बाढीपहिरो प्रभावितलाई घरः मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०७७
Prithvi-Subba-Gurung

लमजुङ | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बाढीपहिरो प्रभावित गाउँको स्थलगत निरीक्षण गरेका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्र लमजुङस्थित दोर्दी गाउँपालिका–८ दुवार गाउँमा सोमबार साँझ स्थलगत निरीक्षण गरेका हुन् ।

मुख्यमन्त्री गुरुङले बाढीपहिरोले नागरिकलाई बनाएको समस्याको समाधानतर्फ प्रदेश सरकार लागिरहेको बताउँदै बस्तीका लागि आवश्यक सहयोग गरिने आश्वासन दिए । जनताको जीउ धनको सुरक्षा गर्ने जिम्मा सरकारको रहेको भन्दै प्रदेश सरकार सधैं जनताको साथमा रहेको उनले प्रस्ट पारे । प्रदेशका मुस्ताङ र मनाङबाहेक नौ वटै जिल्लामा बाढीपहिराले करिब ५ सय घरमा क्षति पुर्‍याएकाले प्रदेश सरकारले तिनको पुनःनिर्माण गरिदिने उनको भनाइ छ ।

दुवार गाउँका बाढीपहिराबाट प्रभावित वासिन्दाले मुख्यमन्त्री गुरुङसँग गाउँमा बस्न उच्च जोखिम रहेको र उचित स्थानमा पुनःस्थापना गरिदिन आग्रह गरेका थिए । पहिरोको जोखिम रहे पनि तत्काल कतै जाने ठाउँ नभएकाले बाढीपहिरोको बेवास्ता गर्दै ज्यानको बाजी राखेर दिनरात कटाउँदै आएको उनीहरूको भनाइ छ ।

गत असार २६ गते आएको अविरल वर्षासँगैको बाढीपहिराले दुवार गाउँका छ घर पूर्णरूपमा ध्वस्त बनाएको छ भने ७० घर उच्च जोखिममा रहेका छन् । बाढीपहिराले गाउँका कुनै घर चर्किने, कुनै ढल्किएको अवस्थामा रहेको वडाध्यक्ष तुलबहादुर घलेले बताए । बस्ती बीचमा पानीको मूलसमेत पलाएकाले थप जोखिम भइरहेको उनको भनाइ छ ।

निरीक्षणमा मुख्यमन्त्री गुरुङसहित गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुख्य सचेतक मायानाथ अधिकारी, सांसदद्वय मधुमाया अधिकारी र धनञ्जय दवाडी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सहभागी थिए ।

यसैबीच राष्ट्रिय युवा सङ्घको पहलमा दोर्दी गाउँपालिकाका युवाहरूले बाढीपहिरो पीडितलाई खाद्यान्न सहयोग गरेका छन् । मुख्यमन्त्री गुरुङले बाढीपहिरो पीडितलाई खाद्यान्न सामग्री हस्तान्तरण गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width