स्याङ्जाका एसपीको दोस्रो रिपोर्ट नेगेटिभ

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०७७
covid 19 corona banner

पोखरा  । स्याङ्जा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिमलराज कँडेलको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । गत साउन १२ मा उनीसहित जिल्ला प्रहरी कार्यालयमा कार्यरत १८ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको थियो । साथै पछि थप भई स्याङ्जामा प्रहरी कर्मचारीमात्रै ४० जना संक्रमित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीले एसपी कँडेलको स्वाब कलेक्सनमा मंगलबार दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । गत साता कोरोना पुष्टि भएपछि कँडेल पुतलीबजारस्थित आफ्नै क्वार्टरमा बस्दै आएका छन् ।

यस्तै, अन्य ३९ जना प्रहरी कर्मचारीहरु भीरकोट १, हेलुस्थित कालिका सामुदायिक अस्पतालमा र करेन्डाँडा स्वास्थ्य चौकीको आइसोलेसनमा उपचार गराइरहेका छन् ।

जिल्लामा हालसम्म २ सय ८१ जना कोरोना संक्रमित भएको पुष्टि भइसकेको छ । तीमध्ये १ सय ९७ जना निको भइ घर फर्केको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । संक्रमितमध्ये कालिका सामुदायिकमा ४७ जना र करेन्डाँडाको स्वास्थ्य चौकीमा ८ जना बसिरहेका छन् ।

जिल्लामा संक्रमित दर बढेपछि संक्रमितहरुको कन्ट्याक्ट लिइएकाहरुमध्ये मंगलबार ४१ जनाको रिपोर्ट नेगेटिभ आएको प्रजिअ क्षेत्रीले बताए ।

पुतलीबजारमा साउन १३ देखि नै अत्यावश्यक सेवाबाहेक अन्य सेवा संचालन तथा आवत्जावत्मा कडाइ गरिएको थियो । पछि क्रमशः अन्य क्षेत्रसहित जिल्लाभर मानिसको आवत्जावत्मा कडाइ पारिएको हो ।

प्रजिअ क्षेत्रीले भने, ‘गत मंगलबारदेखि अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधन र पसलहरू बन्द गराइएको छ । संक्रमित दर नघट्दासम्म सो कायम रहनेछ । ’ पुतलीबजारमा १० दिनका लागि सिल गर्ने भनी गत साता सूचित गरिएको थियो ।

यता, जिल्ला प्रहरी कार्यालय नै लामो समयदेखि सिल गर्नुपर्दा जिल्लाको शान्तिसुरक्षामा असर परेको छ । प्रहरीका साथै नेपाली सेना र सशस्त्र प्रहरी बललाई पनि जिल्लामा परिचालन गरिएको क्षेत्रीले बताए ।

जिल्ला कार्यालयमा कार्यरत ९८ जना प्रहरी कर्मचारीको स्वाब परीक्षण गरिएकोमा ४० जनाबाहेक अन्यको रिपोर्ट नेगेटिभ आएको प्रवक्ता अधिकारीले बताए ।

यसैबीच, मंगलबार पुतलीबजारमै थप ८ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु प्रहरी कर्मचारी भने हैनन् । कोरोना भाइरस संक्रमित देखिनेमा वर्ष ३०, ३२, ३९, ६१ का १–१ जना पुरुष छन् । यस्तै, वर्ष ३३ का २ जना पुरुष छन् भने २३ र ५२ का महिला छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा थप ८ सहित गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ५ सय ४३ पुगेको छ । संक्रमितमध्ये १ हजार ३ सय ५२ निको भएको प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका संयोजक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width