बेपत्ता गिरी १ महिनापछि भालुपहाडमा मृत फेला

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७७
murdercrimedead-321015958_6

फाइल फोटो

पोखरा, १९ साउन ।  स्याङ्जाबाट बुलेट चढेर पोखरातर्फ आएका एक युवक बेपत्ता भएको ठिक १ महिनापछि मृत फेला परेका छन् ।

स्याङ्जाको चापाकोट–५, सेखाम घर भई पोखरा–५, पस्र्याङ बस्ने १९ वर्षीय पंकज गिरी सोमबार मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा–सुनौली सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भालुपहाडमा राजमार्गभन्दा ४ सय मिटर तल झ्याङमा अडिएको अवस्थामा सोमबार उनको शव फेला परेको हो ।

गत असार १८ मा स्याङ्जा बाडखोलाबाट ना ४० प ३७२० नम्बरको बुलेट बाइक चढेर पोखरा आएका गिरी लामो समयसम्म परिवारको सम्पर्कमा नआउँदा घटना रहस्यमय बन्दै गएको थियो । परिवार तथा आफन्तले उनको निकै खोजीनीति गरेका थिए ।

उनी बेपत्ताको ठिक १ महिनापछि साउन १८ मा भालुपहाड तल सेतीखोला खोंचमा माछा मार्ने मानिसहरुले दुर्घटनाग्रस्त एक मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सो बाइकको हुलिया प्रहरी र परिवारका सदस्यको सहयोगमा गिरी नै चढेको खुलेपछि उनी दुर्घटनामा परेको आशंकामा प्रहरीले अघिल्लो दिनदेखि त्यसक्षेत्रमा खोजी तीव्र पारेको थियो । प्रहरीले सोको भोलिपल्ट सोमबार (साउन १९) दिउँसो १ बजे मात्र मोटरसाइकल फेला परेको स्थानभन्दा करिब ३० मिटरमाथि पहाडको झ्याङमा कपडासहित उनको कंकाल भेटाएको हो । आफन्तले शव पहिचान गरेपछि उनीहरुको जिम्मा लगाइएको कास्की प्रहरीले जनाएको छ ।

पोखराको बाग्लुङ बसपार्कस्थित सुनील अटो पार्टस्मा काम गर्ने गिरी लकडाउन सुरु नहुँदै स्याङ्जा गएको बताइएको छ । उनले घर जाँदा चैत ८ मा पोखरा लेकसाइडस्थित पोखरा मोटरसाइकल रेन्ट हाउसबाट सो बाइक भाडामा लिएको खुलेको छ ।

गिरी हराएपछि आफन्तले जिल्ला प्रहरी कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाममा समेत निवेदन दिएका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width