सरकारी जग्गामा ब्यक्तिका संरचना

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७७
lovely hill (2)

पोखरा महानगरपालिका वडा १८ स्थित लभ्लीडाँडाको सरकारी जग्गा ब्यक्तिहरुले अतिक्रमण गर्न थालेका छन् । करिब २ सय रोपनी जग्गा ब्यक्तिले हडपेर संरचना बनाउन थालेका हुन् । सार्वजनिक जग्गामा धमाधम संरचना बनाएको पाइएपछि पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापा र प्रहरीको टोलीले उनीहरुलाई कामबाट फिर्ता पठाएका छन् ।

सार्वजनिक जग्गामा निर्माण गरिएका छाप्रा, तारजाली लगायतका संरचनाहरु धमाधम बन्न थालेपछि वडाध्यक्ष आफै अघि सरेका हुन् । उनले सम्बन्धित निकायलाई गुहार्दा पनि कुनै चासो नदिएको भन्दै प्रहरी सहयोगमा कामदार फिर्ता पठाइएको बताए । उनले भने, ‘महानगर र जिल्ला प्रशासन कार्यालयमा अतिक्रमणबारे पत्राचार गरेको छु, स्वीकृति पाए ती संरचना डोजर लगाएर भत्काउने छु ।’

महानगरले चालु आर्थिक वर्षलाई सार्वजनिक जग्गा संरक्षण अभियान वर्षका रुपमा घोषणा गरेको छ । सोही अनुुसार वडामा अभियान संचालन गरिरहेको थापाले बताए । तर सार्वजनिक जग्गा भने व्यक्तिको भोगचलनमा छ । आनन्द कोइराला, सन्जीव कोइराला, पुष्पेन्द्रबहादुर कोइराला लगायतले धमाधम संरचना निर्माण गर्न थालेको खुलेको छ । त्यहाँ नयाँ नापी सुरु हुने थाहा पाएपछि उनीहरुले दर्जन हाराहारीमा संरचना बनाएका छन् ।

पहिले पनि सार्वजनिक जग्गा अतिक्रमण गरिएको भन्दै उजुरी परेको थियो । उजुरी माथी छानविन गर्दा त्यो जग्गा सरकारकै नाममा पारिएको छ । ‘सरकारी जग्गा भएको सम्पूर्ण कागजात वडा कार्यालयमा छ । पछि कोइराला परिवारले आफ्नो भोगचलन रहेको भन्दै धमाधम संरचना बनाउन थालेका हुन्,’ वडाध्यक्ष थापा भन्छन्, ‘यसको मुद्धा अदालतमा विचाराधीन छ ।’ पोखरा महानगरपालिका वडा १८ मा मात्रै करिब ७ सय रोपनी सरकारी जग्गा तथ्यांकमा छ । त्यसमा पनि अन्य व्यक्तिहरुले जग्गा अतिक्रमण गर्दै आएको वडाध्यक्ष थापाको आरोप छ ।

जग्गा चर्चिन थालेका पुष्पेन्द्रबहादुर कोइरालाले आफूहरुको पुख्र्यौली जग्गा भएको दावी गरे । ‘हाम्रो पुख्र्यौली जमिन हो । दाजुभाइको झगडाको कारण राज्यले फाइदा लिन खोजेको छ,’ उनले भने । लभ्ली डाँडा पोखराको आकर्षणको केन्द्र हो । यहाँबाट पोखरा बजार एकै नजरमा देख्न सकिन्छ । मर्निङ वाक गर्न यहाँ मानिसहरुको ताँती लाग्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै