फोहोर मोहोर बनाउने अभियान

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७७
fohor

लेखनाथ । पोखरा महानगरले फोहोर वर्गीकरण गरी आयआर्जन गर्न सकिने भन्दै अभियान सुरु गरेको छ ।

‘छुट्याऔं फोहोर, बनाऔं मोहोर’ को पहिलो चरण अभियान पोखराका वडा १,५,८,१०,१३,१६,१७,१९,२६ र २७ का गरी १० वटाबाट सुरु गरिएको हो ।

अभियानलाई प्रभावकारी बनाउन १० वटै वडामा कार्यक्रम गरी घरबाट निस्कने फोहोरलाई कुहिने, पुनः प्रयोग हुने र नकुहिने गरी ३ ठाउँमा संकलन गरी उचित तरिकाले व्यवस्थापन गर्न सकिने उपाय सिकाइएको छ ।

टोलटोलमा फोहोर संकलन गरि कुहिनेलाई कम्पोष्ट मल, प्लाष्टिकजन्यलाई पुनःप्रयोग र नकुहिनेलाई मात्र उचित तरिकाले व्यवस्थापन गरी मोहोर कमाउन सकिने योजना अघि सारिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बाच्छीबुडुवामा रहेको डम्पिङ साइडमा अहिलेकै जस्तो गरेर फोहोर फाल्ने हो भने अबको २–४ वर्षमा भरिसक्ने र पुनःअर्को ठाउँ खोज्नु पर्ने अवस्था रहेकाले बेलैमा फोहोरको आधुनिक तरिकाले व्यवस्थापन नगर्ने हो भने ठूलो समस्या आउनेतर्फ संकेत गर्दै सो अभियान अघि सारिएको बताए ।

यस्तै, पोखरा २६ र २७ अर्घौचोकमा भएको कार्यक्रममा पोखरा महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष रामचन्द्र लामिछानेले नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखी घरबाट निस्कने फोहोर कसरी कम र आधुनिक ढंगले ब्यवस्थापन गर्न सकिन्छ भनेर यो अभियान सुरु गरेको प्रष्ट पारे ।

पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा वडा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले स्वागत र वडा २६ का वडासदस्य खड्कबहादुर रानाभाटले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width