँढिमा बसिरहेका डेढ बर्षिय रोहन रानालाई चितुवाले आक्रमण गरेको हो । उनको घटनास्थलमा नै मृत्यु भएको बेलचौतारा प्रहरीले जानकारी दिएको छ । उनको शव घरभन्दा केही पर भेटिएको थियो । चितुवाको निशानामा बालबालिका पर्छन् । २०७४ फागुन यता तनहूँका विभिन्न ठाउँमा १० जनाको मृत्यु चितुवाको आक्रमणबाट भएको छ । चितुवाका आहारा वनमा लोप हुँदै गएपछि बस्तीमा पसेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । ‘घरनजिकै सम्म जंगल भैसक्यो । खेती गर्नै छाडे किसानले । पहिले हाम्रा खेतबारी चितुवाका लागि वफर जोन थियो । हतपत त्यो वफर जोन नाघेर आउन सक्दैनथ्यो,’ उनले भने, ‘अहिले वफर जोन नासियो । चितुवाको पहुँच मान्छेका घरसम्म पुग्यो ।’

खासगरी मृग, बँदेल लगायतका जनावर चितुवाका लागि आहारा थिए । अहिले ति जनावरहरु लोप हुँदै गएका छन् । चितुवा मान्छेको आसपास बस्न रुचाउने जनावर पनि हो । ‘विशेषगरी साँझपख आक्रमण गर्छ । त्यो पनि कोही नभएको बेला । ठूला मान्छेलाई भन्दा बालबच्चा छुट्याएर छोप्छ,’ बरालले भने, ‘एकान्तमा भएको घर र साना बालबच्चा चितुवाको निशानामा पर्छन् ।’ असार १७ गते राति आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा पनि चितुवाको आक्रमणबाट १० वर्षीया अमिषा थापा घाइते भएकी थिइन् । वन कार्यालयले विभिन्न ब्यक्तिहरुको सहयोगमा ८ वटा चितुवा नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्जमा छोडेको छ ।

चितुवाको आक्रमण बस्तीमा हुन थालेपछि कार्यालयले जंगलमा आहाराको व्यवस्था गर्न लागेको छ । ‘अब हामी चितुवाको गणना गर्छौं । भानु नगरपालिकाबाटै थाल्ने योजना छ,’ बरालले अघि भने, ‘कति चितुवा छन् र उनीहरुलाई कति आहारा आवश्यक पर्छ त्यसको एकीन हुँदैछ । आवश्यक्ता अनुसार आहारा थपिन्छ ।’ चितुवाबाट धेरै धनजनको क्षति भएको जिल्लाको भानु नगरपालिका क्षेत्रका ४२ हेक्टर जमिनमा ३६ प्वाइन्टमा सिसि क्यामेरा जडान गर्न लागिएका हो । चितुवाले सबैभन्दा धेरै भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दिपूर गाँउपालिका र व्यास नगरपालिकामा आक्रमण गरेको छ । ४८ आक्रमणमा ५९ पशुधनको क्षति भएको तथ्यांक डिभिजन वनसँग छ । भेडा बाख्रा ३६, गाई ८, सुगँर बँगुर ६ र २ वटा भैंसी चितुवाले मारेको हो । क्षति भएका पशुको राहत दिन २ लाख १८ हजार ५ सय सहयोग गरिएको बरालले बताए ।

यसैबीच, बुधबार राति ज्यान गुमाएका रोहन रानाको परिवारलाई राहत दिईएको छ । डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले मृतकका बाबु विष्णुबहादुर रानालाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई सरकारले १० लाख दिने प्रावधान छ । बाँकी रकम प्रक्रिया पूरा भएपछि उपलब्ध गराईने बरालको भनाई छ ।

Related News

सम्बन्धित समाचार

hero news full width