अन्नपूर्णले सुरु गर्‍यो ‘खाना नफालौं’ अभियान

श्रीभद्र पौडेल
श्रावण २२, २०७७
Annapurna-Rural-Municipality-Kaski

हेमजा | चामलको भात खाने समाजमा सम्पत्तिवाला ठानिन्थे । पेटभरी खाने अवसर सबैलाई थिएन । खाना फाल्नेहरु आफुलाई बढप्पन सम्झन्थे । सानो छँदा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष यूवराज कुवँरलाई चाहिँ लाग्थ्यो, ‘पेटभरी खान पाए संसारै जितिन्थ्यो । फाल्ने त परको कुरा ।’ मध्यम परिवारमा जन्मेहुर्केका उनको खानासँग राम्रो प्यार थियो ।

‘भोक लागेपछि ढुंगामाटो खाएर नहुने । अनाजै खानुपर्ने रहेछ,’ उनले भने, ‘भात फालेर बढप्पन देखाउनेहरु मलाइ कहिलै मन परेन ।’ अहिले पनि उनी आफ्नो बाल्यकालका ति परिदृष्य निरन्तर सम्झन्छन् । कुवँरले अहिले ‘खाना नफालौं’ अभियान नै सुरु गरेका छन् । उनले ब्यक्तिगत रुपमा सुरु गरेको अभियान अहिले अन्नपूर्ण गाउँपालिकाले पनि संस्थागत रुपमै अघि बढायो ।

‘रोग भन्दा भोक ठूलो हो । अन्न उत्पादनमा पनि गाउँपालिकाको जोड छ,’ उनले अघि भने, ‘खाना जीवन हो । खाना फाल्नु भनेको जीवन फाल्नु हो ।’ उनले हरेक दिन सामाजिक सञ्जालमा खाना नफाल्न आग्रह गरिरहन्छन् । ८ औं गाउँसभाबाट खाना नफालौं अभियानलाई संस्थागत रुपमा निर्णय गरिएको छ ।

यो निर्णयसँगै जनप्रतिनिधी र कर्मचारीबाट टोलटोलमा सन्देश प्रवाह गर्न थालिएको छ । अभियानलाई सार्थक पार्न गाउँपालिकाले कृषिमा जोड गरेको छ । अन्नपूर्णभित्र खेतबारी बाँझो राख्न नपाईने नियम छ । ‘उत्पादन गर्न कति गाहो छ ? कृषिप्रधान देशमा कृषिकै उत्पादनको समस्या छ । खानाको महत्व छैन,’ कुवँर भन्छन्, ‘अव यसको महत्व बुझाउनु छ । सुरुवात आफैले गर्ने हो ।’

उत्पादन बढाउन गाउँपालिकाले किसानलाई १५ प्रकारका वर्खे तरकारीका बीऊ वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा आलुको बीऊ, सिचाई पाइप, हाते ट्याक्टर, फलफूलका बिरुवा र प्राङगारिक मल पनि वितरण गरिएको छ ।
यही अभियानलाई सघाउने गरी गाउँपालिकाका ५२ वटै विद्यालयका शिक्षक र विद्यार्थीलाई जानकारी गराउने उनले सुनाए । ठाउँठाउँमा साइनबोर्ड र स्टिकर टाँस्ने उनको योजना छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले पनि यो अभियान देशब्यापी विस्तार गर्नुपर्ने बताए । ‘चौरासी व्यञ्जन खाएर स्वस्थ्य हुने होईन । खाना फालेर साहु देखिने पनि होईन,’ उनले भने, ‘अभियान यही बर्षभित्र टोलटोलमा पुग्छ । यसको प्रभाव सुरु भैसकेको छ ।’ गाउँपालिकामा६ हजार ३ सय घरधुरी छन् । करिव २७ हजारको बसोबास छ ।

Related News

सम्बन्धित समाचार

hero news full width